काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ। आन्दोलनका क्रममा देशभरका विभिन्न अस्पतालमा उपचार गराएका घाइतेहरूको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संकलन गरी सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार आन्दोलनका क्रममा देशभरिका ९९ वटा अस्पतालमा उपचार गराएका घाइतेहरूको नामसहितको विवरण तयार पारेर सार्वजनिक गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण विभिन्न अस्पतालबाट संकलन गरेर सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार आन्दोलनका बेला उपचार भएका सबै अस्पतालबाट घाइतेहरूको विवरण सङ्कलन गर्ने काम केही समयदेखि चलिरहेको थियो। केही अस्पतालबाट विवरण आउन ढिलाइ भएका कारण सम्पूर्ण विवरण सार्वजनिक गर्न समय लागेको उनले बताए।
मन्त्रालयले अस्पतालहरूबाट प्राप्त विवरण संकलन गरेर गृह मन्त्रालयलाई पनि पठाइसकेको जनाएको छ। आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार विवरण चरणबद्ध रूपमा गृह मन्त्रालयलाई पठाइएको प्रवक्ता बुढाथोकीले बताए। उनका अनुसार पहिलो चरणमा गत असोज ३१ गते दुई हजार ५२२ जना घाइतेको विवरण पठाइएको थियो। त्यसपछि गत माघ ४ गते थप ७७ जनाको विवरण गृह मन्त्रालयलाई उपलब्ध गराइएको थियो। पछिल्लो पटक यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको छ।
तीन चरणमा पठाइएको विवरण जोड्दा आन्दोलनका क्रममा कुल दुई हजार ६३८ जना घाइते भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार घाइते भएका व्यक्तिहरूले देशका विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार गराएका थिए।
प्रवक्ता बुढाथोकीका अनुसार आन्दोलनका क्रममा सबैभन्दा धेरै घाइतेको उपचार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा गरिएको छ। उक्त अस्पतालमा मात्रै चार सय ५८ जना घाइतेले उपचार गराएको विवरणमा उल्लेख छ। आन्दोलनका क्रममा राजधानी क्षेत्रमा धेरै घाइते भएकाले सो अस्पतालमा उपचार गराउनेको संख्या बढी देखिएको मन्त्रालयको भनाइ छ।
त्यसैगरी नेपाल पुलिस अस्पतालमा दुई सय तीन जना घाइतेको उपचार गरिएको विवरणमा उल्लेख गरिएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मी र सर्वसाधारण दुवै घाइते भएकाले पुलिस अस्पतालमा पनि उल्लेख्य संख्यामा घाइतेले उपचार गराएको बताइएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० जना घाइतेले उपचार गराएको मन्त्रालयले जनाएको छ। ट्रमा सेन्टर विशेषगरी आकस्मिक र गम्भीर घाइतेहरूको उपचार हुने प्रमुख अस्पताल भएकाले आन्दोलनका क्रममा गम्भीर घाइते भएका केही व्यक्तिहरू त्यहाँ उपचारका लागि लगिएको थियो। त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय आठ जना घाइतेको उपचार गरिएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ। राजधानीका ठूला अस्पतालहरूमा आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार गराइएको देखिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार अन्य घाइतेहरू भने देशभरिका विभिन्न सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचारका लागि पुगेका थिए। आन्दोलनका क्रममा घाइते भएकामध्ये धेरैजसो सामान्य चोटपटक लागेका व्यक्ति रहेको र केहीलाई भने गम्भीर प्रकृतिका चोट लागेको बताइएको छ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक संकलन गरेर सम्बन्धित निकायलाई उपलब्ध गराएको जनाएको छ। मन्त्रालयले संकलन गरेको विवरणका आधारमा गृह मन्त्रालयले थप अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ। साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था र उपचारको स्थिति बुझ्नका लागि पनि यो विवरण महत्वपूर्ण मानिएको मन्त्रालयले जनाएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































