ग्यास अभाव : घरायसी उपभोक्तालाई प्राथमिकता दिन निर्देशन

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति र बिक्रीलाई व्यवस्थित बनाउन ग्यास उद्योगी तथा विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ। पछिल्लो समय आपूर्तिमा देखिएको दबाब र बजारमा सम्भावित अभावको आशंकालाई ध्यानमा राख्दै निगमले यस्तो निर्देशन जारी गरेको हो।

निगमले देशभर सञ्चालनमा रहेका ग्यास उद्योगहरूलाई आ–आफ्नो उद्योगबाट दैनिक रूपमा विक्रेतालाई बिक्री गरिने ग्यासको परिमाण सार्वजनिक गर्न पनि निर्देशन दिएको छ। उद्योगहरूले विक्रेतालाई उपलब्ध गराइने ग्यासको मात्रा, विक्रेताको ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी हरेक दिन बिहान १० बजेसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको निगमले जनाएको छ। साथै उक्त विवरण निगमलाई पनि उपलब्ध गराउन आग्रह गरिएको छ।

निगमका अनुसार ग्यास आपूर्ति तथा वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन यस्तो व्यवस्था लागू गरिएको हो। यसबाट बजारमा ग्यासको वास्तविक वितरण अवस्था बुझ्न र आवश्यक परेमा नियमन गर्न सजिलो हुने निगमको विश्वास छ। त्यस्तै, सम्बन्धित उद्योगसँग आबद्ध ग्यास विक्रेताहरूलाई पनि उपभोक्तालाई गरिएको बिक्रीको विस्तृत रेकर्ड राख्न निर्देशन दिइएको छ। विक्रेताले उपभोक्तालाई बिक्री गरिएको ग्यासको विवरणमा उपभोक्ताको नाम, सम्पर्क नम्बर तथा बिक्री गरिएको ग्यासको परिमाण उल्लेख गर्नुपर्नेछ। उक्त विवरण सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा नेपाल आयल निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले यस प्रकारको अभिलेख राख्ने व्यवस्थाले बजारमा ग्यासको अनियमितता, कृत्रिम अभाव वा कालोबजारी जस्ता समस्या नियन्त्रण गर्न सहयोग पुग्ने जनाएको छ। पछिल्लो समय ग्यासको माग बढ्ने सम्भावना रहेकाले वितरण प्रणालीलाई अझ व्यवस्थित बनाउन यस्तो कदम चालिएको निगमको भनाइ छ। यसैबीच, निगमले अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगहरूले सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी बिक्री गर्ने व्यवस्था लागू गरेको जनाएको छ। निगमका अनुसार हाल प्रतिसिलिन्डर ९५५ रुपैयाँ मूल्य कायम गरी ग्यास बिक्री सुरु गरिएको छ।

निगमले ग्यास उद्योगीहरूलाई तोकिएको परिमाण र मूल्यअनुसार ग्यास भरेर बजारमा उपलब्ध गराउन आग्रह गरेको छ। साथै उपभोक्ताले पनि ग्यासको अनावश्यक सञ्चिति नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न अनुरोध गरिएको छ । निगमले हाल विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा दबाब बढिरहेको अवस्थाबारे पनि जानकारी दिएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्ति प्रभावित भइरहेको निगमको भनाइ छ।

तर पनि नेपालमा भने नियमित रूपमा ग्यास आपूर्ति गरिँदै आएको निगमले जनाएको छ। निगमका अनुसार हालसम्म ग्यासको आपूर्ति व्यवस्थापन गर्दै बजारमा नियमित रूपमा बिक्री भइरहेको छ र उपभोक्तालाई अभाव हुन नदिन आवश्यक व्यवस्थापन गरिँदै आएको छ। निगमले आगामी दिनमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्तिमा थप दबाब आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वितरण प्रणालीलाई थप निगरानीमा राखेको जनाएको छ। साथै ग्यास उद्योगी, विक्रेता र सम्बन्धित निकायसँग समन्वय गरेर बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न प्रयास जारी राखिएको निगमले जनाएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।