एमाले र श्रम संस्कृतिले टुंग्याए समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो। पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरूष) र कुलभक्त शाक्य (पुरूष) छन्। त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरूप्रसाद बराल (पुरूष), पुष्पराज कँडेल (पुरूष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन्। थारूतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्। त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरूष) छन्। मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेको उपमहासचिव भट्टले बताए।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको हिजो (२९ गते) बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ।

त्यस्तै यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ। पार्टीका केन्द्रीय सदस्य समीर तामाङले दिएको जानकारी अनुसार पार्टीले आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूको नाम सिफारिस गरेको हो।

समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ। समानुपातिक समेत गरी अब श्रम संस्कृतिबाट प्रतिनिधि सभामा ७ जना सांसद हुनेछन्। प्रत्यक्षमा सुनसरी १ बाट हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन्। समानुपातिक सांसद बन्ने आकांक्षी धेरै जना हुँदा श्रम संस्कृति पार्टीमा विवादसमेत भएको थियो। विवादकै कारण समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवार जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए।

समानुपातिक सांसद बन्न लबिइङ तीव्र भएपछि साम्पाङले यसअघि फेसबुकबाटै असन्तुष्टि प्रकट गरेका थिए। ’भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै लेखेका उनले समानुपातिक सांसदका लागि दबाब दिनेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी समेत दिएका थिए।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।