आज हामी फेरि एकपटक त्यसैमा फसेका छौँ, जसलाई म ‘खराब नेताको पासो’ भन्न चाहन्छु ।
यो अन्तर्राष्ट्रिय राजनीतिमा दोहोरिरहने एउटा यस्तो ढाँचा हो, जहाँ भिलेन बनाइएका शासकको पतन वा कतिपय अवस्थामा अवैध अन्त्यलाई स्वतन्त्रताको विजयका रूपमा हेरिन्छ तर ती शासकलाई जन्माउने गहिरा राजनीतिक यथार्थहरू भने जस्ताको तस्तै रहन्छन् ।
यो पासो भ्रामक रूपमा सरल छ । विश्वको कुनै कुरामा एक नेताले अधिनायकवादी, भ्रष्ट वा दमनकारीको रूपमा छवि बनाउँछन् । उनीहरूको रेकर्ड व्यापक रूपमा सार्वजनिक हुन्छ, लोकतान्त्रिक संस्थाहरू खोक्रो पारिएका हुन्छन्, आलोचकहरूलाई चुप लगाइन्छ, विरोध प्रदर्शनहरू दबाइन्छ र स्वतन्त्र छापाखानालाई सेन्सर गरिन्छ । जब त्यस्ता नेतालाई चुनौती दिइन्छ, हटाइन्छ, पक्राउ गरिन्छ वा मारिन्छ, तब त्यो क्षणलाई स्वतन्त्रताको विजयको रूपमा चित्रण गरिन्छ ।
त्यो भाष्यको नैतिक स्पष्टता निकै लोभलाग्दो हुन्छ । एउटा खराब नेताको पतन भएको छ । न्याय भएको जस्तो देखिन्छ । यद्यपि यो स्पष्टताले प्रायः हामीलाई अन्तर्राष्ट्रिय कानून, भूराजनीतिक परिणामहरू र सम्बन्धित समाजहरूको दीर्घकालीन भविष्यसँग जोडिएका अझ जटिल प्रश्नहरू देख्नबाट वञ्चित गरिदिन्छ ।
इरानमाथि भइरहेको अमेरिका–इजरायल आक्रमणका क्रममा इरानका दोस्रो सर्वोच्च नेता आयतल्लाह अली खामेनीको हालै भएको हत्यालाई नै हेरौँ । उनको ३६ वर्ष लामो नेतृत्वको दमनकारी प्रकृतिमा सायदै कसैको विमति होला ।
इरानी राज्यको बर्बरता दशकौँदेखि देखिएकै छ । डिसेम्बरको अन्त्यदेखि, अधिकारीहरूले ‘अधिकार र मानव मर्यादाको सम्मान गर्ने लोकतान्त्रिक प्रणालीमा पूर्ण संक्रमणसहित मौलिक र संरचनात्मक परिवर्तन’ माग गर्दै भएका राष्ट्रव्यापी विरोध प्रदर्शनहरूलाई हिंसात्मक रूपमा दबाएका छन् ।

ह्युमन राइट्स वाचले रिपोर्ट गरेअनुसार इरानी सुरक्षा बलले निशस्त्र प्रदर्शनकारीहरूविरुद्ध अश्रुग्यास, लाठी र शटगनबाट धातुका छर्राहरू प्रयोग गरे, साथै सैन्य–स्तरका हतियारहरूसहित घातक शक्तिको प्रयोग गरे । सुरक्षा बलले घाइते प्रदर्शनकारीहरूलाई पक्राउ गर्न र मारिएकाहरूको शव कब्जा गर्न अस्पतालहरूमा समेत छापा मारे ।
विश्वले यो दमन सन् २०२२ मा प्रष्टसँग देखेको थियो, जब २२ वर्षीय महसा अमिनीलाई अनिवार्य टाउको छोप्ने नियम उल्लंघन गरेको आरोपमा इरानको नैतिकता प्रहरीले हिरासतमा लिएको थियो । उनलाई हिरासतमा लिइयो, कुटपिट गरियो र पछि उनको मृत्यु भयो । उनको मृत्युले ‘जिन, जियान, आजादी’ अर्थात् ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनलाई जन्म दियो, जसलाई फेरि घातक बल र राजनीतिक दमनको उपकरणको रूपमा मृत्युदण्डको प्रयोग गरेर दबाइयो ।
यीमध्ये कुनै पनि कुरा विवादित छैनन् । खामेनीको रेकर्ड ‘खराब नेता’को परिचित चित्रसँग मिल्छ । तर समस्या त्यसपछिको घटनाक्रममा लुकेको छ ।
पश्चिमी राजनीतिक बहसहरूमा खराब नेताहरू विशेषगरी ‘ग्लोबल साउथ’का नेताहरूले एउटा धेरै विशेष उद्देश्य पूरा गर्छन् । राजनीतिक रूपमा अनुकूल हुँदा, उनीहरूलाई पश्चिमभन्दा बाहिरको विश्वमा जे–जति गलत छ, त्यसको प्रतीकका रूपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरूको दमन हाम्रो आफ्नै भाष्य, हामी को हौँः लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका च्याम्पियनहरूको विपरीत एउटा सजिलो सन्दर्भ बनिदिन्छ ।
जब पश्चिमभित्रैबाट खराब नेताहरू उदाउँछन्, उनीहरूलाई प्रायः एउटा अपवादको रूपमा व्यवहार गरिन्छ । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई नै लिऊँ । उनले लोकतान्त्रिक संस्थाहरू र प्रेस स्वतन्त्रताको निरन्तर गरिरहेको अवमूल्यनलाई प्रायः युरोपेली मूल्यहरूसँग अमिल्दो भनी वर्णन गरिन्छ, मानौँ युरोपको आफ्नै राजनीतिक इतिहासले बारम्बार यस्तै अनुदार मोडहरू उत्पन्न गरेको थिएन वा डोनाल्ड ट्रम्पलाई नै विचार गरौँ, जसको आप्रवासी विरोधी बयानबाजी र लोकतान्त्रिक मान्यताहरूमाथिको आक्रमणलाई अमेरिकी राजनीतिको एउटा लामो बहिष्करणकारी राजनीतिक परम्पराको हिस्सा मान्नुको सट्टा अमेरिकी राजनीतिमा एउटा विसंगतिका रूपमा व्याख्या गरिन्छ ।
अर्को शब्दमा भन्नुपर्दा, खराब नेताको भाष्य अन्यत्रको अधिनायकवादको निन्दा गर्नेबारे मात्र होइन । यो हाम्रो आफ्नो सुखद छविलाई जोगाउनेबारे पनि हो । जब राजनीतिक रूपमा उपयुक्त अवसर आउँछ, यही भाष्यले खराब नेतालाई एउटा सजिलो र न्यायोचित लक्ष्य बनाउँछ ।
२००३ मार्चमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले सद्दाम हुसेनलाई सत्ताबाट हटाउने घोषित उद्देश्यका साथ इराकमा आक्रमण सुरु गरे । बुश प्रशासनले इराकको कब्जामा सामूहिक विनाशका हतियारहरू रहेको र ११ सेप्टेम्बरको आक्रमणका लागि जिम्मेवार आतंकवादी समूहहरूसँग सम्बन्ध रहेको दाबी गर्दै जनसमर्थन जुटाउन महिनौँ समय बितायो । ती दुवै दाबी कहिल्यै प्रमाणित भएनन् ।
यद्यपि जब ती तर्कहरू ध्वस्त भए, अर्को एउटा औचित्य तयारी अवस्थामा थियोः सद्दाम हुसेन निर्विवाद रूपमा क्रूर थिए । बग्दादको फिरदोस स्क्वायरमा उनको सालिक ढालेको तस्वीर र ‘यूएसएस अब्राहम लिंकन’ जहाजमा बुशले सावधानीपूर्वक मञ्चन गरेको ‘मिसन एकम्पलिस्ड’ (कार्य सम्पन्न भयो) भाषणले एउटा महान् नैतिक विजय हासिल भएको धारणालाई बल पुर्यायो ।
तर त्यो विजय जस्तो देखिएको थियो, त्यस्तो थिएन । त्यसपछि जे आयो, त्यो प्रतिबद्धता गरिएको लोकतन्त्र थिएन, बरु वर्षौँसम्मको अस्थिरता, द्वन्द्व र हिंसा थियो । त्यस आक्रमणले यस्ता परिस्थितिहरू सिर्जना गरिदियो, जसले आईएसआईएसको उदयमा मद्दत गर्यो र २ लाखभन्दा बढी नागरिकको मृत्युको कारण बन्यो । खराब नेताको पतन भयो । तर भू–राजनीतिक परिणामहरू त भर्खर सुरु मात्र भएका थिए ।
यस्तै तर्क हालै फेरि सतहमा आएको छ । यसै वर्षको सुरुमा ट्रम्प प्रशासनले भेनेजुएलामा सैन्य आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई काराकसबाट अपहरण गरी न्यूयोर्कको म्यानहट्टन संघीय अदालतमा ‘नार्कोट्यारोरिज्म’ (लागूऔषध आतंकवाद) को मुद्दा चलाउन पुर्याएपछि धेरै पर्यवेक्षकहरूले यस कदमको वैधानिकता र यसले बसाल्न सक्ने नजिरमाथि प्रश्न उठाएका थिए ।
यद्यपि धेरैले तुरुन्तै मादुरोको ‘खराब नेता’को रेकर्डतर्फ ध्यान फर्काए । एक टिप्पणीकारले उनलाई ‘निर्मम दमनसँगै घमण्डी अक्षमताको मिश्रण भएको’ पात्रका रूपमा वर्णन गरे । बेलायती राजनीतिज्ञ प्रिती पटेलले ‘हामीले कति पनि आँसु बगाइरहेका छैनौँ’ भनेर घोषणा गरिन् ।
सायद कसैले आँसु बगाएनन् होला । तर सहानुभूति नहुनुले यस्तो कार्यले उठाएका कानूनी वा भू–राजनीतिक प्रश्नहरूलाई समाधान गर्दैन । खामेनी र उनको परिवारका धेरै सदस्यहरू मारिएको आक्रमणपछि यस्तै प्रतिक्रिया देखापर्यो । एकपटक फेरि ध्यान चाँडै नै उनको शासनमा भएका दुर्व्यवहारहरूको सूचीतर्फ फर्कियो ।
मेरो बुँदा त्यो रेकर्डमा प्रश्न उठाउनु होइन । बरु समस्या खराब नेतालाई अन्त्य गर्ने कार्यको वरिपरि देखिने उत्साहमा छ र त्यो उत्साहले हामीलाई मान्यता, नैतिकता, कानून र भूराजनीतिक परिणामहरूको व्यापक सन्दर्भप्रति कसरी अन्धो बनाइदिन्छ भन्नेमा छ । खराब नेता वास्तवमै खराब हो भनेर घोषणा गर्नु सजिलो छ । तर त्यसपछि के हुन्छ भनेर सोध्नु धेरै गाह्रो छ ।
भेनेजुएलाको लोकतान्त्रिक संक्रमणका लागि यसको अर्थ के हुन्छ यदि बाह्य शक्तिहरू मुख्यतया तेलको स्वार्थ र आर्थिक लाभ सुरक्षित गर्न केन्द्रित हुँदा त्यहाँको शासनका कर्मचारीतन्त्र र सुरक्षा संरचनाहरू जस्ताको तस्तै रहन्छन् भने ? इरानको लोकतान्त्रिक भविष्यका लागि यसको अर्थ के हुन्छ यदि एउटा सैन्य अभियान नागरिक पूर्वाधारहरूमा प्रहार गर्ने हवाई आक्रमणबाट सुरु हुन्छ भने ? के मुख्य रूपमा विदेशी सैन्य शक्तिहरूद्वारा डिजाइन र कार्यान्वयन गरिएको अभियानबाट वास्तवमै लोकतान्त्रिक संक्रमण निस्किन सक्छ ? यस्ता अभियानहरू स्वतन्त्रता र लोकतन्त्रको बारेमा हुन् भनेर हामी कत्तिको विश्वास गर्न सक्छौँ ? र जब पश्चिमी नेताहरू अचानक विदेशमा मानव अधिकारका बारेमा चिन्तित हुन थाल्छन्, हामीले ती दाबीहरूलाई कत्तिको गम्भीरताका साथ लिनुपर्छ ?
जब डोनाल्ड ट्रम्पले अष्ट्रेलियालाई इरानी राष्ट्रिय गान गाउन अस्वीकार गरेको भन्दै इरानी राज्य टेलिभिजनले ‘गद्दार’ भनेर लेबल लगाएका इरानको महिला राष्ट्रिय फूटबल टोलीका सदस्यहरूलाई शरण दिन प्रोत्साहन गर्छन्, उनी आफूलाई असन्तुष्टहरूको संरक्षकका रूपमा प्रस्तुत गर्छन् । तर उनैको प्रशासनले स्वदेशमा भने अध्यागमन छापा, भिसा प्रतिबन्ध र कठोर शरणार्थी नीतिहरूको सुपरिवेक्षण गरेको छ ।
यी विरोधाभासहरू संयोग मात्र होइनन् । यी खराब नेताको पासोले कसरी काम गर्छ भन्ने कुराका केन्द्रीय पक्ष हुन् । व्यक्तिगत शासकहरूको दुष्टतामा ध्यान केन्द्रित गर्दा तिनीहरूलाई घेरेका बृहत्तर प्रणालीहरू र अन्तर्राष्ट्रिय प्रतिक्रियाहरूलाई आकार दिने स्वार्थहरू प्रायः ओझेलमा पर्छन् ।
एउटै नेतालाई हटाउँदैमा सुरक्षा संयन्त्र ध्वस्त हुँदैन, संस्थाहरू पुनर्निर्माण हुँदैनन् वा रातारात लोकतान्त्रिक संस्कृति पैदा हुँदैन । धेरै अवस्थामा यसले केवल शक्ति शून्यता, नयाँ अस्थिरता र भूराजनीतिक प्रतिस्पर्धाको ताजा चक्र मात्र सिर्जना गर्दछ । हामीले मध्यपूर्व र त्यसभन्दा बाहिर बारम्बार यो ढाँचा देखिसकेका छौँ ।
पासोलाई चिन्नु भनेको अधिनायकवादी शासकहरूको बचाउ गर्नु वा उनीहरूले पुर्याएको पीडालाई बेवास्ता गर्नु होइन । यसको अर्थ भाष्यको सुखद सरलतालाई अस्वीकार गर्नु हो । यदि अन्तर्राष्ट्रिय व्यवस्थाले वास्तवमै मूल्य, लोकतन्त्र, मानव अधिकार र कानूनको शासनद्वारा शासित हुने दाबी गर्छ भने ती सिद्धान्तहरू भूराजनीतिक प्रतिद्वन्द्वीहरूको सामना गर्दा मात्र छनोटपूर्ण रूपमा प्रयोग गरिनु हुँदैन ।
अन्यथा खराब नेताको पासो दोहोरिरहनेछः आक्रोश, हस्तक्षेप र उत्सवको एउटा परिचित चक्र र त्यसपछि ढिलो वा चाँडो पछिल्तिर छोडिएको अस्थिरता र भूराजनीतिक पतन । (लेखक सोमदीप प्रिटोरिया विश्वविद्यालयमा ‘एसियन स्टडिज इन अफ्रिका’का प्राध्यापक हुन् ।) अलजजिराबाट भावानुवाद
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































