प्रतिस्पर्धी दागी हुँदा ‘दोस्रो’ भएर पनि सांसद बने मातृका

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका यादवलाई यो चुनाव फलिफाप भयो । धनुषा–१ बाट उम्मेदवार बनेका यादव गणना भएको मतमा दोस्रो थिए ।

तर, उनले भन्दा धेरै मत पाएका रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज भयो । अन्ततः यादव भाग्यमानी ठहरिए, उनका लागि अदालतले पनि संसद प्रवेश गर्ने बाटो खोलिदिएको छ । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेपछि यादवलाई संसद प्रवेशको बाटो खुलेको हो ।

निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले उनको हकमा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासको यो आदेशसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहेको छ । त्यसो हुँदा मात्रिका यादव निर्वाचित हुने भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय सदर हुने भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले यादवलाई यसअघि नै निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो । त्यसको एक दिनपछि निर्वाचन आयोगले पनि वेबसाइटमा नतिजा अध्यावधिक गर्दै उनलाई निर्वाचित भएको घोषणा गरेको थियो ।
सुरुमा किशोरी अदालतमा गएकोले यादवलाई निर्वाचित गरिएको थिएन । प्रमाणपत्र दिँदा पनि आयोगले अदालतको आदेशअनुसार हुने गरी दिन भनेर अधिकृतको कार्यालयमा पत्र पठाएको थियो ।

किशोरी अदालत गएकोले मतगणना गर्दा उनलाई प्राप्त मत पनि गणना गरिएको थियो । तर, उनीको उम्मेदवारी खारेज सदर भएपछि सबैभन्दा बढी मत ल्याउने मातृका यादव नै पहिलो भएका छन् । र, उनी सांसद बन्ने अवसर पाएका छन् ।
यादवले १० हजार ४२८ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४८५ मत पाए । उम्मेदवारी खारेज भएका किशोरीलाई यादवकोभन्दा दोब्बर मत परेको थियो ।
नेता यादवको योसहित चौथो संसदीय यात्रा हो । अन्तरिम व्यवस्थापिकाका सदस्य र एक पटक समानुपातिक सांसद रहेका यादव प्रत्यक्षतर्फ जितेको यो दोस्रो पटक हो ।

पञ्चायतकालमा कांग्रेसमा रहेका यादव बीपी कोइरालाको मेलमिलाप नीतिपछि अलग भए । २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य रहेका उनी २०६४ को संविधानसभामा समानुपातिक सदस्य भएका थिए । त्यस्तै २०७४ मा उनी धनुषा–१ मा विजयी भए पनि २०७९ मा हार बेहोरे ।

यादव यसअघि तीनपटक मन्त्री पनि भइसकेका छन् । वनमन्त्री हुँदा उनले कर्मचारीलाई शौचालयमा थुनिदिएका थिए ।
पार्टी अध्यक्ष प्रचण्डसँग कुरा नमिलेपछि उनले ०६५ मा मन्त्रीबाटै राजीनामा दिएका थिए । त्यसै वर्ष ०६५ माघमा नेकपा (माओवादी) पुनर्गठन गरेर संयोजक बने भएका थिए । ८ वर्षपछि उनी २०७३ मा नेकपा (माओवादी केन्द्र)मा फर्किएका हुन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।