काठमाडौं । थ्रेसहोल्ड कटाएका दलहरुले समानुपातिक सांसद छानेका छन् । ६० प्रतिशत अर्थात १६५ सांसद प्रत्यक्ष निर्वाचित भएकोमा ११० जना सांसद दलहरुले समानुपातिकबाट छानेका हुन् ।
यसपटक थ्रेसहोल्ड ६ दलले पुर्याएका छन् । जसमा पहिलो दल बनेको रास्वपासहित नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । यी ६ वटै दलहरुले प्रत्यक्षमा पनि जितेकोले राष्ट्रिय दल पनि बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । निर्वाचन आयोगमा बुझाएका नामहरु रास्वपाले सार्वजनिक गरेको छैन ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।
प्रवक्ता झाले सांसदको नाम छानिएको बताए पनि सार्वजनिक नहुँदा बन्द सूचीमा रहेकाहरु अन्योलमा परेका छन् । रास्वपाले नाम सार्वजनिक नगरे पनि केही कलस्टरबाट सांसद बन्नेको नाम भने पक्कापक्की जस्तै भएको छ । बन्दसूची थारू क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारू क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने महिलाबाट गीता चौधरी, उर्मिला चौधरी र करिष्मा कठरिया उम्मेदवार छन् । यी मध्ये सुरुका चार जना सांसद बन्ने पक्का छन् ।
मुस्लिम क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएका पाँचमध्ये तीन जना प्रतिनिधि सभा सदस्य हुने भएका छन् ।
यो कलस्टरमा दुई जना पुरुष र तीन जना महिलाको नाम बन्दसूचीमा राखिएको छ । बाँकेका सैय्यद वकार अहमद शाह, कपिलवस्तुका मिर्जा राशिद वेग, चितवनकी समिना मिया, काठमाडौंकी अफ्सना बान र रौतहटकी गजाला शमिम मिकरानी समानुपातिकका उम्मेदवार छन् । जसमध्ये तीन जना समानुपातिकमा निर्वाचित हुने भएका हुन् ।
दोस्रो दल बनेको नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम छनोट गरेको छ । पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाउने उनले बताए ।
अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ । यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए ।
आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ । यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।
मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।
तेस्रो दल भएर समानुपातिकमा १६ सिट पाएको एमालेले छनोट गरेका नाम आयोगमा बुझाइसकेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो । एमाले नेता निरज आचार्यसहितका नेताहरूले आइतबार निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् ।
एमालेले बुझाएको सूचीमा जनजाति महिलामा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, पुरुषमा रामबहादुर थापा मगर, कुलभक्त शाक्य, खस आर्य महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), पुरुषतर्फ गुरु प्रसाद बराल, पुष्पराज कंडेल, थारुबाट कृपाराम राना (पुरुष), दलिततर्फ महिलामा विष्णुमाया वी.के., नीता घतानी, मधेसीतर्फ महिलामा रिङ्ला यादव, यशोधा कुमारी यादव, पुरुषमा चन्द्रेश्वर मण्डल, मुस्लिमतर्फ महिलामा साजिदा सिद्दीकी परेका छन् ।
चौथौ भएर ९ सिट पाएको नेकपाले पनि सूची बुझाएको छ । निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।
पाँचौ भएको श्रमसंस्कृतिले पनि ४ जनाको नाम सिफारिस गरेको छ । धरानमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो ।
आदिवासीबाट छनोटमा परेका लिम्बू बृटिस गोर्खा भूपु सैनिकका क्याप्टेन हुन् । उनको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै एक कार्यक्रमबाट सार्वजनिक गरेका थिए । धनुषाकी ठाकुर जेनजी हुन् । पार्टीले जेनजी समूहलाई पनि अनिवार्य समेट्ने उद्देश्यले मधेशी महिलाबाट ठाकुरको नाम समावेश गरेको अध्यक्ष साम्पाङले बताए ।
र, छैटौं भएको राप्रपाले पनि ४ जनाको नाम बुझाएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले खस आर्य पुरुष्मा महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली, खस आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामाको नाम आयोगका सिफारिस गरेको छ ।
निर्वाचन आयोगमा सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन् । निर्वाचन आयोगले स्वीकृत गरेसँगै समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन् ।
साना दलहरु एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले आयोगका बुझाएका नामहरु सार्वजनिक गरे पनि पहिलो दल रास्वपा र दोस्रो दल नेपाली कांग्रेसले भने नाम सार्वजनिक गरेका छैनन् । दुवै दलले आयोगले स्वीकृत गरेपछि मात्रै सार्वजनिक हुने बताएका छन् । केही आन्तरिक विवादकैबीच नाम छानिएकोले पनि दलहरुले नाम सार्वजनिक नगरेका हुन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































