काठमाडौं । जेनजी आन्दोलनको जगमा सत्तारोहण भएकी प्रधानमन्त्री सुशीला कार्की सुरुआती दिनमा पुराना दलका नेताहरूसँग प्रत्यक्ष संवाद गर्न हिच्किचाउने गरेकी थिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री कार्कीको संवाद गराउन राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गर्नुपरेको थियो, शितलनिवासमै वार्ता गराउनु परेको थियो ।
जेनजीको भावनाजस्तै पुराना दलहरूले भ्रष्टाचार फैलाएको र बेथितिलाई संस्थागत गरेकोमा प्रधानमन्त्री कार्की सुरुदेखि नै स्पष्ट थिइन्, त्यसैले उनले पुराना दलहरूलाई खासै प्राथमिकतामा राखिनन् । तर चुनाव गराउने जिम्मेवारी पूरा गर्न उनले बाध्यात्मक रूपमा सबै पक्षसँग छलफल गर्नुपरेकोबाहेक खासै अनौपचारिक संवाद गरिनन् ।
तर चुनाव सकिएर नयाँ सरकार बन्ने निश्चित भएपछि प्रधानमन्त्री कार्की पुराना दलका नेताहरूसँग अनौपचारिक छलफल समेत गर्न थालेकी छन् । नयाँ सरकार आउने दिन नजिकिँदै गर्दा जाँदाजाँदै प्रधानमन्त्री कार्की पुरानासँग पनि नजिकिएकी छन् ।
आईतबार प्रधानमन्त्री कार्कीले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेर भेटवार्ता गरिन् । भेटमा उनका परिवारजनमा समवेदना व्यक्त गरिन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।
यसैगरी आईतबारै प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति गगन थापासहित पदाधिकारीको टोलीसँग भेट गरिन् । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल सहितको भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन् ।
जेनजी आन्दोलन र निर्वाचनको मुखमा सरकार र पुराना दलबिच तिक्ततापूर्ण सम्बन्ध देखिए पनि निर्वाचन परिणाम सार्वजनिक भएपछि सम्बन्ध सुधार हुन थालेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।





































