शिकार खेल्न गएका ६ जना नौ दिनदेखि बेपत्ता

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेत ले सिकार खेल्न भन्दै घरबाट निस्किएका छ जना व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएको जनाएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच जना र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक जना गरी छ जना व्यक्ति सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका थिए। उनीहरू गएको नौ दिन बितिसक्दा पनि परिवार र आफन्तसँग सम्पर्कमा नआएपछि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती तथा गङ्गटेमा घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेका छन्।

घटनाबारे जानकारी दिँदै मोहनजङ्ग बुढ्थापा, सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक, ले फागुन २३ गते उनीहरू सिकार खेल्न भन्दै घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने निकुञ्ज क्षेत्रतर्फ गएको बताए। त्यसयता उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको उनले बताए। यसबीच सँगै गएका व्यक्तिमध्ये टोपबहादुर खत्रीको मृत्यु भएको भन्ने जानकारी आएको प्रहरीले जनाएको छ। मृतक खत्रीका भिनाजु आसे महताराले उक्त जानकारी प्रहरीलाई दिएका हुन्। उनले आज बिहान रानीघाट प्रहरी चौकी मा सम्पर्कविहीन व्यक्तिबारे जानकारी गराएको सुर्खेत प्रहरीले जनाएको छ।

परिवारजनबाट प्राप्त जानकारीपछि घटनाको वास्तविकता बुझ्न प्रहरीले खोजी कार्य तीव्र बनाएको छ। प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरी को नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ। उक्त टोलीले निकुञ्ज आसपासका क्षेत्र तथा जंगल क्षेत्रमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थल दुर्गम र वन क्षेत्रभित्र पर्ने भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

यद्यपि सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्र पारिएको छ।यस घटनाबारे थप समन्वयका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया लाई समेत जानकारी गराइएको छ। निकुञ्ज आसपासका क्षेत्रमा समेत खोजी कार्य सञ्चालन गर्न र सम्भावित सूचना संकलन गर्न बर्दिया प्रहरीसँग समन्वय भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्थाबारे अझै स्पष्ट जानकारी नआएको प्रहरीले जनाएको छ। खोजी टोलीले जंगल क्षेत्र, सम्भावित मार्ग तथा स्थानीय बासिन्दासँग सोधपुछ गर्दै उनीहरूको खोजी कार्य जारी राखेको छ। प्रहरीले स्थानीय बासिन्दा र निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई पनि कुनै जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। साथै घटनाबारे थप विवरण आउनासाथ सार्वजनिक गरिने सुर्खेत प्रहरीले जनाएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।