काठमाडौं । सीके राउत ले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन् । तर उनले जनताको अधिकार, पहिचान र मुद्दासँग जोडिएको ‘संघर्षको राजनीति’ भने निरन्तर जारी राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू संसदीय पदको राजनीतिबाट टाढा रहने तर राजनीतिक रूपमा सक्रिय भने रहिरहने स्पष्ट पारेका हुन्। “संसदीय राजनीतिबाट सन्न्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिंदै अगाडि बढाउने,” उनले लेखेका छन्। उनले आफू राजनीतिबाट पूर्ण रूपमा अलग नहुने स्पष्ट पार्दै जनताको मुद्दा उठाउने र सिद्धान्तका आधारमा राजनीतिक गतिविधि जारी राख्ने बताएका छन्।
“म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन,” उनले भनेका छन्। उनका अनुसार आगामी दिनमा पनि आफू जनताको पक्षमा उभिँदै आफ्नो विचार, सिद्धान्त र एजेन्डालाई अघि बढाउनेछन्। “राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु,” उनले लेखेका छन्।
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको दल हो। सो निर्वाचनमा जनमत पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय दलको मान्यता प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ अध्यक्ष राउत आफैंले निर्वाचन जितेका थिए भने समानुपातिक प्रणालीमार्फत पनि पार्टीले केही सिट प्राप्त गरेको थियो।त्यतिबेला समानुपातिकतर्फको थ्रेसहोल्ड हटाइएपछि जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गर्न सफल भएको थियो।
मधेस केन्द्रित राजनीतिक एजेन्डा र पहिचानको मुद्दा उठाउँदै आएको जनमत पार्टीले त्यसपछि राष्ट्रिय राजनीतिमा आफूलाई नयाँ शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको थियो। तर पछिल्लो २०८२ फागुन २१ को उपनिर्वाचन मा भने जनमत पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन। उक्त निर्वाचनमा पार्टीले एक सिट पनि जित्न सकेन।सप्तरी–२ बाट चुनाव लडेका अध्यक्ष राउत स्वयं पराजित भए। उनी रामजी यादव सँग पराजित भएका हुन्, जो राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार थिए।
जनमत पार्टीका अन्य प्रत्यक्षतर्फका उम्मेदवारहरूले पनि चुनाव जित्न सकेनन् भने समानुपातिकतर्फ पनि पार्टीले आवश्यक मत प्राप्त गर्न नसकेर थ्रेसहोल्ड पार गर्न सकेन। चुनावी परिणामपछि पार्टीभित्र आत्मसमीक्षा सुरु भएको बेला अध्यक्ष राउतले संसदीय राजनीतिबाट टाढा रहने घोषणा गरेका हुन्।
उनले अब आफू पार्टी संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने बताएका छन्। “जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।उनका अनुसार आफू पदमा नहुँदा पनि जनतामाझ सक्रिय रहिरहनेछन्। जनताको अधिकार, पहिचान र समानताको मुद्दामा हुने हरेक आन्दोलन तथा संघर्षमा आफू अग्रपंक्तिमा रहने उनले बताएका छन्। “म सदैव जनताको बीचमा नै रहनेछु, हरेक मोर्चा र संघर्षमा खडा हुनेछु,” उनले भनेका छन्। राउतले आफ्नो राजनीतिक यात्राको प्रसंग उठाउँदै आफू व्यक्तिगत रूपमा पार्टी अध्यक्ष बन्न चाहन नसकेको दाबी पनि गरेका छन्। उनका अनुसार प्रारम्भिक चरणमा उनले अरू नेताहरूलाई नेतृत्व लिन आग्रह गरेका थिए।
उनले लेखेका छन् कि जनमत पार्टी गठनका क्रममा आफूले नरेन्द्र प्रसाद चौधरी सहितका साथीहरूलाई जनकपुरमा बोलाएर पार्टीको नेतृत्व लिन आग्रह गरेका थिए। तर उनीहरूले स्वीकार नगरेपछि आफूले बाध्य भएर अध्यक्षको जिम्मेवारी लिनुपरेको उनको भनाइ छ।राउतका अनुसार सरकारको व्यवहार र जनतामाझ पुग्ने अवसर नदिइएको अवस्थाले पनि नयाँ पार्टी गठन गर्नुपर्ने परिस्थिति सिर्जना गरेको थियो।
उनले त्यसबेला राजनीतिक विकल्प निर्माण गर्नकै लागि जनमत पार्टी स्थापना गरिएको बताएका छन्।त्यस्तै उनले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको दाबी पनि गरेका छन्। २०७९ सालको निर्वाचनमा जित हासिल गरे पनि यसपटक भने पराजित भएपछि उनले संसदीय राजनीतिबाट पछि हट्ने निर्णय गरेका हुन्। यद्यपि उनले आफू राजनीतिक रूपमा निष्क्रिय नहुने स्पष्ट पार्दै जनताको अधिकार र पहिचानको आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। उनका अनुसार संसदीय पदमा नरहे पनि राजनीतिक आन्दोलन र सामाजिक परिवर्तनका लागि आफ्नो भूमिका निरन्तर रहनेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































