काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशनले १२ बुँदे घोषणापत्र जारी गरेको छ । सोमबार सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै गैरआवासीय नेपालीको लगानी भित्र्याउन नीतिगत सुधारका लागि सरकारसँग आग्रह गरेको हो ।
फागुन ३० देखि चैत आजसम्म (१४–१६ मार्च ) काठमाडौँमा भएको सम्मेलनले विश्वभर छरिएका नेपाली समुदायलाई नेपालको समृद्धि, विकास तथा विश्वव्यापी रूपमा रहेका नेपालीको हित प्रवद्र्धनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । सम्मेलनले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।
सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ । यसैगरी, विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने उल्लेख छ ।
सम्मेलनले जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई मातृभूमिसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक सङ्कल्प पनि गरिएको छ । सम्मेलनमा चार हजार २८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौँमा भौतिक र बाँकी प्रतिनिधि अनलाइनमार्फत सहभागी भएका आयोजकले जनाएको छ । विकास र समृद्धिमा सक्रिय सहभागी हुनुहोस् : प्रधानमन्त्री
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।
कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरिन् । उनले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मञ्चमा एकता कायम हुनु सकारात्मक भएको बताइन् । उनले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखिन् । नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ सुदृढ बनाएको बताइन् ।
नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले गैरआवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण हुने बताए ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































