काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ। बुधबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो।
खेलको ११औं मिनेटमा मोहम्मद मानिकले गरेको एकमात्र गोल नै बंगलादेशको जितका लागि निर्णायक बन्यो। कर्नरबाट आएको बललाई उनले हेडरमार्फत जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि नेपालले खेलमा फर्किने प्रयास गरे पनि प्राप्त अवसरहरूलाई सदुपयोग गर्न सकेन।
बंगलादेशले अग्रता लिएको केही समयपछि अर्को गोल पनि गरेको थियो। तर, अफसाइडका कारण उक्त गोलले मान्यता पाएन। खेलभरि बंगलादेशको आक्रमणसामू नेपाली रक्षापङ्क्ति दबाबमा देखिएको थियो। यद्यपि, नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप गोल खानबाट जोगाएका थिए।
नेपालले पनि केही सेटपीस अवसरहरू सिर्जना गरेको थियो, तर ती अवसरहरूलाई गोलमा परिणत गर्न असफल रह्यो। आक्रमणमा प्रभावकारी प्रदर्शन गर्न नसक्दा नेपाल खेलमा फर्किन सकेन।
यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। गत संस्करणमा पनि नेपाल सेमिफाइनलमै बंगलादेशसँग पराजित भएको थियो। समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह चरणमा उत्कृष्ट
प्रदर्शन गर्दै तीनै खेल जितेको थियो। तर, नकआउट चरणमा भने त्यसलाई निरन्तरता दिन सकेन। बंगलादेश भने समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको थियो। यस जितसँगै बंगलादेश तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































