एमालेमा बढ्दो खटपट

काठमाडौँ । नेकपा एमालेले महाधिवेशन सम्पन्न भएको करिब पाँच महिनापछि नेताहरूको कार्यविभाजन र नयाँ जिम्मेवारी निर्धारण गर्ने तयारी गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास भक्तपुरको गुण्डुमा शनिबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकले यस विषयमा ठोस निर्णय गर्ने जनाइएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक अध्यक्ष ओलीको उपस्थितिमा सचिवालय बैठक बस्न लागेको हो।

गत मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि लामो समयसम्म नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन। अब बस्ने बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने, नेताहरूको कार्यविभाजन टुंग्याउने र स्थानीय तहको निर्वाचन लक्षित जिम्मेवारीहरू तोक्ने जस्ता महत्वपूर्ण विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्थाको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे पनि छलफल हुने जनाइएको छ।

पार्टी सचिव पद्मा अर्याल ले बैठकमा स्थानीय तहको चुनावी तयारी र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समिक्षा हुने जानकारी दिइन्। उनका अनुसार निर्वाचन परिणामपछि पार्टीभित्र देखिएका कमजोरीहरू पहिचान गर्दै आगामी रणनीति तय गर्ने प्रयास हुनेछ।

यसबीच अध्यक्ष ओलीको स्वास्थ्य अवस्था र कानुनी घटनाक्रमले पनि पार्टी गतिविधिमा प्रभाव पारेको थियो। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो। त्यस अवधिमा पार्टीले उपाध्यक्ष रामबहादुर थापा लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो। थापाले सो अवधिमा दुईपटक सचिवालय बैठक समेत सञ्चालन गरेका थिए। पक्राउ परेको १२ दिनपछि अदालतको आदेशमा ओली रिहा भएका थिए भने त्यसपछि उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो। वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएपछि भने उनी क्रमशः राजनीतिक गतिविधिमा फर्किने क्रममा छन्।

सचिव अर्यालका अनुसार अध्यक्षको स्वास्थ्य अवस्थाका कारण लामो समय बैठक बस्न नसकेको भए पनि अब ढिलाइ गर्न नहुने निष्कर्षमा पुगेर बैठक बोलाइएको हो। उनले छोटो समय भए पनि अत्यावश्यक निर्णय लिन बैठक अपरिहार्य भएको बताइन्। विस्तृत चुनावी समीक्षा भने पछि फरक विधिबाट गर्ने तयारी रहेको उनले संकेत गरिन्।

पार्टीभित्रको आन्तरिक राजनीतिले पनि बैठकलाई थप चासोको विषय बनाएको छ। केही पदाधिकारीहरूले नेपाली कम्युनिस्ट पार्टीसँग सम्भावित एकताको विषय पनि बैठकमा उठ्न सक्ने बताएका छन्। पछिल्लो समय एमाले र नेकपाका नेताहरूबीच बाक्लो संवाद भइरहेको सन्दर्भमा उक्त विषयले प्रवेश पाउने अनुमान गरिएको छ। यद्यपि, सचिव अर्यालले तत्कालै एकताबारे ठोस निर्णय हुने सम्भावना भने न्यून रहेको स्पष्ट पारेकी छन्।

फागुन २१ गतेको निर्वाचन परिणामपछि अध्यक्ष ओलीमाथि जिम्मेवारीबाट अलग हुन आन्तरिक दबाब बढेको पनि देखिन्छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायतका नेताहरू एक समय मोर्चाबन्दीमै उत्रिएको चर्चा थियो। केही उपमहासचिव र सचिवहरूले समेत उनीहरूलाई साथ दिएको बताइन्छ।

यद्यपि, पछिल्ला दिनमा आन्तरिक सहमति जुटेपछि मात्र अध्यक्ष ओली बैठक बस्न तयार भएको निकट स्रोतले जनाएको छ। लामो समयदेखि रोकिएको निर्णय प्रक्रियालाई अघि बढाउन बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। साथै केही नेताहरूले अध्यक्षविरुद्ध सार्वजनिक रूपमा आलोचना गरेकाले उनीहरूमाथि अनुशासनात्मक कारबाही हुन सक्ने अड्कलबाजी पनि भइरहेको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन।

बैठकमा सरकारको कामकारबाही, पार्टीको भावी रणनीति तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा हुने बताइएको छ। पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठककै दिन एजेन्डा सार्वजनिक गरिनेछ। यसैबीच अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गरेको जानकारी प्राप्त भएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।