सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ले विशेष महाधिवेशनको निर्णयले पार्टीको सांगठनिक र राजनीतिक अवस्थालाई कमजोर बनाएको टिप्पणी गरेका छन्।
कर्णाली प्रदेश समितिद्वारा सुर्खेतमा आयोजित ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले महाधिवेशनको प्रक्रियाले अपेक्षित परिणाम दिन नसक्दा पार्टी प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय रूपमा खुम्चिएको बताएका हुन्।
दुई दिने गोष्ठीको पहिलो दिन झण्डै एक घण्टा बोलेका खड्काले विशेष महाधिवेशन अनावश्यक रूपमा अघि बढाइएको दाबी गर्दै त्यसले पार्टीभित्रको एकता कमजोर बनाएको उल्लेख गरे। उनका अनुसार महाधिवेशनको प्रभाव प्रत्यक्ष रूपमा निर्वाचन परिणाममा देखिएको छ, जसका कारण कांग्रेस अपेक्षित सिट संख्या हासिल गर्न असफल भएको हो। उनले कांग्रेस ३८ सिटमा सीमित हुनुमा यही प्रक्रियाको प्रमुख भूमिका रहेको तर्क प्रस्तुत गरे।
खड्काले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै यदि विशेष महाधिवेशन नगरेको भए मुलुकको शक्ति सन्तुलन फरक हुने दाबी पनि गरे। उनले वैकल्पिक परिदृश्य प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो शक्ति बन्न सक्ने, कांग्रेस ६० देखि ६५ सिटसम्म पुग्ने, नेकपा एमाले ३०–३५ र माओवादी केन्द्र १५–२० सिटको दायरामा रहने आकलन गरे। तर, महाधिवेशनले पार्टीलाई आन्तरिक रूपमा कमजोर बनाउँदा समग्र शक्ति समीकरण बदलिएको उनको भनाइ छ।
उनले पार्टीभित्रको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेस विभाजनको संघारमा पुगेको चेतावनी दिए। नेतृत्व तहमा बढ्दै गएको अहंकार, व्यक्तिगत स्वार्थ र शक्ति संघर्षले संगठनलाई कमजोर बनाएको उनको आरोप छ। खड्काका अनुसार नेतृत्वले सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गर्दै व्यक्तिगत प्राथमिकतालाई अगाडि राख्दा कार्यकर्तामा निराशा बढेको छ र त्यसले पार्टीभित्र असन्तुष्टि चुलिएको छ।
पार्टीलाई पुनः एकताबद्ध बनाउन नेताहरूले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने खड्काको सुझाव छ। उनले व्यक्तिगत आडम्बर, पारिवारिक स्वार्थ, आर्थिक लोभ र नातावादभन्दा माथि उठेर कार्यकर्तामाझ जानुपर्नेमा जोड दिए। उनले आफूले पार्टी सभापति र उपसभापतिसँग भेट गरी विभाजनतर्फ नजान आग्रह गरेको समेत जानकारी गराए। उनका अनुसार अहिलेको परिस्थितिमा पार्टी एकतामै जोड दिनु आवश्यक छ, अन्यथा दीर्घकालीन क्षति हुन सक्ने खतरा रहेको छ।
उक्त विचार गोष्ठीमा कांग्रेसका नेता तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही लगायत वर्तमान तथा पूर्व पदाधिकारी, प्रदेश र जिल्ला कार्यसमितिका सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ। त्यसैगरी क्षेत्र, प्रदेश, पालिका तथा वडा तहका सभापतिहरू पनि कार्यक्रममा सहभागी भएका छन्।
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका मेयर–उपमेयर र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षहरूको समेत उपस्थिति रहेको छ। केही दिनअघि आयोजित प्रदेशस्तरीय भेलामा सहभागी अधिकांश नेताहरू पनि यस गोष्ठीमा पुनः उपस्थित भएका छन्। गोष्ठी दुई दिनसम्म सञ्चालन हुने र पार्टीको भावी रणनीति तय गर्न महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































