चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कप च्याम्पियन

काठमाडौँ । म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै यस सिजनको अर्को महत्वपूर्ण सफलता हात पारेको हो । यस जितसँगै पेप ग्वार्डिओलाको टोलीले इङ्लिस फुटबलमा ‘कप डबल’ पूरा गरेको छ ।

खेलको निर्णायक क्षण दोस्रो हाफमा आएको थियो। ७१औँ–७२औँ मिनेटतिर एर्लिङ हालान्डको क्रसमा म्यानचेस्टर सिटीका फरवार्ड एन्टोनी सेमेन्योले उत्कृष्ट नियन्त्रण र छिटो प्रतिक्रिया देखाउँदै गोल गरे। उनले शरीर घुमाउँदै हिलाले प्रहार गरेको बल चेल्सीका गोलकिपर रोबर्ट सान्चेजलाई छक्याउँदै जाली चुमाए। यही गोल नै खेलको निर्णायक गोल बन्यो ।

सेमेन्योले खेलपछि प्रतिक्रिया दिँदै भने, “सबै कुरा धेरै छिटो भयो । बल सिधै मसम्म आयो, मैले छिटो निर्णय गरेर इम्प्रोभाइज गर्नुपर्‍यो ।” उनले थपे, “यो मेरो लागि नयाँ अनुभव हो, किनभने मैले यस्ता ठूला उपाधिका लागि धेरै प्रतिस्पर्धा गरेको थिइनँ ।”

खेलको अन्त्यतिर दुवै टोलीले अवसर पाए पनि चेल्सी गोल गर्न असफल रह्यो। रेयान चेर्कीको प्रहारलाई चेल्सीका गोलकिपर सान्चेजले उत्कृष्ट बचाउ गरे भने माटेउस नुनेसको शक्तिशाली शट पोस्टमा लागेर फर्किएको थियो ।

सिटीका कप्तान बर्नार्डो सिल्भाले जितलाई विशेष भन्दै प्रतिक्रिया दिए। उनले भने, “यसरी सिजनको अन्त्य गर्नु राम्रो हो, अझै पनि प्रिमियर लिगका लागि सानो आशा बाँकी छ।” सिटी अहिले लिग लिडर आर्सनलभन्दा २ अंकले पछाडि छ र अन्तिम दुई खेल बाँकी छन् ।

वेम्बली स्टेडियममा सम्पन्न फाइनलपछि बर्नार्डो सिल्भा र डिफेन्डर जोन स्टोन्सले प्रिन्स विलियमबाट ट्रफी ग्रहण गर्दै उपाधि उचाले । यो सिटीको आठौँ एफए कप उपाधि हो। यसअघि मार्चमा सिटीले लीग कप पनि जितेको थियो ।

एफए कप इतिहासमा सबैभन्दा बढी उपाधि आर्सनलको नाममा छ, जसले १४ पटक उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडले १३ पटक जितेको छ भने सिटी र चेल्सी दुवैले ८–८ पटक एफए कप जितेका छन्। चेल्सीले पछिल्लो पटक सन् २०१८ मा यो उपाधि जितेको थियो ।

तर यसपटक चेल्सीका लागि निराशाजनक नतिजा रह्यो। एनजो फर्नान्डेज, जोआओ पेड्रो र लियाम डेलापले अवसर पाए पनि गोल गर्न सकेनन् । लगातार सातौँ घरेलु कप फाइनल हारसँगै चेल्सीको अवस्था थप कमजोर बनेको छ र क्लब प्रिमियर लिगमा नवौँ स्थानमा झरेको छ। साथै, युरोपेली प्रतिस्पर्धामा पुग्ने सम्भावना पनि कमजोर बनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।