मेस्सीको गोल र असिस्टमा इन्टर मियामीको सहज जित

काठमाडौं । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ । यो जित क्लबको नयाँ घरेलु मैदान ‘मियामी फ्रिडम पार्कमा पहिलो सफलता समेत बनेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा मेस्सीले एक गोल गर्नुका साथै अर्को गोलमा असिस्ट गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन् । खेलको ३१औँ मिनेटमा मेस्सीले टेलास्को सेगोभियाको पासमा सटिक प्रहार गर्दै गोल गरेका थिए । उक्त गोलमार्फत इन्टर मियामीले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफकै ४२औँ मिनेटमा इन्टर मियामीले अग्रता दोब्बर बनायो । यसपटक मेस्सीले दुई डिफेन्डरलाई छक्याउँदै जर्मन बर्टेरामेलाई उत्कृष्ट पास उपलब्ध गराए, जसलाई उनले सहजै गोलमा परिणत गरे । यससँगै पहिलो हाफमै मियामी २–० ले अगाडि रह्यो ।

पोर्टल्यान्ड टिम्बर्सले पनि खेलमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । खेलको ११औँ मिनेटमा कोल बासेटको प्रहारलाई गोलकिपर डेइन स्ट. क्लेयरले उत्कृष्ट बचाउ गरेका थिए ।

यस खेलमा समर्थक समूह ला फामिलियाले सुरुमा मौन विरोध जनाएको थियो । क्लबले नयाँ स्टेडियममा समर्थकको उपस्थितिलाई उचित सम्मान नगरेको भन्दै उनीहरूले केही समय समर्थन रोकेका थिए । तर खेलको अन्त्यतिर ८५औँ मिनेटपछि भने उनीहरूले पुनः समर्थन जनाएका थिए ।

यो खेल पोर्टल्यान्डका प्रशिक्षक फिल नेभिलसँग पनि जोडिएको थियो, जो पहिले इन्टर मियामीकै प्रशिक्षक थिए र २०२३ मा बर्खास्त भएका थिए । यस जितसँगै इन्टर मियामी १४ खेलबाट २८ अंकसहित एमएलएस तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नासभिल एससीसँग ३० अंक छ भने पराजित पोर्टल्यान्ड १४ अंकसहित २१औँ स्थानमा रहेको छ ।

मेस्सीको प्रदर्शन यस सिजन पनि उत्कृष्ट बन्दै गएको छ । उनले हालसम्म १३ गोल र ५ असिस्ट पूरा गरिसकेका छन् भने पछिल्ला चार खेलमा मात्र ४ गोल र ४ असिस्ट योगदान दिएका छन् । इन्टर मियामीका धेरैजसो गोलमा मेस्सीको प्रत्यक्ष भूमिका रहेकोले उनी टोलीको प्रमुख खेलाडी बनेका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।