लिग–२ : शीर्ष स्थानको स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा उक्लियो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको छ । स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट इनिङ खेले । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए । ईशान पाण्डेले ५५ रनको महत्वपूर्ण योगदान दिए भने आसिफ शेखले २९ रन र कुशल भुर्तेलले २८ रन बनाए । नेपालका ब्याट्सम्यानहरूले समग्रमा सन्तुलित प्रदर्शन गर्दै लक्ष्य पछ्याउन सहज बनाएका थिए । स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट लिए भने ब्रेन्डन म्याकमुलेनले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटिएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले ७३ रनको आक्रामक इनिङ खेले भने माइकल इङ्ग्‌िलसले ५१ रनको अर्धशतकीय योगदान दिए । अन्य ब्याट्सम्यानहरू भने नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन् ।

नेपालका बलरहरू उत्कृष्ट लयमा देखिए । विशेषगरी ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले ३ विकेट लिएर स्कटल्याण्डको मध्यक्रम ध्वस्त पारे । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १–१ विकेट लिएर टोलीको जितमा योगदान दिए ।

यस जितसँगै नेपालले आईसीसी विश्वकप लिग–२ मा २७ खेलमा २२ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । स्कटल्याण्ड भने ३१ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । लगातार सुधार भइरहेको नेपालको प्रदर्शनले प्रतियोगितामा टोलीको आत्मविश्वास अझ बढाएको देखिएको छ ।

सन्दीपको ऐतिहासिक कीर्तिमानः ७३ खेलमै १५० विकेट पूरा गर्दै विश्व रेकर्ड

यसै खेलको सबैभन्दा ठूलो आकर्षण भने नेपाली लेग स्पिनर सन्दीप लामिछाने बने । उनले स्कटल्याण्डविरुद्धको खेलमा २ विकेट लिएसँगै ओडीआई क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गर्दै मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् ।

सन्दीपले मात्र ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि यो रेकर्ड अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए । स्टार्कको यो कीर्तिमान लामो समयदेखि विश्व क्रिकेटमा उच्च मानिने गरिएको थियो, तर सन्दीपले त्यसलाई चार खेलले पछि पार्दै नयाँ इतिहास रचेका हुन् ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीप लामिछानेले छोटो समयमा नै विश्व क्रिकेटमा आफ्नो प्रभावशाली उपस्थिती देखाएका छन् । उनले सुरुदेखि नै निरन्तर विकेट लिने क्षमताका कारण आफूलाई विश्वस्तरीय स्पिनरको रूपमा स्थापित गर्दै आएका छन् ।

यसअघि पनि सन्दीपले ओडीआई क्रिकेटमा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका थिए, जसका लागि उनले मात्र ४२ खेल खेलेका थिए । यसले पनि उनको निरन्तरता र प्रभावकारी प्रदर्शनलाई प्रमाणित गर्छ । ओडीआईमा छिटो ५० विकेट पूरा गर्ने उपलब्धि पनि उनको नाममै रहेको छ, जसले उनको करियरलाई अझ विशेष बनाएको छ ।

सन्दीपले नेपालका लागि ओडीआईसँगै टी–२० अन्तर्राष्ट्रियमा पनि उल्लेखनीय प्रदर्शन गरेका छन् । हालसम्म उनले ७४ टी–२० आई खेलमा १३६ विकेट लिएका छन् । ब्याटिङतर्फ पनि उनले ५०० भन्दा बढी रन योगदान दिएका छन्, जसले उनलाई बहुआयामिक खेलाडीको रूपमा चिनाएको छ ।

यस ऐतिहासिक उपलब्धिसँगै सन्दीप लामिछानेको नाम विश्व क्रिकेट इतिहासमा विशेष रूपमा दर्ज भएको छ । नेपालका लागि भने यो उपलब्धि गर्वको क्षण बनेको छ, जसले नेपाली क्रिकेटको स्तर र सम्भावनालाई अझ माथि उठाएको छ ।