काठमाडौं । जोरा स्पोट्र्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै कानुनी मुद्दा फिर्ता लिएको घोषणा गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार विज्ञप्ति जारी गर्दै खेल क्षेत्रको सुधार र विकासलाई प्राथमिकता दिँदै मुद्दा फिर्ता लिने निर्णय गरिएको बताएका हुन्।
जोरा स्पोट्र्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवादमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।
अख्तरले अदालत जाने निर्णय व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रमा देखिएका समस्या र सुधारको आवश्यकताका कारण भएको बताएका छन्। उनले राष्ट्रिय खेलकुद परिषद्ले खेल विकासका लागि सबै पक्षलाई एकजुट हुन आग्रह गर्दै मुद्दा फिर्ता लिन गरेको अनुरोधलाई सम्मान गर्दै यो निर्णय गरिएको उल्लेख गरेका छन्।
यद्यपि, आफ्नो नाममा दर्ता रहेको ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ तथा सो कम्पनीसँग सम्बन्धित बैंक खातामाथिको स्वामित्व भने यथावत रहने अख्तरले स्पष्ट पारेका छन्। उनले आगामी दिनमा पनि नेपाली क्रिकेट तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































