आईसीसी वरीयतामा नेपाली खेलाडीहरूको ठूलो छलाङ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीहरूले उल्लेखनीय सुधार गरेका छन्। घरेलु मैदानमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीहरूको वरीयतामा सुधार आएको हो।

ब्याटिङतर्फ नेपाली टोलीका ओपनर आसिफ शेखले ७ स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेका छन्। अर्का ओपनर कुशल भुर्तेलले एकैपटक १७ स्थान फड्को मार्दै १००औँ स्थानमा प्रवेश गरेका छन्। नेपाली टोलीका भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरी ९९औँ स्थानमा कायम रहेका छन् भने कप्तान रोहितकुमार पौडेल शीर्ष १०० भित्र अटाउन सकेका छैनन्।

बलिङतर्फ नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले ६ स्थान सुधार गर्दै ३७औँ स्थानमा उक्लिएका छन्। त्यस्तै स्पिनर ललित राजवंशीले १६ स्थान सुधार गर्दै ५४औँ स्थान हासिल गरेका छन्। दीपेन्द्रसिंह ऐरीले पनि ३ स्थान सुधार गर्दै ७९औँ स्थानमा आफूलाई पुर्‍याएका छन्।

सबै पक्षमा योगदान दिने खेलाडीहरूको वरीयतामा पनि नेपाली खेलाडीहरूको सुधार देखिएको छ। दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै २५औँ स्थानमा पुगेका छन्। सन्दीप लामिछाने ३ स्थान सुधार गर्दै ६८औँ स्थानमा उक्लिएका छन् भने ललित राजवंशी १२ स्थान सुधार गर्दै ७४औँ स्थानमा पुगेका छन्। यस्तै युवा खेलाडी गुल्सन झाले १५ स्थान सुधार गर्दै ८७औँ स्थान हासिल गरेका छन्।

हाल नेपालमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। विशेषगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, ललित राजवंशी र गुल्सन झाको प्रदर्शन प्रभावशाली रहँदा त्यसको सकारात्मक असर वरीयतामा देखिएको हो।

नेपालको टोली वरीयता भने १७औँ स्थानमै कायम रहेको छ। नेपाली टोलीले अब शृङ्खलाको अन्तिम खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।