मधेश सरकारमा एमालेको इन्ट्री

काठमाडौँ । मधेश प्रदेशको राजनीतिक समीकरण फेरिने स्पष्ट संकेत देखिएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनु अघि नै एमाले सरकारमा सहभागी हुने तयारीमा पुगेपछि प्रदेशको सत्ता संरचना नयाँ मोडमा पुगेको हो। नयाँ सहमतिअनुसार मधेश प्रदेशमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन सरकार बन्ने तयारी भइरहेको छ। यही समीकरणका कारण जसपा सरकारबाट बाहिरिने सम्भावना बलियो बनेको छ। तीन दलबीच मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नै निरन्तरता दिने समझदारी भएपछि सरकार पुनर्गठनको प्रक्रिया अघि बढेको हो।

तीन दलका शीर्ष नेताबीच भएको सहमतिपछि एमाले सरकारमा जाने निर्णय भएको संसदीय दलका नेता सरोज यादवले पुष्टि गरेका छन्। उनका अनुसार प्रारम्भिक चरणमै बाराका सांसद मोहम्मद समीरलाई विना विभागीय मन्त्रीका रूपमा सरकारमा पठाउने तयारी भइरहेको छ। यससँगै एमालेको औपचारिक प्रवेशसँगै सरकारको संरचना थप विस्तार हुने देखिएको छ।

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिनुअघि सरकारमा रहने कि बाहिरिने भन्ने अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ। सो निर्णयपछि मात्रै एमालेले मन्त्रालय बाँडफाँडबारे थप रणनीति बनाउने बुझिएको छ। अहिलेको अवस्थासम्म एमालेले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा अन्तिम सहमति भने सार्वजनिक भएको छैन। आन्तरिक छलफलअनुसार जनमत पार्टीले छोडेका अर्थ मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा जसपा नेपालको कोटाबाट एउटा मन्त्रालय एमालेले पाउने सम्भावना रहेको बताइएको छ। यदि जसपा नेपाल पूर्ण रूपमा सरकारबाट बाहिरिएमा भौतिक पूर्वाधार विकास, श्रम तथा यातायात र शिक्षा तथा संस्कृति जस्ता महत्वपूर्ण मन्त्रालयहरू पनि पुनः बाँडफाँड हुने अवस्था देखिएको छ।

यता, भने सरकारमा रहने वा नरहने विषयमा स्पष्ट निर्णय नगरे पनि समर्थन भने जारी राख्ने जनाएको छ। संसदीय दलका नेता सरोज यादवका अनुसार पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। सरकारमा सहभागी हुने वा नहुने निर्णय मुख्यमन्त्रीको कदममा निर्भर रहने उनले बताएका छन्। संख्यात्मक हिसाबले हेर्दा एमाले सरकारमा सहभागी भएपछि मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सहज हुने देखिन्छ। कांग्रेस, एमाले र नेकपाका सांसदहरूको समर्थनसँगै उनको पक्षमा पर्याप्त मत पुग्नेछ। जसपा नेपालले समर्थन जारी राखेमा सरकार झन् बलियो बन्नेछ भने, यदि बाहिरिएमा पनि सरकारको स्थायित्वमा खासै असर नपर्ने विश्लेषण गरिएको छ। यसरी एमालेको प्रवेशसँगै मधेश प्रदेशको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।