ककरोच जनता पार्टी (सीजेपी) को भारतको लोकतान्त्रिक चेतनामा अचानक उछालिनु सजिलै गलत रूपमा बुझिन सक्छ ।
यस्तो देशमा, जहाँ राजनीति प्रायः भाजपा समर्थक वा भाजपा विरोधी प्रतिक्रियामा सीमित हुन्छ, सीजेपीलाई सत्तारूढ दलविरुद्धको अर्को असन्तोषको झिल्को ठान्नु स्वाभाविक छ ।
तर त्यो अत्यन्त सुविधाजनक व्याख्या हुनेछ । अझ गहिरो सत्य सम्भवतः अझ असहज छः ककरोच सम्पूर्ण राजनीतिक भूइँभरि घिस्रिएको छ । यसले केवल सत्तामा भएकाहरूको खिल्ली उडाइरहेको छैन । यसले उनीहरूलाई पनि उदाङ्गो बनाइरहेको छ, जो सत्तालाई प्रतिस्थापन गर्न चाहन्छन् ।
सीजेपीको सुरुवात प्रधानन्यायाधीश सूर्यकान्तसँग जोडिएको भनिएको टिप्पणीपछि भएको थियो, जसमा उनले केही बेरोजगार युवाहरूलाई ‘ककरोच’ र ‘परजीवी’ भनेको बताइएको थियो, पछि स्पष्ट पार्दै ती टिप्पणीहरू भारतका युवाहरू होइन, नक्कली डिग्री भएका मानिसहरूबारे भएको बताएका थिए ।
त्यो वाक्यांश अनलाइन विस्फोटजस्तै फैलियो, किनकि यसले एक पुस्ताको अपमानलाई एउटै कीराको रूपकमा संकुचित गरेको जस्तो देखिन्थ्यो । केही दिनमै व्यंग्यात्मक आन्दोलनका रूपमा रहेको सीजेपीले इन्स्टाग्राममा लाखौँ फलोअर पार गर्यो, एक समय भाजपाको आधिकारिक इन्स्टाग्राम खातालाई समेत उछिन्दै, जबकि यसको एक्स खाता कानुनी मागपछि भारतमा रोकिएको थियो ।
तर ती संख्याहरूभन्दा भावनात्मक संकेत बढी महत्वपूर्ण छन् । सीजेपीको वेबसाइटले आफूलाई ‘आलसी र बेरोजगारहरूको आवाज’ तथा ‘त्यस्ता मानिसहरूको राजनीतिक दल, जसलाई प्रणालीले गन्नै बिर्सियो’ भनेर वर्णन गर्छ । यसको पोस्टरमा लेखिएको छ, ‘उनीहरूले हामीलाई कुल्चिन खोजे । हामी फर्कियौँ ।’ यो केवल मीम होइन । यो त्यस्तो पुस्ताको भाषिक संरचना हो, जसले संस्थाबाट अपमानित, दलहरूबाट बेवास्ता गरिएको र अझै पनि आज्ञाकारिताको भाषामा बोल्ने नेताहरूबाट संरक्षणवादी व्यवहार भोगेको महसूस गरिरहेको छ ।
विपक्षको गलत बुझाइ
मध्यप्रदेश विधानसभा विपक्षी दलका नेता तथा कांग्रेसका वरिष्ठ नेता उमंग सिंघारले २१ मेमा सार्वजनिक रूपमा सीजेपीको उल्लेख गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समर्थन व्यक्त गरे, जुन लोकतन्त्रमा सक्रिय सुनुवाइ र पुस्तागत सहानुभूतिको उत्साहजनक उदाहरण थियो ।
त्यसैसँगै विपक्षले सीजेपीलाई तयार अवस्थामा रहेको भाजपा–विरोधी युवा लहरको रूपमा उत्सव मनाउनुअघि सावधानी अपनाउनुपर्छ । सत्तारूढ व्यवस्थाप्रति जेनजी पुस्ताको असन्तुष्टि वास्तविक हो । तर त्यो स्वतः विपक्षप्रतिको विश्वासमा रूपान्तरण हुँदैन । यस्तै भावना दोहोर्याउँदै चर्चित चुनावी रणनीतिकार नरेश अरोराले एक्समा लेखे, ‘ककरोच जनता पार्टीको भाइरल सफलतालाई केवल सत्तारूढ दल भाजपा–एनडीए विरुद्धको असन्तोषका रूपमा मात्र हेर्नु हुँदैन, यो विपक्षका लागि पनि एउटा ऐना हो ।’ उनले थपे, ‘भारतका जेनजी युवा महसूस गरिरहेका छन् कि कुनै पनि पक्षले उनीहरूको कुरा सुनिरहेको छैन ।’
कांग्रेस सांसद शशी थरुरले समेत भने, ‘म यो आन्दोलनको भविष्यबारे निश्चित छैन तर म आशा गर्छु कि यसको पछाडि रहेका युवाहरूले यो ऊर्जालाई मुख्यधारको राजनीतिमा ल्याउने वा आफ्नो मतमार्फत परिवर्तनको आवाज बनाउने बाटो भेट्नेछन् र त्यसो गर्दै बेवास्ता गर्नै नसकिने बन्नेछन् । यो अवसर हो, जसलाई विपक्षले समात्नुपर्छ ।’
यही नै यो क्षणको केन्द्रीय पाठ हो । धेरै भारतीय युवाहरूले ‘भाजपाले हामीलाई असफल बनायो, त्यसैले कांग्रेस वा क्षेत्रीय विपक्षले हामीलाई बचाउनेछ’ भनिरहेका छैनन् । उनीहरू अझ कठोर कुरा भनिरहेका छन्, ‘तपाईंहरूमध्ये कसैले पनि हाम्रो कुरा सुनिरहनुभएको छैन ।’
यहीँबाट विपक्षको संकट सुरु हुन्छ । कांग्रेसले बेरोजगारी, असमानता र संवैधानिक मूल्यहरूबारे धेरै बोल्छ, कहिलेकाहीँ प्रभावशाली ढङ्गले पनि । तर यसले अझै वंशवादी राजनीतिका बोझ बोकेको छ । थरूर स्वयंले कांग्रेसको संरचनाभित्रैबाट लेखेका छन् कि जब निर्वाचित पदलाई पारिवारिक सम्पत्तिजस्तो व्यवहार गरिन्छ, शासन कमजोर हुन्छ । शैक्षिक विश्लेषणहरूले पनि व्यक्तिवाद, वंशवाद र पुस्तागत
गुटबन्दीलाई कांग्रेसको पतनका कारकका रूपमा औँल्याएका छन् ।
एल्गोरिदमिक व्यंग्यात्मक संस्कृतिमा हुर्किएका युवा मतदाताका लागि विरासत करिश्मा होइन । थरहरूले उनीहरूलाई प्रभावित पार्दैनन् । उनीहरूले सबै कुरा प्रश्न गर्छन् । उनीहरू राहुल गान्धीको संवैधानिक भाषाको प्रशंसा गर्न सक्छन् र त्यसैसँग भारतको सबैभन्दा पुरानो दल किन गणतन्त्रभन्दा पनि संगठनात्मक रूपमा पुरानो देखिन्छ भनेर प्रश्न गर्न सक्छन् ।
क्षेत्रीय दलहरूका आफ्नै समस्या छन् । धेरैले वास्तविक सामाजिक गठबन्धन र भाषिक–सांस्कृतिक गौरव निर्माण गरेका थिए । तर अहिले धेरै दलहरू भ्रष्टाचार, विशेषाधिकार वा पारिवारिक नियन्त्रणको दाग बोकेका छन् । पश्चिम बंगाल शिक्षक भर्ती घोटाला, जसमा सर्वोच्च अदालतले गम्भीर अनियमितता भेटिएपछि २५ हजारभन्दा बढी शिक्षक तथा गैरशिक्षक कर्मचारीको बर्खास्तगीलाई सदर गर्यो, त्यही प्रकारको घटना हो जसले युवा आकांक्षीहरूलाई प्रत्यक्ष रूपमा घाइते बनाउँछः जागिर, परीक्षा, निष्पक्षता र भविष्य ।
तमिलनाडुमा कथित ‘जागिरका लागि नगद’ प्रकरणमा डीएमके नेता वी. सेन्थिल बालाजीमाथि मुद्दा चलाउन अनुमति माग्दै प्रवर्तन निर्देशनालयको नयाँ पहलले सार्वजनिक रोजगारीप्रतिको विश्वासमा उस्तै क्षय देखाउँछ ।
२०२४ लोकसभा चुनावको तथ्यांकले पनि आपराधिक मुद्दा घोषित गरेका उम्मेदवारहरूको सफलता दर सफा पृष्ठभूमिका उम्मेदवारहरूको भन्दा निकै उच्च रहेको देखायो र आपराधिक प्रवृत्ति राष्ट्रिय तथा क्षेत्रीय सबै दलहरूमा फैलिएको थियो । त्यसैले जब सीजेपीले आफ्नो जानाजानी ठट्टापूर्ण शैलीमा ‘पैसा कहाँ गयो ?’ भनेर सोध्छ, त्यसले त्यो प्रश्न केवल नर्थ ब्लकतर्फ लक्षित गरिरहेको हुँदैन । यसले हरेक राज्य सचिवालय, हरेक दल कार्यालय, हरेक स्थानीय शक्ति केन्द्र, हरेक वंश, हरेक बिचौलिया, र ५० वर्ष पार गरिसकेका हरेक ‘युवा नेता’लाई प्रश्न गरिरहेको हुन्छ ।
विजय एउटा संकेत हुन्
यस प्रकारको परिवर्तनको चाहनाको सबैभन्दा नाटकीय चुनावी प्रमाण यस महिनाको सुरुमा तमिलनाडुबाट आयो, जहाँ अभिनेता–राजनीतिज्ञ विजयको तमिझगा वेत्री कझगम (टीभीके) २०२६ विधानसभा चुनावमा २३४ मध्ये १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बन्यो र दशकौँ पुरानो डीएमके–एआईएडीएमके द्विध्रुवीयतालाई तोड्यो ।
विजयको सफलतालाई केवल सेलिब्रिटी राजनीतिका रूपमा सहजै खारेज गर्नु हुँदैन, तमिलनाडुमा सिनेमा र राजनीतिबिचको लामो सम्बन्ध हुँदाहुँदै पनि । २०२६ को जनादेश केवल स्टार शक्तिबारे थिएन । त्यो परिचित राजनीतिक संरचनालाई दण्डित गर्न तयार सार्वजनिक मनोदशाबारे पनि थियो । टीभीकेको आधिकारिक भाषामा ‘जनकेन्द्रित राजनीति’ र ‘ठोस कल्याणमुखी कार्यहरू’को कुरा गरिएको छ, कागजमा परम्परागत देखिने यी वाक्यांशहरू नयाँ अनुहार र डिजिटल परिचालनसँग जोडिँदा थकान विरुद्धको औजार बनेका छन् ।
विपक्षी क्षेत्रका लागि पाठ स्पष्ट छ । भाजपा–प्रधान राष्ट्रिय परिवेशमा केवल भाजपा–विरोधी हुनु अब पर्याप्त राजनीतिक पहिचान होइन । मतदाताहरू, विशेषतः युवा मतदाताहरू, नवीनता, प्रामाणिकता, जोखिम र पहिचान गर्न सकिने आक्रोश खोजिरहेका छन् । उनीहरू यस्तो राजनीतिक भाषा चाहन्छन्, जुन बाँचिएको अनुभूत होस्, फोकस समूहले तयार गरेको होइन । उनीहरू त्यस्ता नेताहरू चाहन्छन्, जो दरबारभित्रको कोठा उत्तराधिकारमा पाएका होइन, बाहिरबाट आएका देखिऊन् ।
यही कारणले सीजेपी महत्वपूर्ण छ, चाहे त्यो वास्तविक पार्टी कहिल्यै नबनोस् । यसले पहिले नै त्यस्तो काम गरिसकेको छ, जुन धेरै विपक्षी दलहरूलाई गर्न कठिन हुन्छः तीव्र गतिमा जनभावना समात्ने । यसको बेतुकापनले यसलाई बुझ्न सजिलो बनायो । यसको हास्यले यसलाई साझा गर्न मिल्ने बनायो । यसको आक्रोशले यसलाई टिकाउ बनायो ।
नयाँ विपक्ष पार्टीजस्तो नदेखिन पनि सक्छ
भारतभर राजनीतिक ध्यान क्रमशः कन्टेन्ट सिर्जनाकर्ता, हास्य कलाकार, व्याख्याकार र असंयमित अन्तर्वार्ताकारहरूमार्फत सर्दैछ । समदीश भाटियाको ‘ अनफिल्टर्ड बाइ समदीश’ले राजनीतिलाई स्टुडियोको कठोरताबाट निकालेर असहज, रमाइला र भौंतारिने संवादहरूमा रूपान्तरण गर्दै दर्शक बनाएको छ । हास्य कलाकार कुणाल कामरा र वरुण ग्रोभर पनि दबाबबिचको राजनीतिक व्यंग्यका प्रतीक बनेका छन् ।
यी व्यक्तिहरू दलहरूको विकल्प होइनन् । तर उनीहरूले राजनीतिक विश्वास कहाँ सर्दैछ भन्ने देखाउँछन् । युवा पुस्ता अब प्रेस सम्मेलनको प्रतीक्षा गरिरहेको छैन । उनीहरू रील, रोस्ट, फिल्ड अन्तर्वार्ता, प्यारोडी गीत र मीम घोषणापत्र हेर्दैछन् । यो उनीहरू हल्का स्वभावका भएकाले होइन । यो त्यसैले हो कि गम्भीर राजनीतिले विश्वसनीयता गुमाएको ठाउँमा व्यंग्यले पहुँच बनाइरहेको छ ।
यसले भाजपाभन्दा विपक्षलाई बढी त्रसित बनाउनुपर्छ । भाजपासँग अझै विशाल संगठनात्मक संयन्त्र, वैचारिक स्पष्टता, कल्याण वितरण सञ्जाल र नेताकेन्द्रित ब्रान्ड छ । यसको विपरीत, विपक्ष प्रायः सत्ताविरोधी भावना भर पर्छ, तर वैकल्पिक कल्पना निर्माण गर्दैन । यसले आलोचना त दिन्छ, तर सधैँ संस्कृति होइन । यसले गठबन्धन दिन्छ, तर सधैँ ऊर्जा होइन । यसले अंकगणित दिन्छ, तर सधैँ प्रभाव होइन ।
सीजेपीको प्रतिभा अपमानलाई समुदायमा रूपान्तरण गर्नुमा छ । यसले ‘ककरोच’ भन्ने अपमानलाई लिएर शक्ति उल्ट्याउँछ । फोहोरको प्रतीक मानिएको प्राणी बाँचिरहने क्षमताको प्रतीक बन्छ । कथित आलसीहरू अत्यन्त सक्रिय अनलाइन आयोजक बन्छन् । बेरोजगारहरू राजनीतिक सञ्चारकर्मी बन्छन् । ठट्टा एउटा जमघट स्थल बन्छ ।
भारतको विपक्षका लागि सन्देश स्पष्ट छ । युवा मतदाता केवल मोदीविरुद्ध परिचालित हुन पर्खिरहेका छन् भन्ने सोच्न बन्द गर । उनीहरू विश्वसनीय रोजगारी, निष्पक्ष परीक्षा, सुलभ भविष्य, अभिव्यक्ति स्वतन्त्रता, स्वच्छ संस्था र पारिवारिक पासवर्ड बिनाको राजनीतिक प्रवेश चाहन्छन् । उनीहरू राजनीति–विरोधी होइनन्, उनीहरू बासी राजनीति–विरोधी हुन् ।
भारतका संविधान निर्मातामध्ये एक बीआर अम्बेडकरले धेरैअघि चेतावनी दिएका थिए कि लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन, ‘एक संयुक्त सञ्चारात्मक अनुभव हो … सहमानवप्रति सम्मान र श्रद्धाको दृष्टिकोण हो ।’ भाइरल ककरोच क्षणले त्यो सम्मान भत्किँदा के हुन्छ भन्ने देखाउँछ । (एनडीटीभीबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।





































