काठमाडौँ । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । निर्देशक अभिनाश विक्रम शाहको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार जित्दै नेपाललाई विश्व मञ्चमा ऐतिहासिक उपलब्धि दिलाएको छ ।
यो सफलता नेपाली चलचित्र उद्योगका लागि मात्र होइन, समग्र देशकै लागि गौरवको क्षणका रूपमा हेरिएको छ । यसअघि नै सो चलचित्र कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुने पहिलो नेपाली पूर्णलम्बाइ चलचित्र बनेको थियो । अब यसै विधाअन्तर्गत महत्वपूर्ण जुरी पुरस्कार जित्दै यसले थप इतिहास रचेको हो ।
फिल्मले नेपालको जंगल आसपास बसोबास गर्ने किन्नर समुदायको कथा प्रस्तुत गरेको छ । यसले प्रेम, जिम्मेवारी, पहिचान र अस्तित्वको संघर्षलाई गहिरो मानवीय संवेदनासहित चित्रण गरेको छ । सामाजिक र सांस्कृतिक पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस चलचित्रले अन्तर्राष्ट्रिय समीक्षकहरूको ध्यान समेत खिचेको छ ।
कान्स फिल्म फेस्टिभलको समापन समारोहमा निर्देशक शाहले नेपाली झण्डा ओढेर अवार्ड ग्रहण गरेका थिए । यस अवसरमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल पनि उपस्थित थिइन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो उपलब्धि केवल चलचित्रको जित नभई नेपाली चलचित्रका लागि ऐतिहासिक क्षण भएको उल्लेख गरेकी छन् ।
चलचित्रले कान्समा वर्ल्ड प्रिमियर गरेपछि अन्तर्राष्ट्रिय फिल्मकर्मी र समीक्षकहरूको प्रशंसा पाएको छ । बलिउड निर्देशक अनुराग कश्यपले पनि फिल्मको प्रशंसा गर्दै यसको क्लाइमेक्सलाई आफूले कान्समा हेरेको उत्कृष्ट दृश्यमध्ये एक भनेका छन् । प्रतिष्ठित हलिउड म्यागजिन ‘भेराइटी’ले पनि फिल्मबारे सकारात्मक समीक्षा प्रकाशित गर्दै ट्रान्सजेन्डर समुदाय र पहिचानको विषयलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको उल्लेख गरेको छ ।
फिल्ममा पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारी, गौरी मल्ल, माओत्से गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ । ‘एलिफेन्ट्स इन द फग’ ले जंगली हात्तीको आतंकले प्रभावित बस्ती र त्यहाँ बस्ने अल्पसंख्यक समुदायको जीवनलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ ।
यस उपलब्धिसँगै नेपाली चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ । फिल्मलाई यसै वर्ष नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































