काभा महिला भलिबलमा नेपालको पहिलो जित

काठमाण्डौ । घरेलु टोली नेपालले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै सहज जित निकाल्यो । खेलको सुरुवातदेखि नै नेपाली टोलीले आक्रामक प्रदर्शन गरेको थियो । उत्कृष्ट खेल प्रदर्शन गरेकी नेपालकी मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।

यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । भारत ५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्स भने अंकविहीन अवस्थामा समूहको पुछारमा रहेको छ ।

नेपालले पहिलो खेलमा भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हार बेहोरे पनि १ अंक जोडेको थियो । किर्गिस्तानको भने प्रतियोगितामा यो पहिलो हार हो । अब नेपालले समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । उक्त खेलमा जित निकाले नेपाल सेमिफाइनलमा पुग्नेछ । किर्गिस्तानले भने सोमवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार भएका अन्य खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । भारतले माल्दिभ्सलाई २५–९, २५–१४ र २५–१७ ले पराजित गरेको हो । यस्तै समूह ‘बी’ अन्तर्गतको खेलमा काजकिस्तानले श्रीलङ्कालाई २५–९, २५–१८ र २५–१५ ले हराएको छ ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।