कञ्चन गाउँपालिकाका विद्यार्थीलाई दिवा खाजामा ‘सुन्तला रङको शखरखण्ड’

रुपन्देही । विद्यार्थीहको पोषण सुधार एवम् दिवा खाजा सुदृढिकरण उद्देश्यले दिवा खाजामा सुन्तला रङको शखरखण्ड’ समावेश गर्न कञ्चन गाउँपालिकाले नीति ल्याएको छ ।

पौष्टिक तत्वले भरिपूर्ण तथा विटामिन ‘ए’ बढी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य, वृद्धि विकास र पढाइ क्षमतामा सकारात्मक प्रभाव पर्ने उद्देश्यले सुन्तला रङको सखरखण्ड दिवा खाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिका अध्यक्ष नवराज ढकालले बताए ।

गाउँपालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयको दिवा खाजामार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रङ्गको शखरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढाएको उनको भनाइ छ । यस्तै संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजामार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा छ ।

शुरूमा गाउँपालिका भित्र धेरै क्षेत्रफलमा खेति गर्ने ७ जना किसानलाई बाहिरबाट बीउ मगाएर खेति गर्न लगाइएको थियो । पहिलो चरणको उत्पादन वैशाख अन्तिम र जेठको पहिलो हप्तामा भएकाले अहिले विद्यार्थीलाई दिवा खाजामा दिन थालिएको गाउँपालिका अध्यक्ष नवराज ढकालले बताए ।

दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई पनि फाइदा पुग्ने उनको विश्वास छ । अहिले ७ जना किसानसंगै महिला समूह र महिला स्वयंसेविकालाई लगाउन बीउ दिइएको छ । पछि यो उत्पादनको कार्यक्रमलाई समुदाय स्तरमा पनि विस्तार गर्ने योजना नागरपालिकाको छ ।

हेलेन केलरको संस्थाको प्राविधिक सहयोगमा शुरू गरिएको सुन्तला रङ्गको शखरखण्ड बंगलादेशबाट मगाएर नेपालमा यसको खेति शुरू गरिएको परियोजना संयोजक भिमा पराजुलीले बताइन् । यो उत्पादनको खेती गर्नका लागि खेती गर्न गाउँपालिकाका १९ वटै विद्यालयका दिवा खाजा सम्पर्क शिक्षकलाई तालिम दिइएको उनले जानकारी दिइन् ।