ऊर्जा र डिजिटल प्रविधिको एक्स्पो : ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप मा आयोजना हुने भएको छ ।

नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको सन्दर्भमा सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको आयोजकले जनाएको छ ।

महासंघका अनुसार बजारमा विद्युतीय सामग्रीको माग र प्रयोग निरन्तर बढिरहेका बेला उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रदर्शनी अवलोकनकर्ताले एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रदर्शक कम्पनीका लागि पनि यो कार्यक्रम ब्रान्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिक, सम्भावित ग्राहक तथा वितरकसँग प्रत्यक्ष सम्पर्क विस्तार र नेपाली बजारको सम्भावना अध्ययन गर्ने प्रभावकारी प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रदर्शनीका सबै स्टल बुकिङ भइसकेका छन् ।

प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सर्फमर रहेको छ भने पावर बाई स्पोन्सर ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ । प्लेटिनम स्पोन्सरमा जनता केबल इन्डस्ट्रिज प्रालि, डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट ग्लोबल प्रालि तथा गोल्ड स्पोन्सरमा एसएमसी ग्लोबल प्रालि रहेका छन् ।

आयोजक समितिका अध्यक्ष दिलिपकुमार अग्रवालका अनुसार प्रदर्शनीमा उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।