महोत्तरी कालापानी क्षेत्रको बस्ती नहटाउने सहमति

काठमाडौँ । बस्ती नउठाउन स्थानीय प्रशासन सहमत भएपछि महोत्तरीको बर्दिबास–३ कालापानीका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। डिभिवन वन कार्यालय महोत्तरीले कालापानी क्षेत्रको बस्ती हटाउने सूचना जारी गरेपछि सोमबार साँझदेखि बीपी राजमार्ग अवरुद्ध गरेर स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सरकारी अधिकारी र स्थानीय संघर्ष समितिबिच कालापानी क्षेत्रको बस्ती नउठाउने सहमति भएको हो। सहमतीसँगै स्थानीयले मंगलबार साँझदेखि बीपी राजमार्गको अवरोध हटाएका छन्। स्थानीयवासीको आन्दोलनको अगुवाई गर्दै आएका गणेश बस्नेतले आफूहरुको मागअनुसार बस्ती नउठाउन स्थानीय प्रशासन सहमत भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

‘हामीसँगको छलफलमा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले आफूबाट गल्ती भएको भन्दै माफी माग्नु भयो,’ बस्नेतले भने, ‘स्थानीय पालिका र भूमि आयोगले नापनक्सा गरेको जग्गाको सम्बन्धमा स्थानीय तहसँग समन्वय गरेर मात्रै अघि बढ्ने प्रतिवद्धता सीडीओबाट आएपछि हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौँ। त्यही अनुसार लिखित सहमति भएको छ।’ वन कार्यालयले खाली गर्न भन्दै सूचना जारी गरेको कालापानी क्षेत्रको जग्गाको अघिल्लो स्थानीय सरकारले नापनक्सा गरेको थियो।

सो जग्गा भूमि आयोगले पनि नापनक्सा गरेको जग्गा हो। ‘पूर्जाको पक्रियामा रहेको जग्गा यो हो,’ स्थानीयवासीसमेत रहेका बस्नेतले भने, ‘यहाँ पचासौँ वर्षदेखि स्थानीय बस्दै आएका छन्। यो जग्गाको बसोबासको रेकर्ड स्थानीय पालिका र भूमि आयोग सबैसँग छ।’ उनले कालापानी क्षेत्रमा मात्रै अव्यवस्थित बसोबासी परिवारको संख्या साढे चारसय रहेको बताए। बर्दिवास नगरपालिका क्षेत्रमा अव्यवस्थित बसोबास गर्ने परिवारको संख्या १० हजार भन्दा धेरै छ।

डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए। स्थानीयको अवरोधको कारण कालापानी क्षेत्रमा सोमबार साँझ पाँचबजेदेखि नै यातायात अवरुद्ध थियो। आज दिनभरि पनि अवरुद्ध सडक सहमतिसँगै खुलेको छ। प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि गयराति स्थानीयले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगोसमेत लगाएका थिए।

वार्तामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना, बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री, डिभिजन वन कार्यालयका प्रमुख मिश्र, संघर्ष समितिका पदाधिकारी र स्थानीयवासी सहभागी थिए। सहमतिपछि बर्दिबासका मेयर क्षेत्रीले भूमिहिन, अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधानको निम्ति आफू लागिपर्ने र उनीहरुको सुरक्षित बासस्थान सुनिश्चित गर्न आफू सधैँ नागरिककै पक्षमा उभिने प्रतिवद्धता जनाएका छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।