गुजरात टाइटन्स आईपीएल फाइनलमा, उपाधिका लागि आरसीबीसँग भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । न्यु चण्डीगढमा भएको रोमाञ्चक खेलमा राजस्थानले दिएको २१५ रनको विशाल लक्ष्य गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्‍यो ।

गुजरातका कप्तान शुभमन गिलले उत्कृष्ट शतक प्रहार गर्दै ५३ बलमा १०४ रनको विस्फोटक इनिङ खेले । उनले १५ चौका र ३ छक्का प्रहार गरे। ओपनर साई सुदर्शनले पनि उत्कृष्ट साथ दिँदै ३२ बलमा ५८ रन बनाए । पहिलो विकेटका लागि गिल र सुदर्शनबीच १६७ रनको महत्वपूर्ण साझेदारी भयो, जसले खेलको दिशा नै परिवर्तन गरिदियो ।

मध्यक्रममा वासिङ्टन सुन्दर १६ रनमा आउट भए भने जोस बटलर ९ रन र राहुल तेवातिया १७ रनमा अविजित रहे । बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र ब्रिजेश शर्माले समान १–१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रनको बलियो योगफल खडा गरेको थियो । राजस्थानका लागि युवा ब्याटर वैभव सूर्यवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ९६ रन बनाए । उनी शतक नजिक पुगेर मात्र ४ रनले चुके ।

मध्यक्रममा कप्तान रियान पराग ११ रनमा आउट हुँदा डोनोभन फरेराले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३८ रनको योगदान दिए । अनुभवी ब्याटर रविन्द्र जडेजाले संयमित ४५ रन बनाएर नट आउट रहे ।
गुजरातका बलरहरूले महत्वपूर्ण समयमा विकेट निकाल्दै खेललाई नियन्त्रणमा लिएका थिए । कागिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए भने मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले १–१ विकेट आफ्नो नाममा लेखाए ।

यस जितसँगै गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ, जहाँ उसले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसीबीसँग पराजित भएको गुजरातले दोस्रो मौका सदुपयोग गर्दै फाइनल यात्रा तय गरेको हो ।

गुजरात टाइटन्स सन् २०२२ को आईपीएल विजेता टोली हो र सन् २०२३ मा पनि उपाधि नजिक पुगेको थियो । यस पटक पनि गिलको कप्तानीमा टोलीले पुनः उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा प्रवेश गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।