काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली आगामी एसियन गेम्सका लागि छनोट भएको छ । एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया दुवै टोलीले प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगितामा सात टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ भने सेमिफाइनल पुग्ने चारवटै टोलीले एसियन गेम्समा सहभागिता जनाउने अवसर पाउने व्यवस्था छ ।
नेपाल रहेको समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार थिए । तर कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र बाँकी रहेका थिए । नेपालले यसअघि नै चीनलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेको थियो । त्यसपछि मंगलबार मलेसियाले चीनलाई फराकिलो अन्तरले हराएसँगै समूहमा शीर्ष दुई स्थान पक्का भएको हो र नेपाल तथा मलेसिया दुवै टोली एसियन गेम्सका लागि छनोट भएका हुन् ।
मलेसियाले चीनलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो। चीनले दिएको सानो लक्ष्य मलेसियाले केही ओभरमै पूरा गरेको थियो । यसअघि नेपालले पनि चीनमाथि फराकिलो जित हासिल गर्दै बलियो सुरुआत गरेको थियो ।
अब समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया बिहीबार आमनेसामने हुनेछन् । सो खेलले समूह विजेता को हुने भन्ने टुंगो लगाउनेछ । दुवै टोलीले एसियन गेम्सका लागि स्थान सुरक्षित गरिसकेकाले उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
यससँगै नेपाली पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगितामा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ । एसियन गेम्स आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने तय भएको छ ।
यसैबीच, यसअघि नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित हुँदै एसियन गेम्सका लागि छनोट हुन असफल भएको थियो। पुरुष टोलीको सफलतासँगै नेपालले क्रिकेटतर्फ पुनः अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































