महिला क्रिकेट विकासतर्फ आईसीसीको ठूलो कदम, नयाँ प्रतियोगिता ढाँचा सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला क्रिकेटसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै प्रतियोगिता संरचना, छनोट प्रक्रिया तथा विकास योजनामा व्यापक परिवर्तन गरेको छ ।

आईसीसी बोर्डले महिला इमर्जिङ नेसन्स ट्रफी २०२६ मा १० राष्ट्र सहभागी हुने निर्णय गरेको छ । प्रतियोगितामा पाँच पूर्ण सदस्य राष्ट्र र पाँच एसोसिएट सदस्य राष्ट्र रहनेछन् । टोली छनोट विश्व वरीयता र अघिल्लो महिला टी–२० विश्वकप छनोट प्रदर्शनका आधारमा गरिनेछ । यसअघि सन् २०२५ मा भएको संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, आईसीसीले महिला च्याम्पियन्स ट्रफी २०२७ को समयतालिका परिवर्तन गरेको छ । पहिले जुन–जुलाईमा आयोजना हुने भनिएको प्रतियोगिता अब १४ फेब्रुअरीदेखि २८ फेब्रुअरी २०२७ सम्म सञ्चालन हुनेछ ।
बैठकले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को आयोजनामा हुने महिला टी–२० विश्वकप २०२८ को छनोट संरचना पनि अनुमोदन गरेको छ। १२ टोली सहभागी हुने यस प्रतियोगितामा १० टोलीले स्वतः स्थान पाउनेछन् ।

यसमा सन् २०२६ को महिला टी–२० विश्वकपका शीर्ष आठ टोली, आयोजक राष्ट्र (यदि पहिले नै छनोट नभएको भए) र ६ जुलाई २०२६ सम्मको आईसीसी महिला टी–२० आई वरीयताका आधारमा उत्कृष्ट टोलीहरू समावेश हुनेछन् ।

बाँकी दुई स्थान १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरमार्फत तय गरिनेछ, जुन क्षेत्रीय छनोट प्रतियोगितामा आधारित हुनेछ । क्षेत्रीय कोटासम्बन्धी अन्तिम निर्णय आगामी जुलाईमा हुने आईसीसी बैठकले गर्नेछ ।
आईसीसीले जारी गरेको विज्ञप्तिअनुसार यी निर्णयहरू महिला क्रिकेटको विश्वव्यापी संरचना बलियो बनाउने, प्रतिस्पर्धा बढाउने र विकासलाई तीव्र बनाउने उद्देश्यका साथ गरिएको हो ।

बैठकमा आईसीसी अध्यक्ष जय शाहले भनेका छन्, “अहमदाबादमा भएको छलफलले क्रिकेटको शासन, प्रशासन र विश्वव्यापी विकासप्रति हाम्रो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । महिला क्रिकेटदेखि विकासमूलक प्रतियोगिता र फ्रेन्चाइज संरचनासम्मका निर्णयहरूले खेललाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउनेछन् ।”

यसैबीच, आईसीसीले पुरुष क्रिकेटसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । यसमा पुरुष टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर मार्गको प्रारम्भिक स्वीकृति, लिग खेल्ने टोलीहरूलाई अन्य लिस्ट ए खेल खेल्न दिने व्यवस्था, तथा खराब प्रकाशका कारण प्रभावित हुने टेस्ट खेलमा गुलाबी बल प्रयोग गर्ने परीक्षण अनुमति समावेश छन।

खेल नियमहरूमा पनि सुधार गरिएको छ । अब टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ मिनेटको अनिवार्य अन्तर राखिनेछ, खेल पुनः सुरु हुँदा ब्याट्सम्यान तयार हुनुपर्नेछ, तथा लेगसाइड वाइडसम्बन्धी ट्रायललाई स्थायी बनाइनेछ । साथै, अक्टोबर १, २०२६ देखि लागू हुने गरी एमसीसी (मेरिलबोन क्रिकेट क्लब) का बाँकी नियम परिवर्तनहरू पनि स्वीकार गरिएको छ ।

यसैबीच, आईसीसीले क्रिकेट क्यानडालाई सदस्यताबाट तत्काल निलम्बन गरेको छ । संस्थाले सदस्यता दायित्वको गम्भीर उल्लङ्घन भएको कारण यस्तो निर्णय गरिएको जनाएको छ । तर निलम्बन अवधिमा पनि क्यानडाका खेलाडी तथा राष्ट्रिय टोलीहरूलाई आईसीसी प्रतियोगितामा सहभागी हुन अनुमति दिइनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।