काठमाडौँ । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शुक्रबार प्रधानमन्त्री समक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको समिति अध्यक्ष अच्युतप्रसाद भण्डारीले बताए । समितिलाई पाँच दिन थपिएको म्याद आइतबार सकिने भए पनि त्यसअघिनै प्रतिवेदन बुझाइएको हो।
सुधन गुरुङको विषयमा समितिको प्रतिवेदन प्रमाणबाहेक ४५ पृष्ठको छ । दुई प्रति प्रतिवेदन बुझाएको हो। त्यसबाहेक प्रमाणहरू पनि प्रतिवेदनसाथ संलग्न गरिएको छ । जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको पाइएपछि त्यसको प्रमाण पनि समितिले प्रतिवेदनसँगै बुझाएको छ । रेमिट्यान्स र सापट लिएको भनिएको विषयमा पनि समितिले छानबिन गरेको छ । आयव्ययको रिपोर्ट, सुनको विषय, सुधनको कुन–कुन कम्पनीमा लगानी छ, कसरी लगानी गरे, रकम कहाँबाट ल्याए भन्ने विषयमा पनि समितिले विस्तृतमा छानबिन गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘सुधन गुरुङको विषयमा जे–जे बाहिर प्रश्न उठेका थिए, ती सबै विषय प्रतिवेदनमा समेटिएको छ। हामीले जे देख्यौँ त्यहीँ उल्लेख गरेका छौँ । प्रतिवेदन पनि सार्वजनिक गरिदिनुहोस् भनेका छौँ’, अध्यक्ष भण्डारीले भने । सम्पत्ति विवरण सार्वजनिक गरेसँगै तत्कालीन गृहमन्त्री गुरुङ विभिन्न विषयमा विवादमा तानिएका थिए ।
हदबन्दीभन्दा बढी जग्गा, पोखराको फेवातालमा मिचिएको सरकारी जग्गा भाडामा लिएको र भाडा विवाद, सुन, व्यवसायी दीपक भट्टसँग कम्पनीमा रहेको सेयरलगायत विषयमा छानबिन गर्न समितिलाई भनिएको थियो । यी विषयमा समितिले पूर्वगृहमन्त्री गुरुङको बयान लिएको थियो ।
गुरुङमाथि छानबिन गर्न वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् । विवादमा तानिएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए। चैत १३ गते गृहमन्त्री भएका गुरुङ एक महिना नपुग्दै राजीनामा दिए पनि गृह मन्त्रालयको जिम्मेवारी बालेनसँगै छ ।
सुधनलाई नै फेरि फर्काउने चर्चा पनि छ । विपक्षी दलहरूले भने यो समितिलाई ‘सरकारी बचाउ समिति’ भन्दै प्रतिवेदन संसद्मा टेबल गर्न दबाब दिन थालेका छन् । अबको केही दिनमा प्रधानमन्त्री शाहले यो प्रतिवेदन मन्त्रिपरिषद्मा लैजाने र गुरुङको पुनः नियुक्तिबारे अन्तिम निर्णय लिने बुझिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।































