काठमाडौँ । फुटबल खेललाई अझ छिटो, व्यवस्थित र समय खेर नफाल्ने बनाउने उद्देश्यले फिफा विश्वकप २०२६ देखि नयाँ नियमहरू लागू हुने भएका छन् । यी नियमहरू यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डको १४०औँ वार्षिक बैठकमा पारित गरिएको थियो र अब विश्वकपदेखि आधिकारिक रूपमा लागू हुनेछन् ।
नयाँ नियमअनुसार खेलको गति बढाउन थ्रो–इन र गोल–किकमा ढिलाइ गर्न पाइने छैन । थ्रो–इनका क्रममा खेलाडीले समय खेर फालेमा रेफ्रीले पाँच सेकेन्डको उल्टो गणना गर्नेछन् । यदि निर्धारित समयमा थ्रो–इन नभएमा निर्णय रद्द गरी विपक्षी टोलीलाई बलको अवसर दिइनेछ ।
त्यस्तै, गोल–किकमा पनि ढिलाइ भए पाँच सेकेन्डपछि विपक्षी टोलीलाई सिधै कर्नर किक दिने व्यवस्था गरिएको छ । यसले खेलमा अनावश्यक समय खर्च हुने अवस्थालाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
चोट लागेका खेलाडीको उपचार प्रक्रियामा पनि कडाइ गरिएको छ । मैदानमै प्रारम्भिक उपचार (फिजियोथेरापी) लिएपछि खेलाडी कम्तीमा एक मिनेट मैदान बाहिर बस्नुपर्नेछ, जसले खेल रोकिएर हुने समय खेर जान कम गर्नेछ ।
खेलाडी परिवर्तन (सबस्टीट्युसन) सम्बन्धी नियम पनि कडा बनाइएको छ । रेफ्रीले संकेत दिएको १० सेकेन्डभित्र खेलाडी मैदानभित्र प्रवेश गर्ने र बाहिरिने प्रक्रिया पूरा गर्नुपर्नेछ । यदि यस समयसीमा पालना नभए सम्बन्धित टोलीले ६० सेकेन्डसम्म १० खेलाडीमा खेल्नुपर्ने व्यवस्था लागू हुनेछ ।
भिडियो सहायक रेफ्री प्रणालीमा पनि सुधार गरिएको छ । अब गलत तरिकाले दिइएको दोस्रो पहेंलो कार्डबाट भएको रातो कार्डको निर्णय पुनः समीक्षा गर्न सकिनेछ, जसले निर्णयलाई अझ न्यायपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, ड्रप बल सम्बन्धी नियम पनि संशोधन गरिएको छ । यदि ड्रप बलपछि खेल रोकिएन भने बलको नियन्त्रण जसको पक्षमा हुन्छ, त्यही टोलीले खेल जारी राख्न पाउनेछ ।
फिफाले यी सबै परिवर्तनको मुख्य उद्देश्य खेललाई छिटो, पारदर्शी र कम समय बर्बाद हुने बनाउनु रहेको जनाएको छ । विश्वकप २०२६ देखि लागू हुने यी नियमहरूले आधुनिक फुटबललाई अझ व्यवस्थित र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।































