काठमाडौं । नेपालमा पहिलो पटक विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड जेडब्ल्यू म्यारियट सञ्चालनमा आउने भएको छ ।
क्यापिटल होटेल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएसँगै काठमाडौंमा यो प्रतिष्ठित ब्रान्ड भित्रिने निश्चित भएको हो।
एमएस ग्रुपअन्तर्गतको क्यापिटल होटेल एन्ड हस्पिटालिटी लिमिटेडले म्यारियट इन्टरनेसनलसँग गरेको यो सहकार्य नेपालको लक्जरी हस्पिटालिटी क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो दुई कम्पनीबीचको चौथो साझेदारीसमेत हो।
सम्झौताअनुसार जेडब्ल्यू म्यारियट होटल काठमाडौं उपत्यकामा निर्माण हुनेछ, जसको सञ्चालन सन् २०३१ को प्रारम्भमा गर्ने लक्ष्य राखिएको छ। होटलमा २२१ वटा विलासी अतिथिकक्ष रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेट दूरीमा रहने यो होटलले काठमाडौंका प्रमुख सांस्कृतिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमा सहज पहुँच प्रदान गर्नेछ।
विशेषगरी युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको नजिक रहने भएकाले यो होटल विदेशी तथा स्वदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यसले नेपालमा लक्जरी पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।
होटलमा अन्तर्राष्ट्रियस्तरका रेस्टुरेन्ट, अत्याधुनिक स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुल, जेडब्ल्यू गार्डेन तथा १६०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको सम्मेलन तथा कार्यक्रम हल रहनेछ। व्यापारिक बैठक, अन्तर्राष्ट्रिय सम्मेलन, विवाह समारोह तथा अन्य विशेष कार्यक्रमका लागि आवश्यक सबै सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
सम्झौतामा क्यापिटल होटेल एन्ड हस्पिटालिटी लिमिटेडका सञ्चालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट इन्टरनेसनल एसिया–प्यासिफिक (चीनबाहेक) का अध्यक्ष राज मेननले हस्ताक्षर गरेका हुन्। त्यस अवसरमा थप समझदारीपत्र आदानप्रदानसमेत गरिएको थियो।
सम्झौतापछि क्यापिटल होटेलका प्रबन्ध निर्देशक गौरव अग्रवालले म्यारियटसँग पुनः सहकार्य गर्न पाउनु संस्थाका लागि गर्वको विषय भएको बताए। उनले यो परियोजनाले नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
उनका अनुसार नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई विश्वसामु चिनाउने उद्देश्यका साथ परियोजना अघि बढाइएको हो। उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको लक्जरी होटल विकास गर्ने प्रतिबद्धता दोहोर्याउँदै उत्कृष्ट सेवा र अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए।
विश्वकै अग्रणी होटल ब्रान्डमध्ये एक म्यारियट इन्टरनेसनल हाल १४६ देश तथा क्षेत्रमा ९,९०० भन्दा बढी सम्पत्ति सञ्चालन गरिरहेको छ। लक्जरीदेखि मिडस्केल र एक्सटेन्डेड स्टे श्रेणीसम्मका होटल सञ्चालन गर्दै आएको म्यारियटको यो प्रवेशले नेपालमा अन्तर्राष्ट्रिय पर्यटन पूर्वाधार थप मजबुत हुने अपेक्षा गरिएको छ।
जेडब्ल्यू म्यारियटको आगमनसँगै नेपालमा लक्जरी पर्यटनको नयाँ युग सुरु हुने, विदेशी लगानी आकर्षण बढ्ने तथा रोजगारीका अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। साथै, यसले नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
































