हस्तक्षेप नरोकिए नेपाल फुटबल निलम्बन हुने फिफा–एएफसीको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको सरकारी तथा बाह्य हस्तक्षेप तत्काल नरोकिने हो भने नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्ने गम्भीर चेतावनी दिएका छन् ।

फिफा र एएफसीले संयुक्त रूपमा एन्फाका महासचिव किरण राईमार्फत पठाएको पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै कडा आपत्ति जनाइएको छ। राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत १२ गते गरिएको अन्य निर्णयहरू अझै फिर्ता नभएको उनीहरूको भनाइ छ ।

उक्त निर्णयहरूमा एन्फालाई निर्वाचन प्रक्रिया रोक्न, विधान संशोधन गर्न तथा जिल्ला संघहरूको चुनाव गराउन निर्देशन दिइएको थियो, जसलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ भन्दै एन्फाको स्वायत्ततामाथि गम्भीर असर पर्ने कदम भएको ठहर गरेका छन् ।

फिफा र एएफसीले राखेपसँग ११ जुन २०२६ भित्र चित्तबुझ्दो लिखित प्रतिबद्धता माग गरेका छन् । उक्त प्रतिबद्धतामा २५ मार्च २०२६ का सबै विवादित निर्णय पूर्ण रूपमा खारेज गरिएको र एन्फाले कुनै हस्तक्षेप बिना स्वतन्त्र रूपमा निर्वाचन प्रक्रिया अघि बढाउन सक्ने स्पष्ट उल्लेख हुनुपर्ने पत्रमा भनिएको छ ।

यदि तोकिएको समयसीमाभित्र सन्तोषजनक जवाफ नआएमा नेपाललाई तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न मुद्दा फिफा काउन्सिलमा लैजाने चेतावनी पनि दिइएको छ । फिफा र एएफसीले यसअघि भएका विभिन्न पत्राचारहरूको स्मरण गराउँदै नेपाली फुटबलको स्वायत्तता सुनिश्चित गर्न पटक–पटक आग्रह गरिसकेको उल्लेख गरेका छन् । साथै, संयुक्त बैठकमार्फत समाधान खोज्ने राखेपको प्रस्तावलाई पनि अस्वीकार गर्दै पहिले सबै हस्तक्षेपकारी निर्णय पूर्ण रूपमा फिर्ता हुनुपर्ने अडान लिएका छन् ।

पत्रमा नेपालमा भइरहेको प्रशासनिक तथा राजनीतिक हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समयमै समस्या समाधान नभए नेपाली फुटबल लामो समय अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्न सक्ने चेतावनी दिइएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।