काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलबाट बाहिरिँदै आगामी एसिया कपमा छनोट हुन असफल भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा बुधबार भएको निर्णायक खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भएको हो ।
सेमिफाइनल प्रवेशसँगै एसिया कपको टिकट सुरक्षित हुने समीकरणमा रहेको नेपालले १३१ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ प्रदर्शन गर्यो । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले ७४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुवीना क्षेत्रीले २३ बलमा तीन चौकासहित अविजित २० रन बनाइन्। सोनी पाख्रिनले १५, सीता रानामगरले अविजित १२ तथा सम्झना खड्काले १२ रन जोडिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको सुरुआत नै खराब रह्यो। ओपनर रुबी पोद्दार शून्य रनमा आउट हुँदा पूजा महतो २, कविता कुँवर १, कप्तान इन्दु बर्मा ७ तथा कविता जोशी ४ रनमा आउट भइन्। लगातार विकेट झर्दा नेपालले कुनै पनि समयमा इनिङ्स सम्हाल्न सकेन ।
सीता रानामगर र रुवीना क्षेत्रीले सातौं विकेटका लागि ३० रनको अविजित साझेदारी गरे पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । थाइल्यान्डका लागि थिपात्चा पुथावङ, सुनिदा चातुरोङ्रात्तना र सुलिपोर्न लाओमीले समान २–२ विकेट लिए भने फान्निता मायाले १ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। थाइल्यान्डका लागि विकेटकिपर ब्याटर नानापत कोन्चारोएन्काइले ५१ बलमा ६ चौकासहित अविजित ६२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। फान्निता मायाले २६ तथा चनिदा सुथिरुवाङले १६ रनको योगदान दिए ।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुवीना क्षेत्रीले समान १–१ विकेट लिए । थाइल्यान्डविरुद्ध नेपालको यो लगातार नवौं हार हो। नेपालले सन् २०१९ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन ।
योसँगै नेपाली महिला टोली लगातार दोस्रो ठूलो प्रतियोगिताको छनोटमा असफल भएको छ। यसअघि यही मलेसियामा सम्पन्न एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग पराजित हुँदै नेपाल जापानमा हुने एसियाली खेलकुदमा पनि छनोट हुन सकेको थिएन ।
उता, थाइल्यान्ड सेमिफाइनलसँगै एसिया कपमा छनोट भएको छ। बुधबार नै सम्पन्न अर्को क्वार्टरफाइनलमा हङकङले जापानलाई ४१ रनले हराउँदै सेमिफाइनल प्रवेशसँगै एसिया कपको स्थान सुरक्षित गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





























