अन्तर्राष्ट्रिय नवप्रवर्तन पुरस्कार २०२६ मा कुमारी बैंक प्लाटिनम सम्मानित

काठमाडौँ । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल नवप्रवर्तन पुरस्कार २०२६’ अन्तर्गत व्यावसायिक नमूना नवप्रवर्तन विधामा प्लाटिनम सम्मान प्राप्त गरेको छ ।

बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन कार्यप्रवाह प्रणाली सम्बन्धी उल्लेखनीय पहलका लागि उक्त सम्मान प्रदान गरिएको हो । इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यो पुरस्कार कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले गरेका उत्कृष्ट नवप्रवर्तन तथा रूपान्तरण अभ्यासलाई सम्मान गर्न सञ्चालन हुँदै आएको छ ।

यस वर्ष नौ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए । तीमध्ये कुमारी बैंकले आफ्नो ग्राहक पहिचान तथा अनुपालन कार्यप्रवाह प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्लाटिनम सम्मान हासिल गरेको हो । उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको प्रभावकारी पालना गर्न सहयोग पुर्‍याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आधुनिक डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी, भरपर्दो र ग्राहकमैत्री बनाउन उक्त प्रणाली प्रभावकारी साबित भएको छ। यसले ग्राहक विवरण अद्यावधिक गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै बैंकिङ सेवाको गुणस्तर अभिवृद्धिमा पनि योगदान पुर्‍याएको छ ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाएको छ । बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा विस्तार गर्दै ग्राहकलाई थप सहज, गुणस्तरीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।