शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौं। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

उनका अनुसार यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो। प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा केही कमी भए पनि रकमका हिसाबले करिब सात अर्ब रुपैयाँले वृद्धि भएको उनले बताए।

मन्त्री पोखरेलले विद्यालय शिक्षाका लागि सबैभन्दा बढी ६९.४९ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिँदै उच्च शिक्षामा ११.०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षामा २.५६ प्रतिशत, खेलकुदमा १.७४ प्रतिशत र व्यवस्थापनतर्फ १५.१७ प्रतिशत बजेट छुट्याइएको बताए।

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान गर्न १ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए। साथै प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ।

आगामी वर्ष ७ हजार ६६० जनालाई बजार मागअनुसार सीप विकास तालिम प्रदान गर्ने, एसईई परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेश तहमा हस्तान्तरण गर्न ३५ करोड रुपैयाँ विनियोजन गरिएको तथा विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत शिक्षक तालिम र भौतिक पूर्वाधारका लागि छुट्टै बजेट व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।

उनले अपाङ्गता भएका बालबालिकाका लागि आवासीय छात्रवृत्ति, प्रत्येक प्रदेशमा पूर्वाधारयुक्त आवासीय विद्यालय सञ्चालन, डिजिटल पाठ्यपुस्तक, सूचना प्रविधिमा आधारित शिक्षा तथा बजारमुखी शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताए।

खेलकुदतर्फ राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले खेलाडीको मनोबल उच्च बनाउने नीति सरकारले लिएको स्पष्ट पारे।