आज रास्वपाको पहिलो अधिवेशन

काठमाडौँ । आज आइतबार रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । पहिलो महाधिवेशनअघि बसेको केन्द्रीय समितिले संशोधित विधान पारित गरेको गरिसकेको छ ।

जसमा १५१ प्लस ७ जना रहनेगरी केन्द्रीय समिति बनाउने विधानमा व्यवस्था रहेको प्रवक्ता मनिष झाले जानकारी गराए । सभापतिले ५० जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने गरी व्यवस्था गरिएको छ । संशोधन हुनुअघि २२ जना केन्द्रीय सदस्यमा सभापतिलाई मनोनीत गर्ने अधिकार थियो ।

केन्द्रीय सदस्यमा १०० जना निर्वाचनबाट चुनिने छन् । केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य हुने छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको झाले जानकारी दिएका छन् । ‘रास्वपाको साधारण सदस्यता अहिलेसम्म पाँच लाख नाघिसकेको महामन्त्री तथा हाम्रो संगठन विभागबाट प्राप्त भएको छ,’ प्रवक्ता झाले भने । यस्तै, ४ हजार ६३ वडामा पार्टीको वडा अधिवेशन भएर त्यहाँबाट प्रतिनिधित्व हुँदै केन्द्रीय महाधिवेशनसम्म पुगेको उनले बताए ।

उनका अनुसार केन्द्रीय महाधिवेशनअघि देशभरका ७५३ मध्ये ६१० पालिकाका अधिवेशन सम्पन्न भएका छन् । यस्तै १६५ निर्वाचन क्षेत्रमध्ये १०० वटामा क्षेत्रीय अधिवेशन र ७७ जिल्लामध्ये ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए । १३ वटा जिल्लाबाट तदर्थ समितिकै तर्फबाट महाधिवेशनमा सहभागिता भइरहेको उनले बताए ।

यस्तै, ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सकिएको उनले जानकारी दिए । ‘मधेश प्रदेशको केही प्राविधिक कारणले बाँकी रह्यो । सहभागिता सन्तुलित छ,’ उनले भने । महाधिवेशनमा हालसम्म ३९१८ जना महाधिवेशन प्रतिनिधि दर्ता हुन आएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनका लागि प्रतिनिधिबाट उल्लेखनीय रकम संकलन गरेको छ । पार्टीले महाधिवेशन प्रतिनिधि शुल्कस्वरूप प्रति व्यक्ति पाँच हजार रुपैयाँ तोकेकोमा हालसम्म झण्डै दुई करोड रुपैयाँ संकलन भइसकेको जनाएको छ ।

महाधिवेशन प्रतिनिधिसम्बन्धी उपसमितिकी संयोजक लीमा अधिकारीका अनुसार शनिबार अपराह्नसम्म तीन हजार ९९० प्रतिनिधिले शुल्क बुझाइसकेका छन् । अधिकारीले संकलित प्रतिनिधिको विवरण निर्वाचन आयोगसमक्ष पेश गरिसकिएको र अहिले त्यसको रुजु प्रक्रिया चलिरहेको जानकारी दिइन्। हालसम्म उठेको रकम एक करोड ९९ लाख ५० हजार रुपैयाँ पुगेको छ । प्रतिनिधि थपिने क्रम जारी रहेकाले कुल रकम अझ बढ्ने अपेक्षा गरिएको छ । पार्टी स्रोतका अनुसार महाधिवेशनमा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । देशभरबाट प्रतिनिधि आउने क्रम तीव्र बनेको छ भने पार्टीका केन्द्रीय नेताहरू पनि महाधिवेशनस्थल पुगिसकेका छन् । महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने तय गरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । हालको राजनीतिक परिस्थितिमा रास्वपाको भूमिका र भविष्यको रणनीतिबारे पनि गहन छलफल हुने जनाइएको छ ।

पार्टीभित्र संगठन सुदृढीकरण, नीति निर्माण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयहरू प्राथमिकतामा पर्ने बताइएको छ । पार्टीले प्रतिनिधिबाट शुल्क संकलन गरेर महाधिवेशन सञ्चालन खर्च व्यवस्थापन गर्ने अभ्यासलाई पारदर्शिता र आत्मनिर्भरता सँग जोडेर प्रस्तुत गरेको छ । अन्य दलहरूको तुलनामा फरक ढंगले आर्थिक स्रोत जुटाउने प्रयासका रूपमा यसलाई लिइएको छ । यद्यपि, यस विषयमा विभिन्न कोणबाट बहस हुने सम्भावना पनि देखिएको छ ।

चितवनमा हुने महाधिवेशनलाई रास्वपाले आफ्नो संगठनात्मक इतिहासको महत्वपूर्ण मोडका रूपमा लिएको छ । नयाँ नेतृत्व चयनसँगै पार्टीले आगामी निर्वाचन र राजनीतिक यात्रालाई कसरी अघि बढाउने भन्ने स्पष्ट खाका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।