ब्राजिलको पुनरागमन, मोरक्कोको दबदबा र अमेरिकाको नकआउट यात्रा

काठमाण्डौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान सम्पन्न खेलहरूले समूह ‘सी’ र ‘डी’ को समीकरणलाई निकै रोचक बनाएका छन् ।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले हाइटीमाथि सहज जित निकाल्दै पुनरागमन गरेको छ भने मोरक्कोले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ । यता सह–आयोजक अमेरिका लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने पहिलो टोलीमध्ये एक बनेको छ भने पाराग्वेले टर्कीलाई हराएर आफ्नो सम्भावना जीवित राखेको छ ।

समूह ‘सी’ अन्तर्गत फिलाडेल्फियामा भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्यो । पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरीमा रोकिएपछि आलोचना खेपिरहेको प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले यसपटक उत्कृष्ट प्रदर्शन गर्यो ।

ब्राजिलका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हा नायक बने । उनले खेलको २३औं र ३६औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । पहिलो गोलमा हाइटीका डिफेन्डरको क्लियर गर्ने प्रयास कुन्हामा लागेर गोलमा परिणत भएको थियो भने दोस्रो गोल भिनिसियस जुनियरको उत्कृष्ट पासमा सम्भव भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा लुकास पाक्वेटाको लामो पासलाई सदुपयोग गर्दै भिनिसियस जुनियरले तेस्रो गोल थपे । रियल मड्रिडका स्टार फरवार्ड भिनिसियसको यो प्रतियोगिताको दोस्रो गोल हो । दोस्रो हाफमा पनि ब्राजिलले खेल नियन्त्रणमा राख्यो । एन्ड्रिकले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। हाइटीले केही अवसर सिर्जना गरे पनि ब्राजिलका गोलरक्षक एलिसनलाई खासै चुनौती दिन सकेन ।

यद्यपि जितका बीच ब्राजिलले एउटा नराम्रो समाचार पनि पायो। बार्सिलोनाका विंगर राफिन्हा पहिलो हाफमै चोटका कारण मैदानबाट बाहिरिए। आगामी खेलअघि उनको अवस्थाबारे चिन्ता बढेको छ । यो जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । समान चार अंक भए पनि गोलअन्तरका आधारमा मोरक्को दोस्रो स्थानमा छ । स्कटल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ भने लगातार दोस्रो हार बेहोरेको हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

यसअघि बोस्टनमा सम्पन्न अर्को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको थियो । खेल सुरु भएको केवल ७१ सेकेन्डमै इस्माइल साइबारीले गरेको गोल निर्णायक बन्यो । ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै साइबारीले गरेको प्रहार स्कटल्यान्डका गोलरक्षक एंगस गनलाई निरिह बनाउँदै जाली चुमेको थियो । साइबारीको गोल यस विश्वकपकै अहिलेसम्मको सबैभन्दा छिटो गोल बनेको छ । साथै यो मोरक्कोको विश्वकप इतिहासकै सबैभन्दा छिटो गोलका रूपमा पनि दर्ज भएको छ ।

खेलभरि मोरक्कोले दबाब कायम राखे पनि दोस्रो गोल गर्न सकेन । बिलाल एल खानौस र अचराफ हाकिमीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि स्कोरलाइन परिवर्तन भएन । खेलको अन्तिम चरणमा स्कटल्यान्डले बराबरीका लागि लगातार प्रयास गरेको थियो । जोन म्याकगिन, बेन डोआक र स्कट म्याकटोमिनेले अवसर पाए पनि मोरक्कोको रक्षापंक्ति मजबुत रह्यो ।

मोरक्कोको दुई खेलबाट चार अंक भएको छ । अन्तिम खेलमा उसले हाइटीको सामना गर्नेछ । तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी भएकाले मोरक्कोसँग समूह विजेता बन्ने राम्रो अवसर छ । समूह ‘डी’ मा सह–आयोजक अमेरिकाले घरेलु समर्थकको साथमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । सिएटलमा सम्पन्न खेलमा अमेरिकाले सुरुदेखि नै दबाब बनाएको थियो ।

खेलको ११औं मिनेटमा फोलारिन बालोगुनको क्रस क्लियर गर्ने क्रममा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आफ्नै पोस्टमा गोल गरेपछि अमेरिका अग्रतामा पुगेको थियो । त्यसपछि ४३औं मिनेटमा युवा खेलाडी एलेक्स फ्रिम्यानले हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

सुरुमा अफसाइड भनिएको उक्त गोल भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को जाँचपछि मान्य भएको थियो । क्रिस्टियन पुलिसिच चोटका कारण अनुपस्थित भए पनि अमेरिकाले त्यसको कमी महसुस हुन दिएन ।
दोस्रो हाफमा अष्ट्रेलियाले केही अवसर सिर्जना गर्यो। विशेष गरी युवा खेलाडी नेस्टोरी इरानकुन्डा मैदान प्रवेश गरेपछि टोलीको खेलमा सुधार देखिएको थियो । तर गोल गर्न नसक्दा अष्ट्रेलियाले हार बेहोर्नुपर्यो ।

यो जितसँगै अमेरिकाले दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । सन् १९३० पछि पहिलो पटक अमेरिकाले विश्वकपमा लगातार दुई खेल जितेको हो । साथै आफ्नै भूमिमा आयोजना भएको विश्वकपमा सुरुआती दुई खेल जितेर नकआउट चरणमा पुग्ने उपलब्धि पनि पहिलो पटक हासिल गरेको छ । यता सान फ्रान्सिस्को बे एरियामा भएको अर्को खेलमा पाराग्वेले टर्कीलाई १–० ले पराजित गर्यो । खेल सुरु भएको दोस्रो मिनेटमै माटियास गालार्जाले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा मिगेल अल्मिरोन रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले लगातार दबाब बनायो। उसले खेलभरि ३० भन्दा बढी प्रहार गर्यो तर गोल गर्न असफल रह्यो ।

लगातार दोस्रो हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । विश्वकप इतिहासमा लगातार दुई खेलमा ६० भन्दा बढी प्रहार गरेर पनि गोल गर्न नसक्ने टोलीका रूपमा टर्कीले अनिच्छित कीर्तिमान बनाएको छ ।

पाराग्वेले भने तीन अंक जोड्दै अन्तिम खेलअघि नकआउट चरणको आशा कायम राखेको छ। समूह ‘डी’ मा अमेरिका ६ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया र पाराग्वेको समान तीन–तीन अंक छ भने टर्की अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

विश्वकप २०२६ को समूह चरण अब निर्णायक मोडमा पुगेको छ । समूह ‘सी’ मा ब्राजिल, मोरक्को र स्कटल्यान्डमध्ये दुई टोलीले नकआउट चरणमा स्थान बनाउने सम्भावना छ । समूह ‘डी’ मा अमेरिका अगाडि बढिसकेको अवस्थामा अष्ट्रेलिया र पाराग्वेबीचको प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने देखिएको छ । आगामी खेलहरूले नकआउट चरणको अन्तिम समीकरण तय गर्नेछन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।