फिफा विश्वकपको समूह चरणको पहिलो खेलले देखाएको संकेत

उत्तर अमेरिकामा जारी २३औँ संस्करणको विश्वकप फूटबलमा समूह ‘ए’देखि ‘एल’सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन् ।

पहिलो खेल सकिँदा फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड र जर्मनीजस्ता पूर्वविजेता टीमहरू विजयी हुँदा ५ पटकको विश्व विजेता ब्राजिल र १ पटकको विजेता स्पेन बराबरीमा रोकिए । ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ भने सन् २०१० को विश्वकप विजेता स्पेन पहिलोपल्ट विश्वकप खेल्दै गरेको अफ्रिकी राष्ट्रसँग गोलरहित बराबरीमा रोकिएको छ । क्रिस्चियानो रोनाल्डोको टीम पोर्चुगलले डीआर कङ्गोसँग १–१ गोलको बराबरी खेल्यो ।

यस्तै आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदा अमेरिकाले पाराग्वेलाई सहजै पाखा लगाएको छ । अर्को सहआयोजक क्यानाडाले पनि युरोपेली छनोटमा इटालीलाई हराएर आएको बोस्नियाहर्जगोविनासँग बराबरी खेलेको छ । यसैगरी एसियाली राष्ट्र दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराउँदा जापानले नेदरल्याण्ड्ससँग २–२ गोलको बराबरी खेलेको छ । कतारले भने स्वीजरल्याण्डसँग १–१ को बराबरी गर्दै अंक बाँड्दा २ पटकको विजेता उरुग्वेलाई साउदी अरेबियाले ३ अंक खोस्न दिएन र बराबरी भयो । पहिलो खेल जित्ने टोलीको अन्तिम ३२ को यात्रा सहज भएको छ भने बराबरी गर्ने टोलीको पनि सम्भावना माथि नै छ तर पराजित टीमका लागि बाँकी खेलमा सकारात्मक नतिजा ल्याउनुपर्नेछ ।

कूल ४८ राष्ट्रबिच १२ समूहबाट आउने प्रत्येक समूहका विजेता र उपविजेता गरी २४ देशले अन्तिम ३२ मा स्थान पक्का गर्नेछन् भने थप ८ देशको टुंगो पनि ती १२ समूहका उत्कृष्ट तेस्रोबाट छानेर समावेश गरिनेछ । विजेता र उपविजेतासँगै तेस्रो हुनेहरूबाट पनि उत्कृष्ट ८ देशलाई अन्तिम ३२ मा लगिने हुँदा समूहका १ खेल जित्ने टोलीले पनि उत्कृष्ट तेस्रो हुँदै अर्को चरणमा पुग्ने सम्भावना बनाउन सक्नेछन् ।

समूह ‘ए’मा मेक्सिको र दक्षिण कोरिया अगाडि 

मेक्सिको र दक्षिण कोरियाले उत्तर अमेरिकी ३ देशमा जारी २३औँ संस्करणको विश्वकप फूटबलमा अन्तिम ३२ मा जाने सम्भावना बलियो बनाएका छन् । समूह ‘ए’का १–१ खेल सकिँदा यी दुवै टोलीले आफ्ना पहिला खेल जीतदा अन्तिम ३२ का लागि सहज बाटो बनेको हो । मेक्सिको र कोरिया दुवैको ३–३ अंक छ ।
४ देश रहेको समूहमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले भने आफ्नो पहिलो खेल नै हार्दा अर्को चरणमा जान बाँकी खेलमा राम्रो नतिजा ल्याउनुपर्ने भएको छ । पहिलो खेलको नतिजासँगै समान ३ अंक भए पनि गोल अन्तर बढी भएकाले मेक्सिको पहिलो स्थानमा छ । उसले २ गोल गरेर कुनै गोल खाएको छैन । ३ अंक नै भए पनि दक्षिण कोरिया दोस्रो स्थानमा छ । उसले चेक गणतन्त्रलाई हराएर पनि १ गोल खाएको छ । यो समूहमा चेक गणतन्त्र र दक्षिण अफ्रिका दुवै पहिलो खेलमा पराजित भए पनि १ गोल गरेका आधारमा चेक गणतन्त्र तेस्रो स्थानमा छ । २ गोल खाएर उसले १ गोल फर्काएको थियो ।
दक्षिण अफ्रिकाले २ गोल खाएर १ गोल पनि गर्न सकेको छैन । अफ्रिका तालिकाको चौथो स्थानमा छ । कोरिया र मेक्सिकोका लागि बराबरीले पनि अन्तिम ३२ को यात्रा तय गर्न सक्छ भने चेक र अफ्रिकाका लागि दोस्रो खेलमा जीतले यात्रा सहज बन्न सक्छ भने हारले यात्रालाई कठिन मोडमा पुर्‍याइदिन सक्छ ।

समूह ‘बी’मा सबैको समान अंक 

फिफा विश्वकप २०२६ को समूह ‘बी’का १–१ खेल सकिएका छन् । पहिलो खेल सकिँदा समूहमा रहेका स्वीजरल्याण्ड, क्यानडा, कतार र बोस्निया हर्जगोविनाले १–१ अंक बटुलेका छन् । सबै टीमले १–१ गोल गरेका कारण र अंक पनि बराबर भएका कारण ती सबैको हैसियता बराबर छ । सहआयोजक क्यानाडाले बोस्नियाहर्जगोविनासँग १–१ को बराबरी गरेको छ भने अर्को खेलमा एसियाली राष्ट्र कतार र युरोपेली राष्ट्र स्वीजरल्याण्डले पनि बराबरी खेल्दै अंक बाँडेका थिए । अब ती ४ वटै टीमले २–२ खेल खेल्न बाँकी छ । क्यानाडाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ भने स्वीजरल्याण्डले बोस्नियाहर्जगोविना र क्यानाडासँग खेल्न बाँकी छ ।  यस्तै बोस्नियाहर्जगोविनाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ । अन्तिम ३२ भित्र अटाउन यी सबै टोलीलाई मुख्य तय जीतले सहज हुनेछ भने बराबरीले पनि सम्भावना हट्ने छैन तर हारले भने सम्भावना कमजोर बन्नेछ ।

समूह ‘सी’मा ब्राजिल मोरक्कोसँग बराबरीमा

तेइसौँ संस्करणको विश्वकप फूटबलअन्तर्गत समूह ‘सी’का सबै टीमको पहिलो खेल सकिँदा स्कटल्याण्ड ३ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्डले लामो समय द्वन्द्वबाट गुज्रिएर फेरि फूटबलमा पाइला चालेको हाइटीलाई १–० ले हराउँदै तालिकाको पहिलो स्थानमा उभ्याएको छ । यही समूहको अर्को खेलमा ५ पल्टको विश्व विजेता ब्राजिल अफ्रिकी देश मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ । सुरुआती गोल मोरक्कोका इजनेल साइबारीले गरेका थिए । उनले खेलको २१औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ११ मिनेट अग्रता बनाएको मोरक्कोले त्यसलाई निरन्तरता दिन सकेन ।
विश्व फूटबलकै पहिलोदेखि अहिलेसम्म निरन्तर सहभागी ब्राजिलले कमब्याक गर्दै हारबाट त बचायो तर स्पष्ट ३ अंक लिन सकेन । समूह ‘सी’मा शीर्षस्थानको स्कटल्याण्डको ३ अंक छ । बराबरी गरेका मोरक्को र ब्राजिलको समान १–१ अंक छ भने हाइटी शून्य अंकसहित पुछारमा छ । अब अन्तिम ३२ मा पुग्न स्कटल्याण्डलाई सहज भएको छ भने ब्राजिल र मोरक्को लागि पनि सम्भावना प्रशस्तै छ तर हाइटीका लागि भने आगामी ब्राजिल र मोरक्कोसँगको खेलमा सुखद नतिजा ल्याउन अत्यावश्यक छ ।

समूह ‘डी’मा अमेरिका र अष्ट्रेलियाको समान अंक 

फिफा विश्वकप फूटबलमा अष्ट्रेलियाले टर्कीलाई हराएसँगै समूह ‘डी’मा आयोजक अमेरिका र अष्ट्रेलियाको समान ३–३ अंक भएको छ । एशियाली क्षेत्रको प्रतिनिधित्व गर्ने अष्ट्रेलियाले आईतबार विश्वकप फूटबलमा तेस्रो स्थान हासिल गरिसकेको टर्कीलाई २–० ले हराउन सफल भएको थियो । यसअघि यही समूहको पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई ४–१ अन्तरले हराएको थियो । समूह तालिकामा अमेरिका समान ३ अंक भए पनि पहिलो स्थानमा छ । उसले ४ गोल गरेर १ गोल खाएको छ । ३ अंक नै भए पनि अष्ट्रेलियाले २ गोल गरेको छ । तसर्थ गोल अन्तरमा अमेरिका अगाडि छ । यस्तै पराजित भएर पनि कम गोल खाएका कारण टर्की तेस्रो स्थानमा छ । उसले २ गोल खाएको छ । पाराग्वे भने ४ गोल खाएर १ गोल गर्दै तालिकाको पुछारमा छ । अब अन्तिम ३२ भित्र प्रवेश गर्न अमेरिका र अष्ट्रेलियाका लागि बराबरी पनि काफी हुन सक्नेछ भने पाराग्वे र टर्कीका लागि जीत आवश्यक देखिन्छ । पाराग्वे र अमेरिकाले अब अष्ट्रेलिया र टर्कीसँग खेल्न बाँकी छ ।

समूह ‘इ’मा जर्मनी बलियो, आइभरीकोष्ट पछ्याउँदै

नवप्रवेशी कुरासाओलाई भारी अन्तरले हराएपछि समूह ‘इ’मा जर्मनी बलियो देखिएको छ । ७–१ अन्तरको जीत बटुलेको ४ पटकको विश्व विजेता जर्मनीको समूहमा पहिलो खेल सकिँदा ३ अंक भएको छ । पहिलो खेलमा इक्वेडरलाई १–० ले हराएको अफ्रिकी देश आइभरीकोष्टको पनि ३ अंक छ । पहिलो खेल सकिँदासम्म जर्मनी ३ अंकसहित पहिलो स्थानमा छ । समान ३ अंक नै भए पनि गोल अन्तरमा पछि पर्दै आइभरीकोष्ट दोस्रो स्थानमा छ । जर्मनीले ७ गोल गरेर मात्र १ गोल खाएको छ भने आइभरीकोष्टले १ गोल गरेर विपक्षीबाट कुनै गोल खाएको छैन ।

यो समूह ‘इ’को तालिकामा इक्वेडर तेस्रो स्थानमा छ भने कुरासाओ चौथो स्थानमा छ । इक्वेडरले कुनै गोल गर्न नसकेपनि मात्र १ गोल खाएको छ भने कुरासाओले १ गोल गरेर ३ गोल खाएको छ । अब अन्तिम ३२ मा जान जर्मनी र आइभरीकोष्टलाई सहज भए पनि इक्वेडर र कुरासाओको संभावना सकिएको भने छैन । अबका बाँकी खेल कुरासाओ र इक्वेडरका लागि अझ महत्वपूर्ण हुनेछ । जीत या बराबरीले अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ ।

बलियो देखिएको जर्मनीले अब आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ भने कुरासाओले पनि आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ । यस्तै आइभरीकोष्टले जर्मनी र कुरासाओसँग तथा इक्वेडरले कुरासाओ र जर्मनीसँग खेल्नेछ ।  विगतका इतिहास हेर्ने हो भने जर्मनी ४ पटक विजेता, ४ पटक उपविजेता र ४ पटक नै तेस्रो भएको छ । कुनै समय फ्रान्सको १ हिस्सा रहेको आइभरीकोष्ट स्वतन्त्र भएपछि सन् २००६ मा पहिलोपल्ट विश्वकप २००६ मा छनोट भएको थियो । उसले सन् २०१० र २०१४ गरी अहिलेसम्म ३ विश्वकपमा सहभागिता जनाएको छ । इक्वेडरले चौथो विश्वकपमा सहभागिता जनाइरहँदा सन् २००६ मा अन्तिम १६ सम्म पुग्न सकेको थियो । कुरासाओ भने पहिलोपल्ट विश्वकपमा सहभागिता जनाउँदैछ ।

समूह ‘एफ’मा स्वीडेन अगाडि, जापान र नेदरल्याण्ड्स पछ्याउँदै  

समूह ‘एफ’मा स्वीडेन ३ अंकसहित पहिलो स्थानमा छ । विश्वकप फूटबलको इतिहासमा ३ पटक फाइनल पुगेर उपविजेतामै चित्त बुझाएको नेदरल्याण्ड्स र एशियाली फूटबलको पावरहाउस जापान १–१ अंकसहित समूहमा दोस्रो स्थानमा छन् । अफ्रिकी देश ट्युनेसिया बिना कुनै अंक समूहमा पुछारमा छ । सन् १९३४ को दोस्रो संस्करणको विश्वकपदेखि सहभागी हुँदै आएको स्वीडेनले जारी विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनेसियालाई ५–१ गोल अन्तरले हराएको छ । यो समूहअर्न्तगत जापान र नेदरल्याण्ड्सले २–२ गोलको बराबरी खेलेका छन् । अन्तिम ३२ मा पुग्न स्वीडेनलाई सहज भएको छ भने जापान र नेदरल्याण्ड्सको पनि सम्भावना बलियो छ । तर ट्युनेसियाले भारी अन्तरले हारेका कारण जीतको विकल्प छैन । जापानले अब स्वीडेन र ट्युनेसियासँग खेल्न बाँकी छ । स्वीडेनले जापानसँगै नेदरल्याण्ड्ससँग पनि भिड्न बाँकी छ ।

यसैगरी नेदरल्याण्ड्सले स्वीडेनसँगै ट्युनेसियासँग खेल्न बाँकी छ । समूहको पुछारमा रहेको टोली ट्युनेसियाले जापान र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ । जीत या बराबरीले ट्युनेसियाको अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ । स्वीडेनले बाँकीका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पुर्‍याउन सक्छ । जापान र नेदरल्याण्ड्सका लागि अबको खेलमा जीत हासिल गरे अन्तिम ३२ को यात्रा समूह चरणको अन्तिम खेलअघि नै सहज हुनेछ भने हारले चुनौती थप्नेछ ।
स्वीडेन १ पटकको उपविजेता र २ पटकको विश्वकपमा तेस्रो भएको टोली हो । नेदरल्याण्ड्स ३ पटक उपविजेता र एकपटक तेस्रो भएको टोली हो । जापान विश्वकपमा अन्तिम १६ भन्दा माथि जान सकेको छैन भने ट्युनेसीयाले समूह चरण पार गर्न सकेको छैन ।

समूह ‘जी’मा बेल्जियम दबाबमा

समूह जीमा रहेका सबै ४ वटै देशको १–१ अंक छ । न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्टको समान १–१ अंक छ । तैपनि बढी गोल गरेका आधारमा तालिकामा न्युजिल्याण्ड र इरान अगाडि छन् । उनीहरूले २–२ गोल गरेका छन् । पहिलो खेलमा न्युजिल्याण्ड र इरानले २–२ गोलको बराबरी खेलेका थिए । समान १–१ अंक भए पनि १–१ गोल मात्र गरेका कारण बेल्जियम र इजिप्ट न्युजिल्याण्ड र इरानभन्दा तल छन् । समान गोल अन्तर भए पनि बढी गोल गरेका आधार बेल्जियम र इजिप्ट तल परेका हुन् ।

सन् २०१८ को विश्वकपमा तेस्रो स्थान ल्याउन सफल टोली बेल्जियम १५औँ पटक सहभागिता जनाउने क्रममा दबाबमा छ । अब उसका लागि बाँकी दुवै खेलमा राम्रो नतिजा ल्याउनुपर्नेछ । अरु प्रतिस्पर्धी टीमले पनि नकारात्मक नतिजा ल्याए उ कम दबाबमा रहनेछ तर दोस्रो खेलमा पनि उस्तै बराबरी नतिजा आएको खण्डमा भने अरु देशलाई लक लाग्दै बेल्जियम दुर्भाग्यको शिकार बन्न सक्छ ।

पहिलो र दोस्रो विश्वकपमै सहभागी थियो बेल्जियम । दोस्रो विश्वकप पछि एकैपल्ट सन् १९९० को विश्वकप र २०१८ को विश्वकप पछि चौथोपल्ट सहभागीे इजिप्टको १ अंक छ । फिफा वरियतामा नवौं स्थानमा रहेको बेल्जियनलाई उपाधि दाबेदारको सूचीबाट हटाउन सकिँदैन । इरानका लागि अबका २ खेल बेल्जियम र इजिप्टसँग हुनेछ । ‘कम ब्याक’ गरेर हारबाट जोगिएको इरानका लागि अन्तिम ३२ मा जान अबका २ खेलमा १ मा जीत र १ मा बराबरी काफी हुनेछ । इजिप्ट र न्युजिल्याण्डका लागि पनि सुखद नतिजा आवश्यक छ ।

समूह ‘एच’मा स्पेनसँगै सबैको १–१ अंक 

उत्तर अमेरिकी महादेशमा जारी विश्वकपमा समूह ‘एच’मा रहेका सबै ४ वटै देशको १–१ अंक छ । एसियाली राष्ट्र साउदी अरेबिया, १ पटकको विश्वकप विजेता स्पेन, २ पटकको विजेता उरुग्वे र नवप्रवेशी अफ्रिकी मुलुक केप भेर्डेको समान १–१ अंक छ भने साउदी र उरुग्वेले मात्रै १–१ गोल गरेका छन् । स्पेन र केपे भेर्डे गोलविहीन छन् ।
अन्तिम ३२ मा जाने टोलीको टुंगो लाग्न समूह चरणमा बाँकी रहेका २ खेल आवश्यक पर्नेछ । तर अब हुने दोस्रो खेलले पनि को–को अगाडि बढ्नेछन्, त्यसको १ खाले छनक दिनेछ । यो समूहको पहिलो खेलमा युरोपको एक अनुभवी एवं विश्व विजेता तथा युरोपियन विजेता भइसकेको स्पेन बराबरीमा रोकेको छ ।

समूह ‘आई’मा फ्रान्स र नर्वे अगाडि 

समूह चरणको पहिलो खेल सकिँदा समूह ‘आई’मा २ पटकको विश्वविजेता फ्रान्स र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको समान ३–३ अंक छ । यो समूहको पहिलो खेलमा पराजित सेनेगल र इराकको शून्य अंक छ । समूहको पहिलो खेलमा किलियन एम्बाप्पेको २ गोलको मद्दतमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको छ भने अर्को खेलमा नर्वेले इराकलाई ४–१ गोल अन्तरले पाखा लगाएको छ । ३ अंक नै भए पनि नर्वे फ्रान्सभन्दा माथि पहिलो स्थानमा छ । हारे पनि कम गोल खाएका कारण सेनेगल तेस्रो र इराक चौथो स्थानमा छ ।

समूह ‘जे’मा अर्जेन्टिना र अष्ट्रिया अगाडि

समूह चरणको पहिलो खेल सकिँदा समूह ‘जे’मा ३ पटकको विश्वविजेता अर्जेन्टिना र अष्ट्रियाले ३–३ अंक जोडेका छन् । जोर्डन र अल्जेरियाको कुनै अंक छैन । अब अन्तिम ३२ मा पुग्न जोर्डन र अल्जेरियालाई अर्को खेलमा जीत आवश्यक छ । पहिलो खेलमा जितेका अर्जेन्टिना र अष्ट्रियालाई बराबरी मात्रले पनि अर्को चरणमा पुर्‍याउने छ । यो समूहमा लियोनियल मेसीको कीर्तिमानी ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको छ । यो खेलको ३ गोलसँगै मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ता जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोल संख्या बराबरी गरेका छन् । यो समूहमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको छ ।

समूह ‘के’ मा पोर्चुगल दबाबमा, कोलम्बिया ढुक्क

जारी विश्वकपको समूह ‘के’मा क्रिस्चियानो रोनाल्डोको टीम पोर्चुगल दबाबमा छ । आफ्नो पहिलो खेलमा डीआर कङ्गोसँग बराबरीमा रोकिएसँगै अब अर्को चरणमा जान बाँकी रहेका खेलमा कम्तिमा १ जीत आवश्यक देखिन्छ । यो समूहमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले हराएको छ । पहिलो खेल सकिँदासम्म कोलम्बिया ३ अंकसहित पहिलो स्थानमा रहँदा पोर्चुगल र कंगोको समान १–१ अंक छ भने एसियाली राष्ट्र उज्वेकिस्तान बिना अंक पुछारमा छ । कोलम्बियाका लागि बाँकी रहेका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पुर्‍याउन सक्छ तर उज्वेकिस्तानलाई जीतको विकल्प रहने छैन ।

समूह ‘एल’मा इङ्ल्याण्ड र घाना अगाडि, क्रोयसिया दबाबमा

विश्वकप फूटबलको समूह ‘एल’मा पूर्व विजेता इङ्ल्याण्ड र अफ्रिकी देश घानाले ३–३ अंक बनाएका छन् । ह्यारी केनको २ गोलमा इङ्ल्याण्डले क्रोयसियालाई ४–२ अन्तरले हराउँदा घानाले पानामालाई १–० ले पाखा लगाएको थियो । अर्को चरणमा पुग्न इङ्ल्याण्डका लागि बराबरी पनि पर्याप्त हुन सक्नेछ भने क्रोयसियाका लागि जीत आवश्यक छ । यो समूहमा पानामाका लागि जीतको विकल्प रहने छैन । तुलनात्मक रूपमा पानामा अरु देशभन्दा कमजोर देखिन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।