काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा युरोप र एसियाका ठूला टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
जर्मनी र जापानले आ–आफ्ना खेलमा प्रभावशाली जित निकाल्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका छन् भने ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । यसैबीच इक्वेडर र कुरासाओबीचको खेलले पनि ठूलो ध्यान तानेको छ, जहाँ गोलरहित बराबरीसँगै कुरासाओले ऐतिहासिक अंक जोड्न सफल भयो ।
चार पटकको विश्वकप विजेता जर्मनीले आइभरी कोस्टविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै समूह ‘ई’ बाट नकआउट चरणमा प्रवेश गरेको हो । टोरन्टो स्टेडियममा भएको खेलमा आइभरी कोस्टले पहिलो हाफमै अग्रता लिएको थियो । कप्तान फ्राङ्क केसीले ३०औँ मिनेटमा गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाए ।
आइभरी कोस्टले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरे पनि जर्मनीले बढी अवसर सिर्जना गरेको थियो । पहिलो हाफमै जर्मनीले दुई पटक गोल गरे पनि दुवै प्रयास अमान्य भए । अलेक्जान्डर पाभ्लोभिचको हेडर गोल फाउलका कारण रद्द भयो भने काइ हाभेट्र्जको गोल पनि जमाल मुसियालाको फाउलपछि मान्यता पाएन ।
दोस्रो हाफमा प्रशिक्षक युलियन नागेल्समानले गरेको रणनीतिक परिवर्तन निर्णायक सावित भयो। खेलको ६०औँ मिनेटपछि मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी डेनिज उन्डाभ नै जर्मनीका नायक बने ।
६८औँ मिनेटमा नादिम अमिरीको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै उन्डाभले बराबरी गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा पुग्दा ९४औँ मिनेटमा फेलिक्स नेमेचाको पासलाई नियन्त्रणमा लिँदै उनले निर्णायक गोल गरे । यससँगै जर्मनीले २–१ को नाटकीय जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गर्यो ।
उन्डाभले यसअघि पनि कुरासाओविरुद्ध ७–१ को जितमा उत्कृष्ट प्रदर्शन गरेका थिए, जहाँ उनले गोल मात्र होइन, अवसर सिर्जनामा पनि योगदान दिएका थिए । यस खेलमा पनि उनी “सुपर सब” सावित भए ।
आइभरी कोस्टले पनि खेलमा राम्रो सुरुवात गरेको थियो । फ्राङ्क केसी, क्रिस्ट इनाओ र डियालोले केही महत्वपूर्ण अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । अन्तिम समयमा गोलरक्षक याहिया फोफानाले केही उत्कृष्ट बचाउ गरे पनि जर्मनीलाई रोक्न सकेनन् । यस हारसँगै आइभरी कोस्टको नकआउट यात्रा अझै अनिश्चित बनेको छ, किनभने अन्तिम खेलमा जित अनिवार्य हुनेछ ।
उता, एसियाली पावरहाउस जापानले ट्युनिसियामाथि ४–० को फराकिलो जित निकाल्दै विश्वकप इतिहासकै १०००औँ खेललाई विशेष बनाएको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा जापान सुरुदेखि नै पूर्ण रूपमा हाबी देखियो ।
खेल सुरु भएको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा आयासे उएदाले दोस्रो गोल गरे । जापानले बल नियन्त्रण र पासिङमा पूर्ण दबाब बनायो, जसले ट्युनिसियालाई खेलमा फर्किनै दिएन । दोस्रो हाफमा पनि जापानको आक्रमण रोकिएन।
६९औँ मिनेटमा जुन्या इतोले तेस्रो गोल थपे भने ८३औँ मिनेटमा उएदाले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को शानदार जित सुनिश्चित गरे ।यो हारसँगै ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । लगातार दुई खेलमा ठूलो अन्तरले पराजित भएपछि टोलीको नकआउट सपना समाप्त भयो। प्रशिक्षक परिवर्तनपछि पनि टोलीले सुधार गर्न नसक्दा आलोचना बढेको छ ।
यसै समूहमा इक्वेडर र कुरासाओबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलभर इक्वेडरले २७ प्रहार गरे पनि गोल गर्न सकेन । कुरासाओका गोलकिपर एलोय रुम नायक बने । उनले विश्वकप इतिहासमै एक खेलमा १५ वटा सेभ गर्दै कीर्तिमान बराबरी गरे, जुन अमेरिकाका टिम हावर्डको बराबरी हो ।
कुरासाओले पनि केही अवसर सिर्जना गरेको थियो तर इक्वेडरका गोलरक्षकले रोक्न सफल भए। यस बराबरीसँगै कुरासाओले विश्वकप इतिहासमै पहिलो अंक जोड्न सफल भयो, जुन उनीहरूको लागि ठूलो उपलब्धि मानिएको छ ।
यता नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को शानदार जित निकाल्दै समूह ‘एफ’ मा शीर्ष स्थान हासिल गरेको छ । ब्रायन ब्रोबी, कोडी गाक्पो र अन्य खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड्सले खेल पूर्ण रूपमा नियन्त्रणमा राख्न सफल भयो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।

































