लम्बियो रास्वपा महाधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत हुने बन्दसत्र निर्धारित समयमै सञ्चालन हुन नसकेपछि मंगलबारका लागि सारिएको छ ।

सोमबार साँझ चितवन उद्योग संघको हलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका प्रवक्ता मनिष झाले बन्दसत्र व्यवस्थापकीय कारणले प्रभावित भएको जानकारी दिएका हुन् । उनका अनुसार बन्दसत्र सोमबार नै सुरु गर्ने तयारी भए पनि प्रतिनिधिहरूको रुजु (भेरिफिकेशन) प्रक्रिया र परिचयपत्र (कार्ड) छपाइमा समस्या उत्पन्न भएपछि कार्यक्रम समयमै अघि बढ्न सकेन । “प्रतिनिधिको रुजु र कार्ड प्रिन्टमा समस्या हुँदा बन्दसत्र हुन सकेन,” उनले भने, “अब मंगलबार मध्याह्न १२ बजेपछि मात्रै बन्दसत्र सुरु हुन्छ ।” उनले यसलाई व्यवस्थापकीय कमजोरीका रूपमा स्वीकार गर्दै आगामी कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको पनि स्पष्ट पारे । रास्वपाले यसअघि असार ७ देखि ९ गतेसम्म महाधिवेशन आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर बन्दसत्रकै कार्यक्रम एक दिन पछाडि सरेपछि महाधिवेशनको समग्र अवधि पनि लम्बिने भएको छ । यसले पार्टीको आन्तरिक छलफल, नीति निर्माण तथा नेतृत्व चयन प्रक्रिया केही ढिला हुने संकेत देखिएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरूलाई एक दिन थप बस्नुपर्ने अवस्था सिर्जना भएपछि त्यसबाट उत्पन्न हुने आर्थिक भार व्यवस्थापनबारे पनि पार्टीले ध्यान दिएको प्रवक्ता झाले बताए । “प्रतिनिधिलाई थप एक दिन बस्नुपर्ने भएकाले त्यसको आर्थिक पक्षबारे पनि हामीले सोचिरहेका छौँ,” उनले भने । पार्टीले प्रतिनिधिहरूको बसोबास, खानपान तथा अन्य आवश्यक व्यवस्थापनलाई सहज बनाउन पहल गरिरहेको जनाएको छ । बन्दसत्र रास्वपाको महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरण मानिन्छ, जहाँ पार्टीको भावी रणनीति, नीति, सांगठनिक संरचना र नेतृत्वसम्बन्धी निर्णयहरू गरिन्छन् ।

त्यसैले यसमा हुने ढिलाइले समग्र महाधिवेशन प्रक्रियामा प्रभाव पार्ने भए पनि पार्टी नेतृत्वले यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । रास्वपा स्थापना पछि छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल भएको दल हो । त्यसैले यसको पहिलो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ बन्दसत्रमार्फत पार्टीले आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । यद्यपि प्रारम्भिक व्यवस्थापनमा देखिएको कमजोरीले केही प्रश्नहरू उठाएको छ । तर पार्टी नेतृत्वले ती कमजोरीहरू सुधार गर्दै महाधिवेशनलाई सफल बनाउने दाबी गरेको छ । अब मंगलबार हुने बन्दसत्रले महाधिवेशनलाई गति दिने र बाँकी कार्यक्रमहरू निर्धारित ढाँचामा अघि बढ्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।