नेपालको आर्थिक समृद्धिको सम्भावनायुक्त बलियो र भरपर्दो खम्बा पर्यटन क्षेत्र नै हो । विश्वकै उत्कृष्ट हिमशृंखला, मौलिक संस्कृति र जैविक विविधताले भरिपूर्ण नेपालमा नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास हुनुले मुलुकको अर्थतन्त्रमा उत्साह थप्ने गर्दछ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर पछिल्ला वर्षहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ । २०६७ सालसम्म म्याग्दीतर्फबाट अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ भन्ने तथ्य आमरूपमा गुमनाम जस्तै थियो । कास्कीतर्फबाट मात्र यसको आधार शिविर रहेको भ्रम चिर्दै सन् २०१२ मा प्रथम आरोही मौरिस हर्जोगले दिएको ऐतिहासिक सूचनाका आधारमा स्थानीय र अन्नपूर्ण गाउँपालिकाको प्रयासबाट नयाँ पदमार्गको खोज अनुसन्धान गरिएको थियो ।
२०७७ सालमा गाउँपालिकाले यस मार्गलाई नक्सांकन गरी ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरेसँगै पर्यटनको नयाँ भर्जिन गन्तव्यका रूपमा उदाएको छ । समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा रहेको आधार शिविरमा अहिले अनुमान गरेभन्दा बढी पर्यटकको चाप बढ्नुले के देखाउँछ भने सही पहिचान र न्यूनतम पूर्वाधार मात्रै तयार गर्ने हो भने नेपालका कुना–काप्चामा पर्यटकीय क्रान्ति ल्याउन सम्भव छ ।
अन्नपूर्ण आधार शिविरले फस्टाउँदो सम्भावनासँगै केही टड्कारा व्यवस्थापकीय चुनौतीहरूको सामना गरिरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने भएकाले स्थायी भौतिक संरचना निर्माणमा कानुनी जटिलता छ । व्यवसायीहरूले ५० जना क्षमताको अस्थायी रेस्टुरेन्ट चलाएका छन्, जहाँ सिजनमा दैनिक २०० भन्दा बढी पाहुना आउँदा पर्यटकहरू टेन्ट र पालमुनि रात काट्न बाध्य छन् । यसबाहेक सञ्चार (मोबाइल नेटवर्क), विद्युत् र आकस्मिक स्वास्थ्य सुविधाको चरम अभाव छ । सञ्चार असुविधाका कारण लेक लाग्ने बिरामीहरूको समयमै उद्धार गर्न कठिन भइरहेको छ भने बढ्दो भीडसँगै उत्पन्न हुने फोहरमैला व्यवस्थापन अर्को वातावरणीय चुनौती बनेको छ ।
फस्टाउँदो पर्यटन बजारलाई दीगो र सुरक्षित बनाउन स्थानीय सरकार, संघीय सरकार र ‘एक्याप’बिच तत्काल समन्वय हुन आवश्यक छ । वातावरणीय सन्तुलन बिग्रिन नदिने गरी आवासको क्षमता बढाउन विशेष नीतिगत अनुमति दिइनुपर्छ । पदमार्गका झोलुङ्गे पुलहरूको स्तरोन्नति, सञ्चार नेटवर्कको विस्तार र आधारभूत स्वास्थ्य शिविरको स्थापना राज्यको प्राथमिकतामा पर्नुपर्छ ।
म्याग्दीको अन्नपूर्ण आधार शिविरले देखाएको सुनौलो बाटोलाई सही व्यवस्थापन दिन सके यसले स्थानीय रोजगारी सँगसँगै समग्र मुलुकको हिमाली पर्यटनलाई नयाँ उचाइमा पुर्याउने निश्चित छ । राज्य र सरोकारवाला निकायले यस्तो अवसरलाई बेलैमा उपयोग गर्नुपर्छ ।
मिति २०८३ असार ९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































