फिफा विश्वकप २०२६ : मेसी, एमबाप्पे र हालान्ड चम्किँदा अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा अर्जेन्टिना, फ्रान्स र नर्वेले लगातार उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरेका छन् । यी खेलहरूमा विशेष रूपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।

समूह ‘जे’ अन्तर्गत डलास स्टेडियममा सम्पन्न खेलमा साबिक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो । खेलमा कप्तान मेस्सीले दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । यस जितसँगै अर्जेन्टिनाले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलको सुरुवातमै अर्जेन्टिनाले अग्रता लिने सुनौलो अवसर पाएको थियो । आठौँ मिनेटमा अस्ट्रियाका स्टेफन पोस्चले लाउटारो मार्टिनेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर कप्तान मेस्सीको प्रहार पोस्ट बाहिर गएको थियो । त्यसपछि पनि खेलमा अस्ट्रियाले केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनाको डिफेन्स र गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे ।

तर त्यसपछि मेस्सीले आफ्नो अनुभव र क्षमता प्रदर्शन गर्दै खेललाई पूर्ण रूपमा नियन्त्रणमा लिए । पहिलो गोल ३८औँ मिनेटमा आएको थियो । थियागो अल्माडाको चतुर पास र फाकुन्डो मेडिनाको सहयोगपछि मेस्सीले पेनाल्टी क्षेत्रभित्रबाट पहिलो टचमै बललाई जाली चुमाएका थिए ।

दोस्रो गोल इन्जुरी समयमा आएको थियो । जुलियन अल्भारेजको शक्तिशाली प्रहार अस्ट्रियाका गोलरक्षकले रोके पनि फर्किएको बलमा मेस्सीले दुई डिफेन्डरलाई छक्याउँदै सानो कोणबाट गोल गरे । यही गोलसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोल संख्या १८ पुर्‍याउँदै नयाँ कीर्तिमान कायम गरे । यसअघि यो कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोल रहेको थियो, जसलाई मेस्सीले पछि पारेका हुन् ।

यसै समूहको अर्को खेलमा अस्ट्रियाले जोर्डनलाई पराजित गरेको थियो भने अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराएको थियो । लगातार दुई जितसँगै अर्जेन्टिना समूह विजेता बन्ने दिशामा अघि बढेको छ ।

उता समूह ‘आई’ मा फ्रान्सले पनि लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले इराकलाई ३–० ले पराजित गर्‍यो । खेलमा किलियन एम्बाप्पेले दुई गोल गरे भने उस्मान डेम्बेलेले एक गोल थपे ।

खेलको सुरुवातमै फ्रान्सले अग्रता लिएको थियो । एम्बाप्पेले १४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि मौसम खराबीका कारण खेल करिब दुई घण्टा रोकिएको थियो । पुनः सुरु भएपछि फ्रान्सले पूर्ण नियन्त्रण कायम राख्यो । ५४औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गरे भने ६६औँ मिनेटमा डेम्बेलेले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको थियो । लगातार दुई जितपछि फ्रान्स समूह ‘आई’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

यसै समूहमा नर्वेले पनि लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्‍यो । खेलमा एर्लिङ हालान्डले दुई गोल गरे भने मार्कुस पेडरसनले एक गोल थपे ।

नर्वेले पहिलो हाफमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ४८औँ मिनेटमा हालान्डले दोस्रो गोल गरे । ५३औँ मिनेटमा सेनेगलले एक गोल फर्कायो भने ५८औँ मिनेटमा हालान्डले फेरि गोल गर्दै नर्वेको जित लगभग सुनिश्चित गरे ।

सेनेगलले इन्जुरी समयमा अर्को गोल फर्काए पनि खेल बराबरीमा ल्याउन सकेन । यससँगै नर्वे पनि ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । यो नतिजासँगै फ्रान्स र नर्वे दुवै टोली समूह ‘आई’ बाट अन्तिम ३२ मा प्रवेश गरेका छन् । सेनेगल र इराक भने लगातार हारपछि समूह चरणबाट बाहिरिने अवस्थामा पुगेका छन् ।

समूह चरणका खेलहरूमा अर्जेन्टिना, फ्रान्स र नर्वेले आफ्नो दबदबा कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेष रूपमा लियोनल मेस्सीले बनाएको विश्वकप इतिहासकै सर्वाधिक १८ गोलको कीर्तिमानले यो चरणलाई अझ ऐतिहासिक बनाएको छ । अब विश्वकपको आगामी चरणमा यी टोलीहरूबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।