पाल्पा । केही वर्षअघिसम्म घरधन्दा, मेलापात र पारिवारिक जिम्मेवारीमा सीमित रहने पाल्पाका धेरै महिलाको दैनिकी अहिले बदलिन थालेको छ ।
बिहान घरको काम सकेपछि सीप सिक्ने केन्द्रमा पुग्ने, नयाँ प्रविधि र व्यवसायबारे जानकारी लिने तथा आफ्नै आम्दानीको स्रोत निर्माण गर्ने लक्ष्यसहित महिलाहरू सक्रिय देखिन थालेका छन् । स्थानीय तहले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमले उनीहरूमा आत्मनिर्भर बन्ने उत्साह थपेको छ ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारी, बढ्दो बेरोजगारी तथा महँगीका कारण ग्रामीण परिवारको आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा महिलाहरूलाई पनि आर्थिक गतिविधिमा जोड्ने उद्देश्यले पाल्पाका विभिन्न स्थानीय तहले सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । ती कार्यक्रमले अहिले सकारात्मक परिणाम दिन थालेको देखिन्छ ।
विशेषगरी विपन्न, दलित, जनजाति तथा आर्थिक रूपमा कमजोर समुदायका महिलालाई लक्षित गरेर सञ्चालन गरिएका तालिममा सहभागिता बढ्दो छ । जुत्ता–चप्पल निर्माण, होजियारी, सिलाइ–कटाइ, ढाका बुनाइ, हस्तकला तथा साना उद्यम सञ्चालनसम्बन्धी तालिममार्फत महिलाहरूलाई स्वरोजगार बन्न प्रेरित गरिएको छ ।
तानसेन नगरपालिका–५ कैलाशनगरकी मालती अधिकारी अहिले जुत्ता र चप्पल निर्माणसम्बन्धी तालिम लिइरहेकी छन् । यसअघि उनले स्वेटर, टोपी र मोजा बुन्ने तालिम लिएकी थिइन् । सीप सिक्दै जाँदा आफ्नो आत्मविश्वास बढेको र भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना रहेको उनी बताउँछिन् ।
“पहिले घरको कामबाहेक अरू केही गर्न सकिन्छ भन्ने सोच नै थिएन,” उनले भनिन्, “तर तालिममा सहभागी भएपछि सीप सिकियो, आत्मविश्वास बढ्यो । अब सानो लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।” उनका अनुसार गाउँघरका महिलाहरू आर्थिक रूपमा सक्षम बन्न सके परिवारको जीवनस्तरमा प्रत्यक्ष सुधार आउँछ । “हामीले कमाएको रकमले बालबालिकाको शिक्षा, स्वास्थ्य र घरखर्चमा सहयोग पुग्छ,” उनले भनिन् ।
मालतीजस्तै तानसेन नगरपालिकाका ३४ जना महिलाले जुत्ता तथा चप्पल निर्माण तालिम लिइरहेका छन् । तालिममा सहभागी महिलाहरूले स्थानीय बजारको आवश्यकता अनुसार गुणस्तरीय उत्पादन गर्न सिकिरहेका छन् । प्रशिक्षकहरूका अनुसार तालिमपछि महिलाहरूले समूह बनाएर वा व्यक्तिगत रूपमा व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।
तानसेन नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर रावलले सीप विकास कार्यक्रमलाई रोजगारीसँग जोड्ने गरी काम भइरहेको बताए । उनका अनुसार बेरोजगारी न्यूनीकरण तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि यस्ता तालिम आवश्यक छन् । “हामीले महिलालाई तालिम दिएर मात्र छोड्ने होइन,” उनले भने, “उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरण, उद्यम दर्ता र आवश्यक परामर्शमा समेत सहयोग गर्ने योजना बनाएका छौँ ।” उनका अनुसार गाउँमै उत्पादन र रोजगारी सिर्जना गर्न सके आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय अर्थतन्त्र पनि सुदृढ हुनेछ ।
यता रामपुर नगरपालिकामा सञ्चालन गरिएको आधारभूत होजियारी तालिमले पनि महिलाहरूमा नयाँ उत्साह भरेको छ । ४५ दिनसम्म सञ्चालन भएको तालिमपछि सहभागी महिलाहरू स्वेटर, मोजा, टोपी, मफलरलगायत सामग्री उत्पादन गर्न सक्षम भएका छन् । तालिममा सहभागी सीता रेग्मीले सुरुमा सुइसमेत प्रयोग गर्न नजान्ने अवस्था रहे पनि अहिले विभिन्न डिजाइनका ऊनी कपडा बुन्न सक्ने भएको बताइन् ।
“पहिलो दिन निकै अप्ठ्यारो लागेको थियो,” उनले भनिन्, “तर निरन्तर अभ्यास र प्रशिक्षकको सहयोगले अहिले हामी आफैं उत्पादन गर्न सक्ने भएका छौँ ।”
उनका अनुसार सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके घरमै बसेर आम्दानी गर्न सकिने सम्भावना छ । “अब हामीले सिकेको सीपलाई उपयोग गरेर उत्पादन गर्ने र बिक्री गरेर आम्दानी गर्ने लक्ष्य राखेका छौँ,” उनले भनिन् ।
रामपुर नगरपालिकाले उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो । नगरपालिकाले महिलालाई केवल सीप सिकाउने मात्र नभई उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने दीर्घकालीन योजना अघि सारेको जनाएको छ ।
नगरप्रमुख रमणबहादुर थापाका अनुसार महिलाको आर्थिक सशक्तीकरण स्थानीय विकासको महत्वपूर्ण आधार हो । महिलालाई आयआर्जनसँग जोड्न सके परिवार र समाज दुवैमा सकारात्मक परिवर्तन आउने उनको विश्वास छ ।
“महिलाहरू आत्मनिर्भर बने भने त्यसको प्रत्यक्ष प्रभाव परिवारमा देखिन्छ,” उनले भने, “त्यसैले नगरपालिकाले सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको छ ।” उनका अनुसार तालिमपछि उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था मिलाउन, सहकारीमार्फत ऋण उपलब्ध गराउन तथा उद्यम सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग प्रदान गर्नसमेत पहल भइरहेको छ ।
स्थानीय तहका प्रतिनिधिहरूका अनुसार धेरै महिलाले तालिमपछि साना व्यवसाय सुरु गरिसकेका छन् । कतिपयले घरमै बसेर स्वेटर, टोपी, मोजा तथा अन्य सामग्री उत्पादन गरी बिक्री गरिरहेका छन् भने केहीले समूहगत रूपमा उद्यम सञ्चालन गर्ने तयारी गरेका छन् ।
विशेषज्ञहरूका अनुसार सीप विकासले महिलाको आर्थिक अवस्था सुधार्नुका साथै उनीहरूको सामाजिक हैसियत पनि बढाउँछ । आर्थिक रूपमा सक्षम महिलाले परिवारका निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न सक्ने र समाजमा नेतृत्वदायी भूमिका लिन सक्ने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढी रहेको बताइन्छ । ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सीमित भइरहेका बेला स्थानीय तहद्वारा सञ्चालन गरिएका सीपमूलक तालिमले महिलाका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके महिलाहरूको जीवनस्तरमा सुधार आउनुका साथै स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
पाल्पामा देखिएको यो परिवर्तन केवल केही महिलाको व्यक्तिगत सफलताको कथा मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अभियानको एउटा महत्वपूर्ण सुरुआतका रूपमा पनि हेरिएको छ । सीप, श्रम र आत्मविश्वासलाई आधार बनाएर महिलाहरू आर्थिक सशक्तीकरणको यात्रामा अघि बढिरहेका छन्, जसले भविष्यमा समग्र समाजको विकासमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।


































