काठमाडौं । नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने ६ टोलीको नाम, लोगो र स्वामित्व समूह सार्वजनिक गरिएको छ।
आयोजक केडिया ग्रुपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणमा प्रतिस्पर्धा गर्ने टोलीहरूको घोषणा गरेको हो। सार्वजनिक गरिएका टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्मासर्स रहेका छन्। यी टोलीहरूले देशका विभिन्न क्षेत्र तथा शहरको प्रतिनिधित्व गर्नेछन्।
अन्नपूर्ण स्पाइकर किङ्सको स्वामित्व सुमिरा स्पोर्ट्स भेन्चरले लिएको छ। टोलीका प्रमोटरमा मिना त्रिपाठी लिम्बु, सुबोध त्रिपाठी र कर्ण थापा रहेका छन्। काठमाडौं रेड्स क्वेस्ट फर्मास्युटिकल्सअन्तर्गतको क्यु स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा रहेको छ भने प्रमोटरमा उमेशलाल श्रेष्ठ, सुबिन श्रेष्ठ, उत्तमकुमार श्रेष्ठ, पृथ्वीराज भण्डारी र कुमार अनुराग रहेका छन्।
कर्णाली शिवराज लक्षरा फिल्म्सको स्वामित्वमा रहेको छ। यस टोलीका प्रमोटरमा कृष्ण विक, अशोक भट्ट र सन्तोक विक छन्। मधेश वारियर्स कम्पास इन्टरटेनमेन्ट नेटवर्कको स्वामित्वमा रहेको छ भने प्रमोटरमा सन्दीप शाह र प्रणव महत रहेका छन्।
त्यसैगरी खप्तड फाल्कन्सका प्रमोटरमा राज शाह, सभराज भण्डारी र सञ्जीव उप्रेती छन्। सगरमाथा स्मासर्सका प्रमोटरमा सन्नीराज भण्डारी र बन्नीराज भण्डारी रहेका छन्।
आयोजकले हाल ६ टोली सार्वजनिक गरे पनि थप दुई टोलीका लागि आवेदन खुला राखिएको जनाएको छ।
केडिया ग्रुपले नेपाल भलिबल संघसँग दुई वर्षअघि नै लिग सञ्चालनका लागि सम्झौता गरेको थियो। विभिन्न कारणले निर्धारित समयमा आयोजना हुन नसकेको प्रतियोगिता अब सञ्चालनको अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ।
नेपाल भलिबल लिगका म्यानेजिङ डाइरेक्टर आश्विन केडियाले एनभीएल नेपाली भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हुने विश्वास व्यक्त गरे। उनले लिगले नयाँ र क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
केडिया ग्रुप तथा नेपाल भलिबल लिगका अध्यक्ष विमल केडियाले लामो समयदेखिको प्रयासपछि प्रतियोगिता आयोजना हुने चरणमा पुगेको बताए। उनले सबै फ्रेन्चाइज टोलीका प्रमोटरहरूको सहकार्यले लिग सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी सबै टोलीका प्रमोटरहरूले एनभीएलमार्फत नेपाली भलिबलको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाए।
नेपाल भलिबल लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुनेछ। प्रतियोगिताको आधिकारिक मिति भने अझै सार्वजनिक गरिएको छैन।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीसँगै विदेशी खेलाडीहरूको पनि सहभागिता रहनेछ। लिगले खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


































