काठमाडौं । भारततर्फ चिया निर्यातमा देखिएको अवरोधका कारण केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन् ।
नेपाल चिया उत्पादक संघले सरकारबाट समस्या समाधानका लागि ठोस पहल हुने आश्वासन प्राप्त भएपछि उद्योग बन्दका कार्यक्रम स्थगन गर्दै उत्पादन तथा प्रशोधनका काम पुनः सुरु गर्ने निर्णय गरेको हो । चिया क्षेत्र लामो समयदेखि निर्यातसम्बन्धी समस्या, मूल्य अस्थिरता तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक चुनौतीसँग जुध्दै आएको अवस्थामा भारतीय पक्षले लागू गरेको नयाँ कार्यविधि (एसओपी) का कारण नेपाली चिया निर्यात थप प्रभावित बनेको थियो । निर्यात प्रक्रिया जटिल बनेपछि उद्योगीहरूले विरोधस्वरूप उद्योग बन्द गरेका थिए । उद्योग बन्द हुँदा किसान, मजदुर तथा चिया व्यवसायसँग प्रत्यक्ष जोडिएका हजारौं परिवार प्रभावित भएका थिए ।
नेपाल चिया उत्पादक संघले बिहीबार जारी गरेको विज्ञप्तिमा सरकारको पछिल्लो पहललाई सकारात्मक रूपमा लिँदै उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । संघका अनुसार चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोगिरहेका कठिनाइको अध्ययन गर्न तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि दीर्घकालीन रणनीति तयार गर्न सरकारद्वारा विशेष कार्यदल गठन गरिएको छ । यही कारण उद्योगीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरी उद्योग सञ्चालनमा फर्कने निर्णय गरेका हुन् ।
संघले सरकारको पहलले समस्या समाधानको दिशामा आशा जगाएको बताएको छ । चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र, रोजगारी र निर्यात व्यापारसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको संघको धारणा छ । सरकारसँगको छलफलमा चिया क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता प्राप्त भएपछि उद्योग सञ्चालन गर्ने वातावरण बनेको संघले जनाएको छ । भारत नेपाली चियाको प्रमुख निर्यात गन्तव्य हो। विशेष गरी पूर्वी नेपालमा उत्पादन हुने ठूलो परिमाणको चिया भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको छ। तर भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा विभिन्न प्राविधिक तथा प्रशासनिक जटिलता सिर्जना भएको उद्योगीहरूको गुनासो छ । निर्यात प्रक्रियामा थप कागजी प्रक्रिया, प्रमाणीकरण र गुणस्तर परीक्षणका नयाँ मापदण्ड लागू गरिएपछि नेपाली चिया सहज रूपमा भारतीय बजार प्रवेश गर्न नसकेको व्यवसायीहरू बताउँछन् ।
निर्यात अवरोधका कारण उद्योगमा उत्पादित चियाको मौज्दात बढ्दै गएको थियो। उद्योगहरू बन्द भएपछि किसानबाट हरियो पत्ती खरिद गर्ने प्रक्रिया पनि प्रभावित भएको थियो । चिया खेतीमा निर्भर किसानहरूले समयमै उत्पादन बिक्री गर्न नसक्दा आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको थियो । यस्तै उद्योग बन्द हुँदा प्रशोधन केन्द्रमा कार्यरत मजदुरहरूको रोजगारीसमेत प्रभावित बनेको थियो । यही परिस्थितिलाई ध्यानमा राख्दै सरकारले असार ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सहसचिवको संयोजकत्वमा विशेष कार्यदल गठन गरेको थियो। कार्यदललाई भारततर्फ चिया निर्यातमा देखिएको समस्या अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने र समाधानका उपायसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । साथै चिया क्षेत्रको समग्र सुधार, उत्पादनदेखि बजार व्यवस्थापनसम्मका विषयमा सुझाव दिन पनि कार्यदललाई जिम्मेवारी तोकिएको छ ।
चिया उत्पादक संघले कार्यदल गठनलाई सकारात्मक सुरुआतका रूपमा व्याख्या गरेको छ । संघका अनुसार समस्या समाधानका लागि सरकार, उद्योगी, किसान तथा श्रमिकबीच सहकार्य आवश्यक छ। चिया उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउन उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने तथा निर्यात प्रक्रियालाई सहज बनाउने नीति आवश्यक रहेको उद्योगीहरूको भनाइ छ । नेपालमा मुख्य रूपमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा व्यावसायिक रूपमा चिया खेती हुँदै आएको छ। विशेष गरी अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान स्थापित गरेको छ । पछिल्ला वर्षहरूमा युरोप, अमेरिका तथा अन्य मुलुकमा नेपाली चियाको माग बढ्दै गए पनि निर्यातसम्बन्धी संरचनागत समस्या र छिमेकी मुलुकसँगको व्यापारिक जटिलताले क्षेत्रको विकासमा चुनौती थप्दै आएको छ ।
उद्योगीहरूले अब सरकारको आश्वासन व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार कार्यदल गठन मात्र पर्याप्त नभई त्यसले दिने सुझाव कार्यान्वयन गरी निर्यातमा देखिएका अवरोध तत्काल हटाउन आवश्यक छ । यद्यपि सरकारको पहलपछि उद्योग सञ्चालनमा फर्कने निर्णयले किसान, मजदुर र चिया व्यवसायीमा केही राहतको अनुभूति भएको छ । उद्योग पुनः सञ्चालन हुने निर्णयसँगै झापा र इलामका चिया कारखानाहरूले क्रमशः उत्पादन तथा प्रशोधनका गतिविधि सुरु गर्ने तयारी गरेका छन्। यसले केही दिनदेखि प्रभावित बनेको चिया संकलन, प्रशोधन र बजार आपूर्ति प्रक्रिया पुनः सामान्य बन्ने अपेक्षा गरिएको छ। सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट चिया निर्यातका समस्या समाधान भई नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी उपस्थिति बनाउन सक्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































