काठमाडौं । मेटलाइफ नेपालले आफ्ना जीवन बीमा ग्राहकलाई लक्षित गर्दै सीमित अवधिका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।
यसअन्तर्गत व्यतित (निष्क्रिय) भएका जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा ग्राहकले विलम्ब शुल्कमा ७५ देखि १०० प्रतिशतसम्म छुट पाउनेछन् । कम्पनीका अनुसार यो सुविधा २०२६ जुन १८ देखि जुलाई १६ सम्म लागू हुनेछ । ग्राहकहरूले वान बाई मेटलाइफ मोबाइल एप वा नजिकको मेटलाइफ शाखा कार्यालयमार्फत आफ्नो बीमा पोलिसी पुनःसक्रिय गर्न सक्नेछन् ।
योजनाअनुसार पाँच वर्षभित्र निष्क्रिय भएका जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ । पाँच वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका पोलिसी पुनःसक्रिय गर्दा भने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
मोबाइल एपमार्फत सेवा लिन चाहने ग्राहकले ‘मेरो बीमा’ (माई इन्सुरेन्स) खण्डमा गई निष्क्रिय पोलिसी छनोट गर्नुपर्नेछ। त्यसपछि ‘पोलिसी पुनःसक्रिय गर्नुहोस्’ (रिइन्स्टेट पोलिसी) विकल्पमार्फत आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो अनुरोधको अवस्थासमेत एपबाटै हेर्न सक्ने भएकाले शाखा कार्यालयमा पटक–पटक धाउनुपर्ने आवश्यकता पर्दैन ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बीमा सेवालाई अझ सरल, सहज र सबैको पहुँचमा पुर्याउने उद्देश्यले डिजिटल सेवाको विस्तार गरिएको बताए। उनका अनुसार वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया छिटो, सहज र सुविधाजनक बनेको छ । उनले सबै ग्राहकलाई यो विशेष छुट योजनाको लाभ उठाएर आफ्नो जीवन बीमा सुरक्षा पुनःस्थापित गर्न आग्रह गरे ।
मोबाइल एप प्रयोग गर्न नसक्ने ग्राहकले नजिकको मेटलाइफ शाखा कार्यालयमा पुगेर पनि पोलिसी पुनःसक्रिय गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सन् २००१ देखि नेपालमा सेवा दिँदै आएको मेटलाइफ नेपालले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा सामूहिक बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले डिजिटल प्रविधिमार्फत ग्राहकलाई अझ सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न सुविधा विस्तार गर्दै आएको जनाएको छ ।




































