काठमाडौं । नेपालमा स्ट्रिट फुटबल संस्कृतिलाई प्रवर्द्धन गर्दै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने लक्ष्यका साथ ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स नेपाल–२०२६’ आयोजना हुने भएको छ।
नेपालमा स्ट्रिट फुटबलको पुरानो माहोल फर्काउने तथा युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
एलपीएस म्यानेजमेन्ट प्रालि, एथ्लेट इनहान्समेन्ट सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालिको संयुक्त आयोजनामा तथा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको मुख्य प्रायोजनमा प्रतियोगिता आगामी जुलाई १ देखि ८ (असार १७ देखि २४) सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा ९५ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई २३ समूहमा विभाजन गरिएको छ। लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा समूह चरणपछि प्रत्येक समूहका विजेता, उपविजेता र उत्कृष्ट १८ तेस्रो स्थान प्राप्त टोली गरी ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। त्यसपछि राउण्ड अफ ६४, राउण्ड अफ ३२, राउण्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलाइनेछ।
प्रतियोगिताका खेलहरू आईएसएफएको ३भी३ स्ट्रिट फुटबल नियमअनुसार सञ्चालन हुनेछन्। प्रत्येक खेल १० मिनेटको हुनेछ भने साइज–४ फुटसल बल प्रयोग गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार काठमाडौंको मौलिक संस्कृति र स्ट्रिट फुटबलको वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले समूह चरणका खेलहरू काठमाडौं उपत्यकाका कुमा ननी, टेकु, तबाहल, लगन, ओमबहाल र तेबहाल–संकटा क्षेत्रमा सञ्चालन गरिनेछन्। खेलहरू प्रत्येक दिन अपराह्न ३ बजेदेखि बेलुका ८ बजेसम्म फ्लडलाइटमा हुनेछन्। खेलसँगै संगीत तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि रहने जनाइएको छ।
एलपीएस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत तथा आईएसएफए कन्ट्री हेड विकल्प खरेलका अनुसार प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्यान्ड्सको युट्रेक्टमा आयोजना हुने आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप–२०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ। विश्वकपमा चार खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित छ सदस्यीय नेपाली टोली सहभागी हुनेछ।
विजेता टोलीको विश्वकप सहभागिताको सम्पूर्ण व्यवस्थापन आयोजकले गर्ने जनाएको छ। साथै विजेता खेलाडीहरूले एलपीएस म्यानेजमेन्टसँग तीन महिनाको व्यावसायिक खेलाडी सम्झौता गर्ने अवसर पाउनेछन् भने विश्वकप तयारीका लागि बन्द प्रशिक्षणमा समेत सहभागी गराइनेछ।
प्रतियोगितामा सहभागी सबै टोलीको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक नेपाल ३भी३ स्ट्रिट फुटबल र्याङ्किङ तयार गरिने आयोजकले जनाएको छ। उक्त र्याङ्किङलाई आगामी घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटको आधार बनाइनेछ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य देशभर रहेका लुकेका फुटबल प्रतिभाको पहिचान गर्नु, युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्नु तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्नु हो। नेपालमा स्ट्रिट फुटबल संस्कृतिलाई संस्थागत गर्दै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने दीर्घकालीन लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू लेट्स प्ले स्पोर्ट्स युट्युब च्यानल र नेपाल एफसी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ। साथै आधिकारिक वेबसाइट च्यालेन्ज प्लेस मार्फत सबै खेलको नतिजा, लाइभ अपडेट तथा खेलसम्बन्धी तथ्याङ्क रियल टाइममा हेर्न सकिने जनाइएको छ।
सन् २०२३ मा स्थापना भएको इन्टरनेसनल स्ट्रिट फुटबल एसोसिएसन (आईएसएफए) विश्वभरका स्ट्रिट फुटबल खेलाडी तथा समूहलाई एउटै छानामुनि आबद्ध गराउने अन्तर्राष्ट्रिय संस्था हो।



































