काठमाडौं । देशका चार पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपति आइतबार एकै मञ्चमा उभिए । मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एकै मञ्चमा जोड्यो ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन् । उनले दुई पार्टीको नेतृत्वकर्ता चार पूर्वप्रधानमन्त्रीलाई एक ठाउँमा उभ्याएकी हुन् । लामो समयदेखि चार नेताहरू एउटै मञ्चमा देखिएका थिएनन् । २०७४ को चुनावी एकता र त्यसपछि बनेको नेकपा छिन्नभिन्न भएयता एकअर्कामा दोषारोपरण र कटाक्ष गर्दै आइरहेका छन् । अब पार्टी एकता गर्न लागेको चर्चा चलिरहेको छ । त्यो विषयमा बोल्दा नेताहरूबीच घोचपेच भयो । सवाल–जवाफ पनि भए । मञ्चमा उभिएका चार पूर्वप्रधानमन्त्रीले राष्ट्रियतामाथि प्रहार भएको निष्कर्ष सुनाए । प्रतिगनमन भएको भन्दै त्यसविरुद्ध कार्यगत एकताबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनीहरूले एक हुँदै अघि बढ्नुपर्ने सन्देश दिएका छन् ।
कार्यक्रमको सुरुमा बोलेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको जग नै आजको कार्यक्रमलाई बनाउनुपर्नेमा जोड दिए । विगतमा एक नेताले अर्को नेतालाई भेट्दा कुल्ला गर्नुपर्ने अवस्था आएकोप्रति चिन्ता व्यक्त गरेर एकताको विकल्प नै नभएको धारणा राखे । “निकै लामो समयदेखि आज दुई वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई आश्चर्य लागेको हुनसक्छ ।
वामपन्थी एकता आज मात्रै होइन,” उनले भने, “अनेकन कालदेखि आवश्यक थियो । तर, बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । कहिले अरूअरू केके पलायो, त्यसले एकताबद्ध हुन सकेन ।” उनले अब एकताको बाध्यात्मक अवस्था आएको औँल्याए । “हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ । कमसेकस आज विचार गोष्ठीमा एकताबद्ध भयौँ । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अघि बढाउने कामको थालनी गरौँ,” उनले भने । ०८२ फागुन २१ को निर्वाचनमा कम्युनिस्ट पार्टी मिलेर चुनाव लडेको भए सय सिट आउने हिसाब समेत खनालले सुनाएका थिए ।
नेकपाका सह–संयोजक समेत रहेका माधव नेपालले गम्भीर आत्मसमीक्षाको आवश्यकता औँल्याए । “एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ,” नेपालको निष्कर्ष छ । नेपालले भावनामा बहकिएर एकता गर्न नहुने धारणा राखे । “अहिले चर्चामा आउने गरेको छ, कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले, बिहानबेलुकै मिले,” उनले भने, “यो प्रश्नको जवाफ दिँदा त मेरो पनि दिमाग खराब भइसकेको छ ।
म त्यस्तो देखिरहेको छैन ।” उनले मिल्ने कुरा मात्रै ठूलो नभएर बलियो, सिद्धान्तनिष्ठ एकता हुनुपर्नेमा जोड दिए । “सबैभन्दा पहिलो कुरा त सहकार्य गर्ने नै हो । नमिलेका विषयमा मिलेर अगाडि बढ्ने हो । विचार मिल्दै, मन, भावना मिल्दै गएपछि एकता हुने हो । आज मिलेको छ, भोलि फुटेको छ । त्यस्तो नहोस् । हिजो पनि त्यस्तो भएको थियो,” नेपालले भने । त्यसपछि बोलेका नेकपाका संयोजक समेत रहेका प्रचण्डले वामपन्थी शक्ति छिटो एक नभए गल्ती हुने धारणा राखे । “हामी ढिलो नगरीकन भन्न चाहन्छु– राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ । ढिला गर्नु गल्ती हुन्छ,” उनले भने ।
प्रचण्डले अहिले प्रतिक्रियावादीहरूको मूल ‘टार्गेट’ नै कम्युनिस्ट पार्टी सिध्याउने भन्नेमा रहेको सुनाए । “अहिले देशमा ठूलो राजनीतिक घटनाक्रम २०८२ भदौ २४ गते यताका कुरा हेर्दा प्रतिकान्तिकारी घटनाक्रम अघि बढिरहेको छ । राष्ट्रिय स्वाधीनता निकै ठूलो संवेदनशीलाता र संकटमा परेको महसुस भएको छ । निर्वाचन पनि कहीँ न कहीँ त्यही कडीको रूपमा प्रस्तुत भइराखेको छ । सरकार संविधानको आधारभूत कुरामाथि प्रहार गर्न उद्धत भएको देखिँदै गएको छ । मूल टार्गेट कम्युनिस्ट कसरी सिध्याउन सकिन्छ भन्ने छ । प्रतिक्रियावादी लागिरहेका छन्,” प्रचण्डले भने । उनले आत्मसमीक्षा जरुरी भएको सुनाए । उनले क्रमभंगता गरेर एकतामा नै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रचण्डले बेलुकै एकता हुन्छ भनेर आफूले नभनेको भन्दै सह–संयोजक नेपाललाई जवाफ दिए । आफूले सहकार्य चाहिँ आजै गरौँ भनेको धारणा राखे । “यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्नुभयो, बुझ्नै सकिएन । मलाई अनौठो लाग्छ । मैले कहीँ पनि भोलि नै एकता गरौँ । बेलुकै पार्टी एकता गरिहालौँ भनेको छैन,” प्रचण्डले भने, “सकिन्छ भने सहकार्य चाहिँ आजै गरौँ, भरे सकिन्छ भने भरे गरौँ । भोलि सकिन्छ भने भोलि गरौँ । सदनमा गरौँ । चुनावमा गरौँ, सडकमा गरौँ ।” नेताहरूले पार्टी एकताका निम्ति नीतिबारे छलफल आवश्यक रहेको धारणा राखेका थिए । आत्मसमीक्षा गर्दै नीतिबारे बहस गरेर मात्रै एकतामा पुग्न सक्ने जोड नेपालसहितका नेताहरूको थियो । एमाले अध्यक्ष ओलीले पार्टीले लिएको नीति सही रहेको दाबीसहित छलफल नै नहुने जवाफ दिए ।
“एमाले हाम्रा नीति सही छन् कि छैनन् भनेर कुनै एकता/एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछैन । हाम्रा नीति बिल्कुल सही छन् । हामीले राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही निर्धारण गरेर जनताको बहुदलीय जनवादको प्रकाशमा बहुदलीय जनवादलाई समसामयिक ढंगले अझ प्रभावकारी, समयानुकूल बनाउँदै समाजवाद के हो भन्ने कुरा जोसुकैले बुझ्नै गरी समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य हो,” उनले भने ।ओलीले प्रतिगमनका विरुद्ध लोकतान्त्रिक र वामपन्थी एक हुनुपर्ने धारणा राखे । “आज हामी यतिबेला कहाँबाट समाजवाद निर्माण गर्नु ? यहाँ प्रतिगमन गरेर हैरान छ, यतिबेला प्रतिगमनलाई पराजित गर्नु मुख्य काम हो । सबै लोकतान्त्रिक वामपन्थी शक्ति मिलेर कार्यगत एकताका माध्यमबाट जानैपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ,” ओलीले भने ।
ओलीले भदौ २३ मा लोकतन्त्र नै सिध्याउने गरी षड्यन्त्र भएको बताए । उनले कांग्रेसलाई पनि षड्यन्त्र गरेर फुटाइएको दाबी गरे । ओलीले आफूहरूले गल्ती नगरेको तर जनतामा आक्रोश पैदा गरिएको बताए । उनले प्रतिगमनलाई मान्यता दिन नै फागुन २१ को चुनाव गर्न लागिएको र त्यसमा नजाऔँ भनेर आफूहरूले ‘कन्भिन्स’ गर्न नसकेको सुनाए । एमालेलाई मात्रै भिरको बाटो ठानेका दलहरू एकैठाउँमा आइपुगेको भन्दै कटाक्ष गरे । “प्रतिगमनलाई सदर गर्न, सही ठहर्याउन र वैधता दिनका लागि विघटन गरेको संसद्को फेरि दुई–चार महिनामै चुनाव गरियो ।
अवैध क्रियाकलापलाई मान्यता दिन, लोकतान्त्रिक र वामपन्थीलाई किनारा गर्ने षड्यन्त्रस्वरूप पहिल्यै परिणाम घोषणा गरेर प्रतिकूल अवस्थामा निर्वाचन गरियो,” ओलीले भने, “एमालेले त्यसबेला वामपन्थी, लोकतान्त्रिक शक्तिलाई आग्रह गर्यौँ– यो निर्वाचन प्रतिगमनलाई संस्थागत गर्न र प्रतिगनलाई अरु अघि बढाउन निर्वाचनको आयोजना हुँदैछ, यसलाई स्थगित गरेर जाऔँ भन्दा कन्भिन्स गर्न कसैलाई सकेनौँ । एमालेका लागि भिरको बाटो हो, हाम्रो लागि हाइवे हो भन्ठाने साथीहरूले, हाइवेमा हिँड्दाहिँड्दै सबै एउटै बाटोमा आइपुग्यौँ ।” उनले प्रतिगनको सिलसिला अघि बढिरहेको बताए । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतको भूमि मिच्यौँ भनेर देशविरुद्ध अभिव्यक्ति दिएको बताए । रास्वपाको चितवन महाधिवेशनमा गएर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले त्यसको खण्डन नभएको बताए ।
उता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा चुनावको नतिजाले नै कम्युनिस्ट आन्दोलनबारे निष्कर्षमा पुग्न नहुने धारणा राखिन् । “हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ ।
यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ,” उनले भनिन्, “तर, कुनै एउटा निर्वाचन परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन ।” जनताले दिएको सन्देशलाई ग्रहण भने गर्नुपर्ने धारणा राखिन् । कम्युनिस्ट आन्दोलनले नीति तथा कार्यक्रमलाई समयानुकूल बनाउनुपर्ने भनाइ उनको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































