एनपीएल अक्सनमा १५५ खेलाडी छनोट, आठ टोलीले ५२ खेलाडी अनुबन्ध गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनमा सहभागी हुने १ सय ५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा हुने अक्सनका लागि क्यानले कुल ३ सय ४७ जना दर्ता भएका खेलाडीमध्ये १ सय ५५ जनालाई छनोट गरेको हो ।

क्यानका अनुसार छनोट भएका खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५ जना, ‘बी’ मा २७ जना र ‘सी’ मा १ सय २३ जना रहेका छन् । अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले कुल ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन् ।

तेस्रो संस्करणदेखि प्रतियोगिताको टोली संरचनामा पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । यसपटक प्रत्येक फ्रेन्चाइज टोलीमा थप दुई नेपाली खेलाडी समावेश गरिने व्यवस्था गरिएको छ । मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित प्रत्येक टोलीमा अब १४ नेपाली खेलाडी रहनेछन् ।

अक्सनअघि फ्रेन्चाइज टोलीहरूसँग बाँकी रहेको पर्सअनुसार जनकपुर बोल्ट्ससँग सबैभन्दा बढी ६६ लाख २५ हजार रुपैयाँ रहेको छ । विराटनगर किङ्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्ससँग ४२ लाख, चितवन राइनोजसँग ४२ लाख तथा काठमाडौं गोर्खाजसँग ३४ लाख रुपैयाँ रहेको छ ।

यसपटकको अक्सनमा क्याटेगोरी ‘ए’ मा अर्जुन घर्ती, विवेक यादव, आसिफ शेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । यस्तै क्याटेगोरी ‘बी’ मा २७ र ‘सी’ मा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानले सार्वजनिक गरेको सूचीअनुसार फ्रेन्चाइज टोलीहरूले आवश्यकताअनुसार खेलाडी छनोट गर्दै तेस्रो संस्करणका लागि आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन् ।