लुम्बिनी लायन्सको सिईओमा सन्देश कटुवाल नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । लुम्बिनी लायन्सका प्रमुख इश्वर जिसीले आइतबार कटुवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै जिम्मेवारी सुम्पिएका थिए ।

गत सिजनमा लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे रहेकी थिइन् । लुम्बिनी लायन्सले भावनलाई यसपटक कार्यकारी निर्देशकको जिम्मेवारीमा राखिसकेको छ । गत सिजन लुम्बिनी लायन्सले सुदुरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै दोस्रो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।

‘लुम्बिनी लायन्सलाई यस अवसरका लागि धन्यबाद दिन चाहान्छु । विगतमा पनि एनपीएलमा जोडिएको हिसाबमा अझ सहज हिसाबमा आफ्नो भूमिका निभाउन सकिन्छ भन्ने आशा लिएको छु । बिजनेस म्यानेजमेन्ट र स्पोर्टस म्यानेजमेन्टलाई एउटा हिस्सा बनाउदै कर्पोरेट हाउसमा टिम कल्चर बनाउने उद्धेश्य राखेको छु,’ नियुक्ती पछि कटुवालले भने ।

कटुवाल पहिलो सिजनमा एनपीएलको अर्को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजको सीईओ रहेका थिए । पूर्व खेलाडी तथा खेल प्रेमी कटुवालस“ग कर्पोरेट र बिजनेस क्षेत्रको २० वर्षको अनुभव छ । उनले कान्तिपुर मिडिया ग्रुपमा बिजनेस हेड, यामाहामा सिनियर म्यानेजर र एपेक्स कलेजमा हेड अफ स्ट्रेजीको रुपमा कार्य गरिसकेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले इन्डोर क्रिकेट र फुटबलका लागि भेलोसिटी एरिना स्थापित गर्दा कटुवाल त्यसको एक लगानीकर्ता मध्ये थिए । कटुवालको नेतृत्वमा काठमाडौं र उपत्यका बाहिर विभिन्न प्रतियोगिता आयोजना गरिसकेको छ ।